कविता
सानुराजा श्रेष्ठ अन्जान
आज म जागेको छु
हिंड्न जानेपछिको जीवन
दौडिनु रहेछ,
केही सोच्न नपाउँदै
कुनै कुरा बुझ्न नपाउँदै
दौडिहाल्नु पर्ने रहेछ,
समस्याग्रस्त जीवनमा भाग्नु पर्ने रहेछ ।
किशोर भएर दौडिरहें,
युवक भएर भागिरहें,
कहिले आफ्नो यौवन लुटाउन लागिरहें,
कहिले कसैको यौन लुट्न दौडिरहें,
दौडिनु र भाग्नुको अर्थ के रहेछ ?
समस्याग्रस्त जीवनबाट भाग्नु रहेछ ।
जीवन खै के जीवन ?
जीवन बाच्ने क्रममा दौडिरहेको छु,
हिजो आँखा खुलेको थियो,
तर आज जागेको छु,
आफ्ना सुृष्टिहरुमा आफैलाई खोजिरहेछु,
सप्तरंगी, म इन्द्रेणी झुलेको छु,
आँखाहरुमा,म आँसु जमेको छु,
उद्यानमा,म फूल फुलेको छु,
खै जीवनलाई कसरी बुझ्दैछु ?
खै,जीवनलाई बुझ्ने रहरमा भागिरहेछु,
तर आज म जागेको छु ।
विषादका भाग्यरेखाहरुलाई
अद्धितीय भावीरेखामा बदलिरहेछु,
अन्धकार दिनरातलाई
पीडा खहरेमा बगाउँदैछु,
स्वयम् आत्मालाई परमात्मामा बदल्दैछु
उदीप्त आफैंमा यो जीवनलाई
उजेलो कोशेढुँगामा कोर्दैछु
आज म जागेको छु ।