
देवघाटधामको सङ्क्षिप्त परिचय
भूमिका गैरे तिमिल्सिना
श्रीमुक्तिक्षेत्र माहात्म्यम् एवम् देवघाटधाम ( रुरुक्षेत्र -रिडीगण्डकी ) जलेश्वर ( त्रिवेणीक्षेत्र- (गलेश्वर)
समुन्द्री सतह २०० देखि ५७५ मिटरसम्मको उचाईमा रहेको भित्री मधेस र पहाडको संगम हावापानी समशीतोष्ण रहेकाले मानव र पशुपंक्षीका लागि उपयुक्त ठाउँ मानिन्छ । हिन्दु धर्ममा विष्णु भगवानको साक्षात् रूप मानिने शालिग्राम पाइने एकमात्र स्थान जुन मुक्तिनाथबाट प्रवाहित हुने कृष्णगण्डकी नदी र रसुवाको गोसाईकुण्डबाट प्रवाहित हुने त्रिशुली नदीको संगम स्थल देवघाट हो ।
शिव भगवान र विष्णु भगवानको सानिध्य भएकाले यस देवघाटको अर्को नाम हरिहरक्षेत्रु रहयो । कृष्णगण्डकी र त्रिशुली नदीको संगम तथा चितवन र नवलपुरको त्रिकोण भएकाले यसलाई उत्तरगया पनि भनिन्छ । मुस्ताङ्को दामोदर कुण्ड र मुक्तिनाथ विष्णुक्षेत्रदेखि अनेक नदीहरू मिसिदै शालिग्राम गर्वमा बगाउँदै आएकी कृष्णगण्डकी र त्रिशुलीको संगम हो भने विष्णु भगवान साक्षात् कृष्णगण्डकी हरि र हर भनेको शिवजीको त्रिशुललाई नै हरिहर भनिएको हो ।
वराहपुराणमा मुक्ति क्षेत्रदेखि वर्तमान हरिहरक्षेत्रसम्म देवताहरूको सञ्चरण गर्ने क्षेत्र भएकाले नै यस क्षेत्रलाई देवाट भनिन्थ्यो र पछि वारिपारि गर्ने हुदा देवघाट भनियो ।
मुक्तिक्षेत्र, रुरुक्षेत्र र त्रिवेणीक्षेत्रसित सम्बन्धित अनेकौ दृश्य, अदृश्य नदीहरूको सङ्गम भएकाले नै यस ह्रद ९ताल ० को नाम कदम्बतीर्थ रहयो ।
स्वर्गबाट गन्धर्व , अप्सरा, नागहरूसहित नागकन्या, देवर्षि , सप्तर्षि, मुनिहरू समस्त देवनायकहरू एवम् सिद्ध, किन्नरहरू, पशुपतिनाथको शिवजी, गौरीशङ्कर पर्वतमा निवास गरेका नीलकण्ड महादेवका जटाजूबाट निस्केकी त्रिशुली गंगा र पोखराबाट आएकी सेती चक्रनदी कृष्णगण्डकी नदी देवघाटमा मिलेकी छिन । देवताहरू आफ्ना प्रियतमाका साथमा स्वर्गबाट आएर यहाँ निवास गर्दछन् । नेपालको एकमात्र कल्याणकर सबै तीर्थहरूको मिलनभूमि पृथ्वीका दिव्य नदीहरूको सङ्गम यस भूमिलाई पुन्यदायक, वैष्णवक्षेत्र, पुन्यवर्धक , सिद्धाश्रम भनेर चिनिन्छ ।
पद्यपुराणमा भगवान शिवले पार्वतीलाई समष्टिगत गण्डकीको माहात्म्य बताउनु भएको छ । गंगाको महिमा भएको गण्डकी नदीका गर्भभित्र शालग्राम शिलाहरू उत्पन्न हुन्छन् । गण्डकीको स्मरण, स्पर्श मात्र गर्नाले व्राह्राहत्या जस्ता पाप पखालिने हुन्छ । भगवान नारायणका साथ म पनि त्यही बस्छु ।
श्रीमद्भागवत महापुराणमा पौराणिक रोमहषर्ण सूतको संहारपछि पाप परिमार्जन गर्न बलराम पनि गण्डकी स्नान गर्नुभएको थियो । पुराणमा गण्डकी महिमाका साथै तटमा कठोर तपस्या गरी पुलस्त्य, पुलह , भरत जस्ता महान तपस्वीहरूको चर्चा गरिएको छ । राजा भरत पुलस्त्य आश्रम नजिक त्रिजलेश्वर नामक विष्णुभगवानको आराधना गर्दागर्दै कुनै समय मृगका बच्चाको रक्षा गर्छु । भन्दाभन्दै देह त्याग भयो । अर्को जुनीमा मृग भएर जन्मनु भयो । त्यसपछि ब्राहमणको कुलमा जन्म लिएर पुनः विष्णुको आराधना गर्नुभयो । यसरी तीन जन्मसम्म उहाँले नै पुजेको हुदा विष्णु भगवानको नाम त्रिजलेश्वर रहन गएको हो । भतिपूर्वक जसले भगवान त्रिजलेश्वरको पूजा गर्छ । त्यसलाई योग- सिद्धि (गति- मुक्ति) मिल्दछ ।
स्कुन्दपुराणको हिमवतखण्डमा रूपकेतु नाम गरेका राजाका दुई रानी कामप्रभा र पद्यिनी हुन्छन् । कान्छी रानी राजाकी प्राणप्रिय हुन्छिन भने जेठी रानी कामप्रभा नराम्री भएकाले तिरस्कृत हुन्छिन् । कामप्रभा माइत जाने क्रममा देवघाटमा स्नान गर्दा मुख राम्रो भई सुन्दर हुने कामना गर्दै शिवजी र व्राहमणलाई दान, दक्षिणा दिइ त्यो रात त्यही बिताई पुनः अर्को विहान स्नान गरी माइत जान्छिन् । उनी छ महिना भित्रमा अप्सरा जस्ती सुन्दर हुदै जान्छिन । त्यो रूपको चर्चा रूपकेतुका कानमा पनि पर्छ ।
कामप्रभाप्रति मोहित भई पुनस् स-सम्मान राज्यमा भित्र्याउँछन् । कामप्रभाद्वारा गरिएको देवघाट स्नानको पुन्यको प्रभावले रूपकेतु मुक्त हुन्छन् । यस खण्डमा पत्नीद्वारा गरिएको पुण्यको फल पतिलाई पनि मिल्ने बताइएको छ ।
गण्डकी माहात्म्यका अनुसार स्वर्ग, मर्त्य र पातालमा भारतवर्षमा रहेका सबै तीर्थस्थलहरू विशेष पर्वमा देवघाट आउँछन् । गण्डकी माहात्म्य ग्रन्थमा गण्डकी तटमा मुक्तिक्षेत्र , रुरुक्षेत्र, हरिहरक्षेत्र, त्रिवेणीक्षेत्र, हरिक्षेत्र गरी प्रकट तीर्थ एवम् एउटा रामपुर अप्रकट तीर्थको वर्णन गरिएको छ । उक्त ग्रन्थमा सेन वंशका प्रतापी राजा मणिमुकुन्द सेनको इतिहासको पनि चर्चा छ ।
करिब ३०० वर्ष पहिला पाल्पाका राजा मणिमुकुन्द सेनले राज्य विभाजन पश्चात देवघाटमा आएर तपस्या गर्नुभयो । उहाँले तपस्या गरेको स्थान नजिकै एउटा माझीले माछा मार्ने क्रममा कृष्णगण्डकीमा जालबाट तीन पटकसम्म एउटै चक्राङ्कित शिला निस्किएछ । रगत सहितको लोहोरो जस्तो शिला जसमा ओम पनि रहेको चर्चा भएछ । त्यो कुरा मणिमुकुन्दसेनले थाहा पाएपछि आफैं तपस्या गरेको स्थानमा मन्दिर बनाएर चक्रघाट मन्दिरको नामले चिनिएको छ । शिला क्रमशः बढेर अहिले एक मिटर लम्बाई र १ मिटर गोलाई रहेको छ । चक्रेश्वर शिला एउटा शालिग्राम स्वयम् विष्णु भगवानको प्रतिमूर्ति हो ।
भगवान श्रीरामको गण्डकीयात्रा र पार्वती नन्दन गणेशले नारायणी तटमा दिव्य लीला प्रदर्शन गर्नुभएको कुरा गणेश पुराणमा चर्चा गरिएको छ ।
उत्तरवर्ती समयमा गण्डकी क्षेत्र हिन्दुधर्मावलम्बीको र बौद्धधर्मावलम्बीको साझा मिलन भूमिका रुपमा विकास भएको पाइन्छ।
भगवान श्रीराम १४ वर्षको बनवासमा रहदा देवघाटमा आएर आफ्ना पितृहरुलाई तर्पण, तीर्थश्राद्ध गर्नु भएकाले त्यस क्षेत्रलाई उत्तरगया भनिन्छ ।
हरिहरक्षेत्रको श्रृङ्खला देवघाटधामबाट शुरु भएर शिवघाट( नारायणी र राप्ती नदी दोभान ) र गजेन्द्रमोक्षधाम हुदै त्रिवेणीसम्म पुगेका छ । त्रिवेणी -नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको संगम हो । वाल्मीकी आश्रम, त्रिवेणीघाट र गजेन्द्रमोक्षधामलाई हरिहर क्षेत्र भनिन्छ । भगवान श्रीहरिको साक्षात् वास हुने हुदा हरिहरक्षेत्र भनिएको हो ।
गण्डकी नदीको समिप सालको वृक्षमुनि बसेर सालङ्गायन नामक परम श्रेष्ठ व्राह्राषिले धेरै वर्षको कठोर तपस्या गरेपश्चात भगवान नारायण अत्यन्त प्रशन्न भई प्रकट हुनुभयो । सालङ्गायनले भगवान शिव समान मेरो पुत्र होस् । भनि वरदान मागी नन्दिकेश्वरलाई पुत्रको रूपमा पाएका थिए । यो सालको वृक्षमा बसी तिमीले तपस्या गर्यौ । यो वृक्ष स्वयम् नारागण म नै हु भन्नुभयो ।
सत्ययुगमा लोकहितको कामनाले देवगणद्वारा सुसेवित अतिसुन्दर हिमालय पर्वतमा भगवान विष्णुले कैयौं वर्ष कठोर तपस्या गर्दा उहाँका शरीरबाट अपूर्व तेजपुञ्ज प्रकट भयो । त्यस तेजका तापले भगवानका गण्डस्थल (गला) बाट पसीनाका धारा प्रकट भई सारा प्राणीका पापपुञ्जहारिणी विचित्रको दिव्यध्वनी निस्कियो । त्यो दिव्यध्वनी पत्ता लगाउन व्राह्रादि, शिवजी आफ्ना देवगणका साथ तपस्या स्थलमा पुगेर सोध्दा विष्णु भगवानले संसारको (सम्पूर्ण प्राणीमात्र )को हित कल्याणका लागि तपस्या गरेको हु भन्ने इच्छा भयो । त्यसपछि शिवजी अत्यन्त प्रशन्न भई त्यस ठाउँको दर्शन मात्र गर्नाले मनुष्यलाई मुक्ति मिल्ने हुदा यस क्षेत्रको नाम मुक्तिक्षेत्र (मुक्तिनाथ ) र प्रभुको गलाबाट निस्किएको श्रेष्ठ नदी गण्डकी रहने छ । मनुष्य कार्तिकमासभरि गण्डकी नदीमा नुहाएमा सारा पाप नाश भई मोक्ष प्राप्ति हुनेछ । मुक्तिक्षेत्र महान तीर्थस्थलमध्येको मङ्गलको पनि मङ्गल हो । गंगा स्पर्शले मात्र पनि निष्पाप हुन्छ । मुक्तिनाथ प्रभुको कृपाद्वारा लोकमा सुखभोग र मुक्ति मिल्छ ।
देवदत्तमुनिले उत्तम ज्ञान प्राप्त गरी मोक्ष प्राप्त गर्नुभयो । प्रम्लोचाले कन्यालाई जन्म दिई स्वर्गमा प्रस्थान गरिन् । पिताजीका आश्रममा बसेकी रुरूनामक कन्या मृगहरूका साथ बढेकी हुदा कन्याको नाम पनि रूरू रहन गयो । रुरुले भगवानमा एकाग्र भएर सय वर्षसम्म इन्द्रियलाई वशमा राखी कठोर तप गरिन् । भगवान विष्णुसंग यो तपस्थल रुरु (रिडी) नामले प्रख्यात होस् भनि वर मागिन् । तीर्थस्थलमा तीन रात्रि, रुरूनदीमा उपवास बसी स्नान गर्नाले ह्रषिकेशको दर्शन हुनेछ । रुरुक्षेत्रमा चौबिस जातिका चौबिस मूर्तिहरु छन् । शालिग्राम रुप ,मत्स्य रूप, कर्मरूपा , वाराही, नारसिही, शुभदायिनी, वामनी परशुरामा, मोक्षदायिनी रामरूपा, कृष्णरूपा कल्किरुपा रहेका छन्।
मकरसङ्क्रान्तिमा स्वर्गबाट सबै देवी देवताहरू देवघाटमा स्नानको लागि आउनुहुन्छ । लक्ष्मी माताले पनि विष्णु भगवानलाई पृथ्वीमा स्नान गर्न जाने कुरा गर्नु भएछ । भगवान सानो भएर नौ नदीको संगम नारायणी नदीमा नुहाउन लाग्दा एकजना भक्तले दर्शन गरेपछि भगवान लुक्नका लागि त्यही पृथ्वीमा गड्नु भएछ रे ! भगवानको खोजी हुदा पृथ्वीमा गडेको चर्चा चलेछ । त्यस पछि नारायण भगवान गडेको हुनाले त्यस ठाउँको नाम नारायणगढ रहेको हो भन्ने भनाइ वैदिक धर्मशाला देवघाटका सदस्य चक्रधर उपाध्याय तिमिल्सिनाबाट जानकारी भयो । उहाँका अनुसार भगवान सधैं सानो भएर बस्नुहुन्छ । श्रीकृष्ण भगवान गोठालो हुनुभयो । श्रीराम वनवास बस्नुभयो । नारायण भगवान पनि सानै भएर पृथ्वीमा आउनुभएको थियो तर भक्तले चिनेपछि लुक्ने क्रममा पृथ्वीमा गडेकाले नारायणगढ नाम रह्यो । पछि वारिपारि गर्ने हुदा नारायणघाट भनिएको हो भन्ने जानकारी भयो ।
देवघाटमा विभिन्न देवीदेवताका मन्दिरहरू, गुफाहरु, वृद्धाश्रमका साथै चितवन र तनहुँ जिल्ला जोड्ने झोलुङ्गे पुल रहेको छ । देवालय मठ, गुफा, गुम्बा आश्रम रहेको छ । माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्छ । वैशाख सङ्कान्ति, बालाचतुर्दशी, साउनमा भक्तजनहरूको भीड लाग्छ ।
यस क्षेत्रमा वशिष्ठ गुफा, सीता गुफा प्रख्यात छन् । चक्रेश्वर मन्दिर, बद्रीनाथ मन्दिर, केदारनाथ मन्दिर, वागिश्वरी मन्दिर, मौलाकालिका मन्दिर, महेश सन्यास आश्रम, गलेश्वर आश्रम, सत्यनारायण मन्दिर, साँडेबगर, लक्ष्मीवराह भगवान, सङ्गेश्वर पशुपति मन्दिर, लक्ष्मीनारागण मन्दिर, श्रीकृष्ण मन्दिर, श्रीराम मन्दिर, रामकृष्ण मन्दिर, श्रीशङ्कराचार्य मन्दिर , शिव मन्दिर रहेका छन् । श्री विश्वशान्ति महायज्ञशाला, श्री सीताराम संस्कृत माध्यमिक विद्यालय, श्री मुकुन्द्रसेन चक्रवती मन्दिर श्री अघोरी आश्रम, श्री वेद वेदाङ्ग विद्यालय रहेका छन् ।
संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तहसम्म निशुल्क पढाइ हुने गरेको छ ।
हरिहर सन्यास आश्रममा संस्कृतमा माध्यमिक तहसम्म निशुल्क पढाइ हुने गरेको छ ।
हरिहर क्षेत्र आश्रम जहाँ १००० भक्तजन अट्न सक्ने गरी निर्माण गरिएको यो आश्रममा संस्कृतमा माध्यमिक तहसम्म अध्ययन गर्ने आवासीय सुविधासमेत रहेको छ ।
सीतागुफामा भगवान रामचन्द्र वनवासमा रहदा सीताको असली रूपलाई त्यही गुफामा लुकाएर राखिएको थियो भन्ने कुरा वैदिक धर्मशालाका अध्यक्ष श्री अखण्ड हरिकृतन बाबाद्वारा जानकारी भयो । उहाँ लङ्कुमा रहेको लक्ष्मी वेङ्कटेस मन्दिरका अध्यक्ष पनि हुनुहुन्छ ।
प्रथम मुक्ति क्षेत्र, दोस्रो रुरु ९रिडी० क्षेत्र, तेस्रो देवनदीको सङ्गम स्थल देवघाटधाम, चौथो त्रिवेणी यी महाफल दायिनी नदीहरूमा उत्तम नदी जहाँदेखि बगेर जुन भागिरथी गंगामा मिलेकी छिन् । त्यहाँसम्मको पुष्यक्षेत्र, मुक्ति दिने मुक्ति क्षेत्र हो । यहाँ दान, व्रत, पूजा पाठ यज्ञ तपस्या श्राद्ध, व्राहमण भोजन साधुसेवा, अन्नवस्त्र दान गर्दा वैकुण्ठवास प्राप्त हुन्छ ।
देविका नदी गण्डकी नदीसँग मिलेकी छिन् । परापूर्व कालमा पुलस्त्य र पुलही ऋषिले ठूलो तपस्या गरी सृष्टि विधानका लागि छुट्टै आश्रयपद बनेको थियो अनि मात्र सृष्टि गर्ने सामार्थ्य भयो । नदीहरूमा श्रेष्ठ पुष्यमयी व्राह्रापुत्री देविका प्रकट भई गण्डकी नदीमा मिसिइन् ।
देविका र गण्डकीको सङ्गम भएपछि गण्डकी दोभान “त्रिवेणी” नामले प्रसिद्ध भयो । त्यस ठाउँमा पितृहरुलाई तर्पण दिनाले पितृमोक्ष प्रदान हुन्छ ।
यस क्षेत्रमा मत्स्यशुङ् -अन्नपपूर्णा हिमालयबाट पोखरा हुदै झरेकी दुध प्रभा (सेती ) नदी , दुध पोखरीबाट झरेकी मादी नदी , मनाङ् तालबाट झरेकी मर्स्याङ्दी नदी, दुध पोखरीबाट झरेकी चम्पा नदी, नारदकुण्डबाट झरेकी दरौंदी नदी, नारद कुण्डको पूर्वबाट झरेकी बुढीगण्डकी, गोसाईकुण्डबाट झरेकी त्रिशुली नदी, सरस्वतीकुण्डबाट झरेकी वेत्रावती, सूर्यकुण्डबाट झरेकी सूर्यमती, पूर्वोक्त नौ नदीको र चक्रत्वामी तीर्थ दामोदरकुण्डबाट आएको कृष्ण गण्डकी एवम् देवगङ्गा (देवती खोला) को संगम त्रिवेणी, कदम्बतीर्थ – सिद्धह्रद (संगमको ठूलो ताल) देवघट्ट सप्तगङ्गा र कृष्ण गण्डकीको सङ्गम वेणीमा एवम् सिद्ध ह्रद, कदम्बतीर्थ, चक्रतीर्थ स्नान, स्वर्ग, मर्त्य, पाताल यी तीनै लोकमा र भारतमा जति तीर्थहरू छन् । ती सबै आफ्नो अन्तरआत्माको शुद्ध गर्ने इच्छाले यस शालिग्रामक्षेत्र देवघाटधाममा प्रत्येक पर्वमा आउने गर्दछन् । गण्डकी नदी धर्म, अर्थ काम, मोक्ष यी चार पदार्थदायिनी महापुण्यवती गंगा हुन् । यिनको स्पर्शले मात्र पनि मोक्ष प्राप्त हुन्छ ।
अन्तबाट विभिन्न साना ठुला नदीहरु पूर्णिमा, अमावश्या, सङ्क्रान्ति, एकादशी, बालाचतुर्दशी जस्ता विभिन्न पर्वहरुमा देवघाटमा आएर पवित्र भई जान्छन् । भगवान शिव र विष्णुको साक्षात् वास भएको शालिग्राम पाइने एकमात्र ठाउँ , देवताहरूलाई मन परेको र भ्रमण गर्ने ठाउँ देवाटले सम्पूर्ण मनुष्यको कल्याण सेवा गरुन् ।








