लघुकथा
विद्या घिमिरे
अतीत
आज धेरै दिनपछि मैले उसको फेसबुक खोलेर हेरेँ। सुन्दर तस्विर युक्त उसको पोस्टले मलाई अतीत तिर डोर्यायो।
उसका आँखाले केहि भनिरहेको भान हुन्थ्यो।
केहि समय अघि सम्म ऊ बिना मेरो जीवन कल्पना भन्दा बाहिरको थियो। म ऊ प्रति पूर्ण समर्पित थिएँ। मेरो दिनको सुरुवात उसकै गुडमर्निङ्बाट हुन्थ्यो। हामीसँगै हुँदा समय पनि स्थिर भइदिए झै लाग्थ्यो। उ भन्ने गर्थ्यो-“तिमी मात्र एउटा अटूट सत्य सकारात्मक उर्जा जाग्छ,जिन्दगीको यस मोडमा अरु सब झूट लाग्छ।”
विद्यालय देखिका साथी हामी कलेज पनि सङ्गै पढ्यौँ। साथीको भावनाबाट प्रेमको मुना पलाउन भने समय नै लाग्यो,किन लाग्यो अझै अनुत्तरित नै छ। भौतिकशास्त्रका विद्यार्थी भएर होला तत्त्व बोधका लागि कुनै तार्किक सिद्धान्तको खोजिमा थियौँ हामी। प्रेमका भावना दुवैले व्यक्त गरे पछि भने जीवनमा नयाँ बहारहरु आए। जीवन प्रतिको दृष्टिकोण बदलियो। परिवारको सहमतिमा कानुनी विवाह गरी दुवै उच्च अध्ययनका लागि अमेरिका आयौँ।
टेक्सास विश्वबिद्यालयमा हाम्रो पढाइ अघि बढ्यो । विदेशी भूमिमा एक अर्काको दुख सुखका साथी थियौँ। समय राम्ररी बित्दै थियो,हामी खुशी थियौँ। हामी दुवै रिसर्चका लागि अर्को राज्यमा जानुपर्ने भयो। जाने दिन तय भयो,उसले गाडी चलायो। हामी हर्षित थियौँ नयाँ ठाउँमा अध्ययन गर्न पाउँदा । तर यो यात्रा मेरो जीवनको सबै भन्दा दुखद यात्रा बन्यो। हाम्रो गाडीलाई एउटा अनियन्त्रित ट्रकले ठक्कर दियो। मैले उसलाई सधैँका लागि गुमाए। म माथि नै यो बज्रपात किन।
६ महिना पछि मैले उसको फेसबुक खोलेर हेर्ने हिम्मत गरेँ। फेसबुकले त उसलाई सम्झना मा राखेछ,मैले त मन मुटुमा नै राखेको छु।