काठमाडौं। ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’को साउन अङ्कको लोकार्पण भएको छ ।
राजधानीमा आयोजित एक विशेष कार्यक्रममा शारदाको हस्तलिपि अङ्क लोकार्पित भएको हो ।
पुराना तथा नयाँ पुस्ताका गरी ६८ जना कविहरुको हस्तलिपि कविता अङ्कको उपस्थित सबै कविहरुद्धारा सामुहिक रुपमा लोकार्पण गरिएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार पुस्कर लोहनीले भने- “म तेह्र सालदेखि साहित्य सृजनामा हात हालेको मान्छे अहिलेसम्म लेख्दैछु । २०९१ सालको अन्त्यदेखि निस्कन थालेको शारदाले नेपाली साहित्यमा भुल्न नसकिने योगदान गरेको छ।”
उनले नेपाली साहित्यको विकासमा शारदाको योगदानको चर्चा गरे ।
कार्यक्रममा भागिरथी श्रेष्ठ,उषा शेरचन,गीता कार्की,सविता श्रेष्ठ बेहोसी,रमि प्रिया,उषा के.सी.,दुर्गा तिवारी लगायतका महिला कविहरुले कविता वाचन गरे ।

सम्पादकीय मन्तव्य दिंदै विमल भौकाजीले शारदाको ऐतिहासिक तथ्य बारे जानकारी दिए । विगत बाह्र बर्षदेखि आफुले निरन्तर रुपमा शारदालाई पाठक समक्ष पुर्याएको उनले बताए ।
कार्यक्रमको सहजीकरण कवि तथा निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।