मुक्तक
योजना आचार्य
१.
धर्तीदेखि आकाशमा बसाई सरेपछि आउनु
शङ्ख बजाएर तिमीलाई खबर गरेपछि आउनु
प्रिय तिमी छुट्टेर पनि पुनःफेरि भेट्न मन छ भन्छौ
मलामी लिएर लावा लस्कर म मरेपछि आउनु !
२.
बाहिर ठिक्क पारी भित्रभित्रै हराउने कुरा हुन्छ यहाँ
सुरक्षाका निम्ति खटिएको हतियार नै छुरा हुन्छ यहाँ
यी मेरा आफ्नाहरूलाई आफन्ती भन्न पनि व्यर्थै लाग्छ,
अरूको रिस, इर्ष्या गरेरै तिनको सपना पूरा हुन्छ यहाँ!
३.
बेहुली भइ बस्दा म आएनौ भने
खाली शिरमा सिन्दुर लाएनौ भने
साँच्चिकै पागल हुन्छु म त प्रिय
सं सँगै जिउने कसम खाएनौ भने!
४.
राम्रो लाउने मीठो खाने रहर हुनुपर्छ
बाध्यता या आफ्नै ठाउँमा कहर हुनुपर्छ
जवानी बेचेर मस्ती गर्नेलाई महाशय
झिलिमिलिको वेश्याबृत्ति सहर हुनुपर्छ !
५.
सुन्दै छु मेरो माया तिम्रा निम्ति मर्या छ रे
अरु सङै हास्ने आदत तिम्रो पर्या छ रे
बाच्न सक्दिन एकै पल हिजो भन्ने तिमी ,
हाँसिखुसी आज अन्तै जीवन चल्या छ रे !
आठराई ६,तेह्रथुम