काठमाडौँ ।नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेर साहित्यिक पत्रकारिता दिवस मनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्दै विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘हाम्रो पुरुषार्थ’साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद साहलाई एक समारोहबिच समर्पण गरे ।
कुलपति राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान गरेको कदापि भुल्न नसकिने बताउँदै समावेशी र समानताको आधारमा साहित्यिक पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए। उनलेसाहित्यिक पत्रकारिताको विकासमा प्रज्ञा(प्रतिष्ठान लागिपर्ने बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्वलाई नेपाल प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवालीले सङ्घले साहित्यिक पत्रकारिताको विकासमा पुर्याएको योगदान बारे विशेष चर्चा गर्दै साहित्यिक पत्रकारिताले यथार्थ र स्वत्वलाई आत्मसात् गरेको बताए ।
अर्का विशिष्ट अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रबर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा ,साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताए ।
कार्यक्रम विशेष अतिथि भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताए ।
सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिता व्यक्तिले आफ्नै करबलमा टिकाएको बारे चित्रण गरे ।
सम्मानित साहित्यिक पत्रकार शशी पन्थीका बारेमा सङ्घका उपाध्यक्ष रामप्रसाद पन्त र रामप्रसाद साहका बारेमा सङ्घका उपमहासचिव नवराज रिजालले उहाँहरूको योगदानबारे चर्चा गरे । सम्मानित साहित्यिक पत्रकार द्वय शशी पन्थी र रामप्रसाद साहले साहित्यिक पत्रकारिता गर्दाका अनुभवहरु राखे ।
नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले अध्यक्षता गरेको उक्त कार्यक्रममा सम्पूर्ण साहित्यिक पत्रकारहरूको साझा सङ्गठनका रूपमा सङ्घले पुर्याएको योगदान कसैले भुल्न नसक्ने बताए।
कार्यक्रममा स्वागत मन्तव्य सङ्घका महासचिव चेतनाथ धमला तथा सङ्घका केन्द्रीय सचिवालय सदस्य गणेश राईले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुर्यप्रसाद लाकोजुले गरे ।