काठमाडौं । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस मनाइएको छ।
शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा उक्त स्मृति दिवस मनाइएको हो ।
बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्मृति दिवसमा प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व.लामिछानेलाई मुर्धन्य साहित्यकारको रुपमा आफुले बुझेको’ बताए ।साथै उनले नेपाली भाषा र साहित्यको लागि प्रदेशको तर्फबाट र व्यक्तिगत पहलमा हुनसक्ने सबै सहयोगको लागि सदैव तयार भएको बताए ।
प्रा.डा.सुरेन्द्र केसीले-‘जम्मा ४८ वर्ष बाँचेका स्व.लामिछानेको नेपाली साहित्यमा गरेको योगदान हेर्दा उमेरले केहि नहुने रहेछ भन्ने निष्कर्षमा म पुगें । लामिछानेका निबन्ध लगायतका रचना साँच्चै अब्बल छन् ।’ उनले स्रष्टाहरुमा आजकाल मौलाउँदै गएको प्रशंसा मात्र खोज्ने प्रवृत्ति गलत भएको बताए ।
प्रा.डा.गोविन्दमान सिंह कार्कीले शंकर लामिछानेको समग्र व्यक्तित्व र साहित्यमा उनको भूमिका,व्यक्तित्व र योगदानको चर्चा गर्दै भने-‘नेपाली साहित्यमा हाइकु भित्र्याउने श्रेय लामिछानेलाई जान्छ । उनको पहिलो रचना वि.सं.२००३ सालमा छापिएको थियो । लामिछाने लेखनीमा मात्र सिमित थिएनन् । सम्पादनको भूमिकामा समेत उनको योगदान छ।’
वरिष्ठ कथाकार,साहित्यिक पत्रकार किशोर पहाडीले आफू लेखनीमा लामिछानेको पदचाप पहिल्याउँदै हिंडेको बताउँदै सशरीर नभेटेपनि उनको सफाचट बनेर हिड्ने बानीको बारेमा सुनेको बताए । लामिछाने विशेषाँक रुपरेखाले वि.सं.२०३३ सालमा निकालेको र आफूले पनि उनको बारेमा लेखेको बताए । यसको साथै विदेयले पनि विशेषाँक निकालेको स्मरण गरे । उनको लामिछानेको स्मृतिमा उतिवेला लेखिएको लेख सुनाए ।

प्रा.डा. गोपी उप्रेती,प्रतिष्ठानका संरक्षक तथा लामिछानेकी बैनी संगिता शर्मा र सबिता ढुंगाना,बरिष्ठ साहित्यकार बिमल भौकाजी,कवि केदार कोइराला,अनेसास अष्टिन च्याप्टरका पूर्व उपाध्यक्ष किशोर विश्वकर्मा लगायत अतिथि दीर्घामा रहेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको थियो । उनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए ।

लामिछानेकी काकाकी छोरी एवं प्रतिष्ठानका संरक्षक संगिता शर्माले आफ्नो नाम पनि दाइ शंकर लामिछानेले राखिदिएको बताउँदै घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा,कविशिरोमणी लेखनाथ पौड्यालहरु आउने गरेका बताइन् । यसैगरी उनले शंकर लामिछानेले सदैव हामीलाई जहाँ पनि चिनाउने,तिमीहरु अघि बढ्नु पर्छ भनेर उत्प्रेरित गर्ने गरेको स्मरण गर्दै कार्यक्रम समापन गरिन् ।
कार्यक्रममा प्रतिष्ठानले विमल भौकाजीलाई जन्मदिनको शुभकामना सहित सम्मान गरेको थियो भने प्रा.डा.गोपी उप्रेति,किशोर विश्वकर्मा र केदार कोइरालालाई सम्मान गरेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’ले गरेका थिए ।