पुराना पुस्तक
कृति : उच्चारण
विधा :कथासंग्रह
कथाकार ध्रुव सापकोटा
समाजका अनेकौं अवयवहरु टिपिएर बनाइएका बान्की परेका १६ थान कथाहरुको संग्रह उच्चारण । सडकका मान्छेका आफ्नै कथा,भुइँमान्छेका कथा,हाम्रै वरपर घटित घट्नाहरुको कथानकतामा बुनिएका सुन्दर कथाहरु छन् । मान्छेले भोगिरहेका दैनिकीहरुलाई कथाहरुले पर्गेलेका छन् ।
मध्यम आयतनमा बाँधिएको छ यसमा समावेश कथाहरुको पोयो । लामा झर्कालाग्दा छैनन् । दुरुह भाषा छैन् । सरल छन् । सुलोलित छन् । पाठकको मन तान्ने कथाहरु छन् ।
कथाकार ध्रुव सापकोटाको उच्चारणलाई साझा प्रकाशनले पहिलो पटक २०३५ सालमा प्रकाशित गरेको थियो ।
कृति :आकाशको फल
विधा : कथासंग्रह
कथाकार : मनु ब्राजाकी
विभिन्न बस्तुहरुको सुक्ष्मतापूर्ण अवलोकन र चित्रण गरिएका कथाहरु छन् । यसभित्र चौधवटा कथाहरु छन् । आयतनको हिसावले कुनै कुनै कथा लामा छन् । यथार्थको सत्यापनसँग निकटता भएर कथाहरु बनाइएका छन् । कथाहरुले हाम्रै समाज बोल्छन् । मधेशका समस्यापनि यहाँ छन् । सम्बन्धका झुल्काहरु पनि कोरिएका छन् । सामाजिक विषयवस्तुहरुमा कथा अडेका छन् ।कथाहरु गतिशील छन् । भाषाशैली सरल र बोलीचालीकै प्रयुक्त भएका छन् ।
आकाशको फल २०४२ सालमा पहिलो पटक साझा प्रकाशनले प्रकाशनमा ल्याएको थियो ।
कृति : देवकुमारी थापाका प्रतिनिधि कथा
विधा : कथासंग्रह
सम्पादक नरेन्द्र चापागाईं
भाषिक मृदुता,सामाजिक जनजीवनका यथार्थका विषयवस्तु,मातृह्रदयको प्रभावमा कथाहरु आएका छन् । कथाहरु सार्वकालिक र विश्वजनित प्रवृत्तिको निकट देखिन्छन् । कथाहरुले युगिन जटिलता औल्याउँछन् । समसामयिक समस्याहरु उजागर गर्छन् । कथाहरु स्वभाविक लाग्छन् । कथाहरुले समाजको आर्थिक,सामाजिक र साँँ्स्कृतिक धरातलको प्रतिनिधित्व गर्दछन् । कतिपय कथाहरु मनोवैज्ञानिक भावबाट व्यक्तिएका छन् । सरल भाषशैलीले कथाहरु सुस्वादु बनाएका छन् ।
देवकुमारी थापाका प्रतिनिधि कथालाई पूर्वाञ्चल साहित्य प्रतिष्ठान,विराटनगरले वि.सं.२०५१ मा पहिलो पटक प्रकाशनमा ल्याएको हो ।