चर्चामा पुस्तक
सीमान्त सम्झना
बालक किशोरले आफ्नो समाज र घर वरपरको परिवर्तन देखेको कुरालाई संस्मरणको रुपमा गणेशप्रसाद लाठद्धारा लेखिएको कृति हो सीमान्त सम्झना । यसमा समाजको रुपान्तरणलाई मज्जैले खिपिएको छ । एउटा बालक र किशोरलाई आफ्ना वरिपरिका देखेका कुराहरुमा आएका परिवर्तन,विभिन्न प्रविधिका आविष्कारहरुले मष्तिस्कमा छोडिएको छापलाई संस्मरण मार्फत राखिएको छ। इतिहासका पानाहरु मज्जैले पल्टाइएको भान पर्ने गरी कृति आएको छ । विशेषत् वीरगञ्जको माटाको चर्चा कृतिले गरेको छ ।
सुनेका,देखेका,भोगेका कुराहरुलाई सुन्दर भाषाशैलीमा लेखिएको छ । कृतिभित्र विभिन्न शिर्षकमा लेखिएका २३ थान सुन्दर,सुस्वादु संस्मरणहरु समावेश भएका छन् ।
सीमान्त सम्झनालाई नेपालयले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.७४५। रहेको छ ।
हिउँफूल
सरदार रुद्रराज पाण्डेको उतिबेलाको रुपमतीको झल्को दिने हिउँफूल उपन्यासकार उषा केसीको पहिलो उपन्यास हो ।सामाजिक कथानक भएको उपन्यासले नारी जीवनको संघर्षको कथा चित्रण गरेको छ । नेपाली महिलाको भोगाईको कथा हो यो । यसले उतिबेलाको ग्रामीण समाजको यथार्थ चित्र ल्याएको छ । यसले पुरातन पितृसत्तात्मक सोचको विरुद्ध विद्रोहको सन्देश दिएको छ ।
उपन्यास संस्मरणात्मक शैलीमा बगेको छ । सरल र काव्यात्मक अभिव्यञ्जनायुक्त भाषाशैलीले उपन्यासमा प्राण भरेको छ । मीठासपूर्ण उपन्यासले पाठकको मन तान्नसक्छ ।
हिउँफूल उपन्यासलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४९०। रहेको छ ।
अनाहक प्रश्नहरु
जीवनका अनेक अवयवहरुमा घोत्लिएर लेखिएका सरल तर गहन अर्थवोध गर्ने कविताहरु समावेश कृति हो । कवि राजीव श्रेष्ठको यो कविताकृतिभित्र छोटा आयतनका ३२ वटा कविताहरु समावेश छन् । जसमध्ये दुई थान कविता नेवारी भाषाका छन् । जीवनप्रतिका भोगाई,विकृत विरुद्धको चेत र समसामयिकताले भरिएका कविताहरु जसले दुखभित्र सुख खोज्ने यत्न गरेका छन् ।
भोगाइ र जीवनप्रतिको आशावादीता कविताहरुमा पाइन्छ ।
कम प्रतिक प्रयोग भएपनि गहन भाव कविताहरुमा पाइन्छ ।
अनाहक प्रश्नहरु कविता कृतिलाई माया प्रकाशनले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२७५। रहेको छ।