काठमाडौं। कवि विश्व सिग्देलको नयाँ कविता संग्रह ‘पेल स्याडोज एट डस्क’ विमोचन भयो ।
राजधानीमा शनिबार वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिहरू डा.हेमराज काफ्ले र डा.बलराम अधिकारी तथा कवि सिग्देलले पुस्तक सार्वजनिक गरे।
डा.हेमराज काफ्लेले आफ्नो मन्तव्यमा सिग्देलको लेखनशैलीलाई संवेदनशील र भावुक बताउँदै संग्रहले मानवीय भावनाका गहिरा तहलाई समेटेको धारणा राखे। उनले पुस्तकका कवितालाई सुन्दर बान्की र काव्यिक सौन्दर्यको उदाहरणका रूपमा प्रस्तुत गरे।
डा.अधिकारीले भने कृतिको विषयगत गहिराइ, समकालीन नेपाली कवितामा यसको महत्व, र अनुवादमार्फत यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने सम्भावनाबारे विचार प्रस्तुत गरे।

कार्यक्रममा अंग्रेजी र जर्मन भाषामा कविता वाचन थियो। कवि रजनी मिला,हरिश अधिकारी,भीष्म उप्रेती र अभय श्रेष्ठले अंग्रेजी अनुवाद वाचन गर्दा श्रोता भावविभोर भए। त्यसैगरी निशान बेलबासे,साकृत सिग्देल,सेविका लिम्बु र प्रतीक्षा दाहालले जर्मन भाषामा प्रस्तुत गरेका कविताले सिग्देलको लेखनलाई अझ अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा उजागर गर्यो।
कवि सिग्देलले आफ्ना मन्तव्यमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै पेल स्याडोज एट डस्क आफ्नो “आत्ममन्थन र बाहिरी संसारको अवलोकन दुवैको यात्रा” भएको बताए। उनले अंग्रेजी अनुवादक स्टर्मी हजारिका र जर्मन अनुवादक स्वेन्याप्रति विशेष धन्यवाद व्यक्त गरे।
कार्यक्रममा बोल्दै धीर कुमार श्रेष्ठले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता साहित्यिक भेला नेपाली कवि–साहित्यिक समुदायलाई अझ सशक्त बनाउन अपरिहार्य रहेको बताए। कार्यक्रमको उद्घोषण कवि चन्द्रबहादुर लामाले गरेका थिए भने कार्यक्रम कवयित्री रमी प्रियाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कवि सिग्देलको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।