स्मृतिको डोबमा फुलचोकी यात्रा
प्रदीप सापकोटा
कोभिडले विश्व आक्रान्त छ । नेपाल पनि यस महामारीबाट अछुतो थिएन । कार्यालयहरु प्रायःबन्द । लकडाउन गरिएको थियो देशैभर । गाउँमा हामी थुप्रिएको पनि धेरै भो । उद्धब भाईहरुले योजना बनाएका रहेछन् फूलचोकी जाने भनेर । मलाई अघिल्लो दिन साँझ फोन आयो । कहिं जान नपाएर उकुसमुकुस भैरहेको थिंए । उनीहरुको यात्रामा म पनि सरिक हुने जानकारी गराएँ । बस्दा बस्दा कुँजो झै भएको शरीर र खुट्टाका पाइतालाहरुले यात्रामा केही भए पनि धर्ती गोडे भने सकस कम होला कि !
विहानको भुकभुके उज्यालोमा नै निस्केका हामीहरु । समय आफ्नै लयमा लयवद्ध भएर बग्दैथियो । यात्रा गर्न पाउँदाका सुखका छर्काहरुले छोएकै छन् मलाई । चिसिएको छ याम ठिहीले छोपेर । तर पनि उत्सुक ह्रदय बोकेर यात्रारत छौं । मसँग छन् सात जना साथीभाइ लिला प्रसाद सापकोटा,उपेन्द्र तिमल्सिना,रामचन्द्र,आत्मराम,श्याम,उद्धब,विजय,सत्य । यि मध्ये लिला र उपेन्द्र सिनियर हुन् । रामचन्द्र नजिकका दाजु हुन् भने सत्य मेरो बाल दौतरी । श्याम,उद्धब,प्रकाश र विजय सापकोटा जुनियर भाइहरु । हामी फुलचोकी चढ्दैछौं । पनौती, रयाले हाम्रो थातथलो । यहाँबाट नयाँ विहानीको झिसमिसेमै हामी उक्लिन्छौं । आजको यो योजनाका परिकल्पनाकार उद्धब भाइरु हुन । प्रत्येकले झोला बोकेका छौं । २–२ लिटरका जम्बो कोकका रित्ता वोतल पनि बोकेका छौं । हामीलाई थाहा छ फुलचोकीमा पानीको समस्या हुनसक्छ । केहीे चामल,कुखुराको तयारी मासु,अचारको निम्ति,टमाटर र तिल,सलादको लागि मूला र गाँजर समेत बोकेका छौंं । खाना बनाउन ३ थान भाडाकुँडा,पानीको लागि पेपरको गीलास र खाना खान पेपरको ल्पेट समेत साथमा छ । लौरा एक एक वटा टेकेका छौं ।
मूल सडकवाट दायाँ लागेर उक्लियौं चापाँवोट । चाँपावोट कुनै समय तिमल्सिनाहरुको सानो तर घना बस्ती थियो । तर भूइँचालो पछि शहर र बजार झर्नेहरु बाक्लिए र यहाँ अहिले दुईतीन घर मात्र तिमल्सिना बस्ती छ । हामी वाँयातिर अलिकति तेर्सोबाटो लाग्छौं । पर देखिन्छन् निउरेखोलाको आसपासका केही थान घरहरु । यताको प्राकृतिक दृष्यहरु आँखाभरी कैद गर्छु म । केही मानिसहरु दुधका क्यान बोकेर विक्रीको लागि डेरीतिर झर्दैछन् । देव्रेतिर झरे निउरेखोला तर हामी दाहिने तिरको सिलिंङ्गे डाँडातिरको उकालो लाग्छौं । त्यहाँबाट झनै मनोरम दृष्य हेर्न पाइने । दाहिनेतर्फ तलतिर अबिरल बगिरहेको सङग्लो खोला लिलावतीको सफा पानी । लिलावती पारी हामीलाई एकटकले हेरिरहेको सन्सरे डाँडा र त्यहाँ हामीहरुले नै बनाएको शहीद पार्क । एकनास बत्तिसैलहर मिलेका दाँत जस्ता चाक्ला घरहरु भएको पुरानाभोटेगाउँ । शहीद पार्कको सिधा तल खम्बालेको बन । अनि अलिक पर देखिएको लिलावती खोला पारीको लामदुवाली फाँट । अझमाथि तिर हेर्छु रयालेको सुन्दर बस्ती पारीतिर फलामे गाउँ । फलामे गाउँका घरहरुको साइज एकनास जस्ता लाग्छन् र छानो निलो जस्तापाता लगाइएका छन् । २०७२ को भुकम्पले फलामे गाउँका घरहरु भग्नावशेषमा परिवर्तन भएपछि कुनै दातृ निकायले एकनासका घरहरु पुर्ननिर्माण गरिदिएको हो । म तिनै दृष्यहरुमा मग्न भएर रमाइरहेको छु । साथीहरु अघि बढी सकेछन् । रामविर तामाङ्ग दाइ आँगनमा दाँत माझ्दै गरेका देखिए । उनले यात्राको जिज्ञासा राखेकोले मैले फूलचोकी तिर जान लागेको बताएँ । उनले चिया खाउँ भनेर आत्मियता प्रदर्शन गर्दा साथीहरु अघि गैसके भनेर कृतज्ञता ज्ञापन गरेर अघि बढें ।
माथि डाँडाको कापवाट फुत्त निस्किएको घामले न्यानो सिंचित गर्यो पिठ्युँमा । मेरा पाइला अलिक छिटो उकालिए यात्राको पथमा । साथीहरु त भन्जिङ शीव दाइको घर भन्दा पनि अघी पुगिसकेछन् । बल्ल भेटाएँ फरक मार्दै रहेछन् साथीहरु । म पुग्नासाथ अघी बढेउँ । निउरेखोलाको देव्रेतिर पाटापारेलाई पछि पार्दै हामी अघि बढेंउ । चिसापानीको तामाङ्ग गाउँ । धारो देखेर हामीले रित्ता बोतलहरुमा पानी भरेउँ । फराकिलो छाती विछ्याएर बसेको चिसापानीको चौरले हामीलाई स्वागत गर्यो । यहाँ पाँच सय रोपनी भन्दा बढी खाली जग्गा छ । सल्लाका घारी र बुट्यानले घेरिएको चौर । तलको तामाङ्ग गाउँमा पिउने पानीको श्रोत कुवा छ यहाँ । हामी अब ठाडो उकालो चढ्छौं । जताततै छरपष्ट छ विहानीको शीत । हाम्रा जुत्ता पुरै शीतले भिजेका छन् । चरीहरुको सुरिलो गीत र संङ्गीतले स्वागत गर्दै मनमोहक बनायो हाम्रो यात्रा । रुख बुट्यानका शीत पनि झर्दैछ जमिनमा । सायद हर्षले विभोर छन् यिनीहरु हामीलाई भेट्दा । अलिक पर सल्लाका ठूला ठूला रुखहरु ढालिएका छन् । काठ तस्करी भनेकै यहि होला । नियमन गर्ने निकायको निगरानी नहुँदा वन मासिंदै छ ।
अहिले साँगुरो बाटोतिर छौं हामी । गफिंदै उकालो चढ्दैछौं । उकालोमा खुट्टाले पनि नजानिदोसँग ब्रेक लगाउँदो रहेछ । उषाको लाली जंगलभर फैलिएको छ । माथितिर हेर्दा निलगगन छोइएला कि जस्तै नजिकै देखिन्छ । तर यथार्थ कहाँ त्यस्तो हुनु त्यो त कहाँ हो कहाँ हामीबाट धेरै टाढाको दुरीमा छ । म भन्दा अघि छन् रामचन्द्र र आत्मराम । म तिनका पदचाप पछ्याई रहेको छु । एउटा दुष्ट काँडाको हाँगो अगाडी उभिएको रहेछ । आत्मरामले त्यसलाई जवरजस्ती भाँचेर पन्छाउँछन् । यहि त हो काँडेघारीको यात्रा । यहि त हो दुःखभित्र लुकेको सुखद यात्रा । श्याम बा जो हामी भन्दा उमेरमा भाई छन् ,नाताले सबैका काका पर्छन् उनी प्रत्यक्ष प्रसारण गर्दैछन् हाम्रो यात्राको ‘आत्मराम दाइले बाटोमा उभिएको अवरोध बडो गजबले हटाउँनु भयो । त्यसपछि रामचन्द्र दाइ र प्रदीप दाइ अनि सत्य दाइ । विजय र उद्धब पनि पछि पछि छन् । रमाइलो छ हाम्रो यात्रा । आज हामी केही थान मनुवाहरु रहर गर्दैछौं फूलचोकी पुग्ने । दाजुहरु उकालोमा स्याँ स्याँ गर्दैछन् ।’ यस्तै यस्तै ।
यतिखेर उकालो तर पातलो जङ्गलको विचबाट हाम्रो यात्रा गुज्रँदैछ । केहीबेरमा अलिक तेस्रो तर खुला ठाँउ भेटिन्छ । यसो हेरेको देव्रेतिर नागी डाँडा शिर झुकाएर मौन मुद्रामा एकटकले हामीलाई हेर्दै बसेको छ । खै किन हो कुन्नी ! नागीको मौनताको रहस्य बारे म मात्र नभएर सब यात्रीहरु बेखवर छन् । हैन मौसम पनि उस्तै धुम्म र उदासी पोतिएको नागी के कारण होला मन जिज्ञासु बन्छ । म यसो नियाल्छु । नागीको वरिपरि तलदेखि डोजर गुडाएर घाइते पारिएको रहेछ । नागी आफ्नो अस्तित्वमा आएको खतराले दुःखी बनेको रहेछ । प्रकृतिमाथि मान्छेको कति तुच्छ ब्यवहार ! भासिएको छ नागी । मान्छे कति स्वार्थी छ है आफ्नो सुख र रुची अनुसार दोहन गर्छ प्राकृतिक संरचना माथि ! म नागीको दुःखमा दुखित बनेर अघि बढ्छु ।
हामी घना जङ्गलको बीचमा छिर्छौं ।
‘थाकियो यार । धेरै पछि यसरी हिंडियो ।’ रामचन्द्र दाइले थकित मुद्रामा आफ्नो भाव व्यक्त गरे ।
‘पर्खालचौरमा बसी बसी यस्तो भएको हो । हिड्ने बानी हुनुपर्यो नि त । साउजी बनेर बसिरहने । अनि..’
आत्मरामले ब्यङ्ग कसे । सवैभन्दा पातला शरिरका धनी आत्मराम हिड्न गाह्रो मानिरहेका थिएनन् । पेशाले उनी सवारी चालक तर पनि उनको हिंडाईमा थकाई देखिएन । भाइहरु राजधानी बस्ने उनीहरुलाई पनि थकाइले गाँजेको प्रष्टै देखिन्थ्यो । म पनि थाकेकै थिंए ।
‘एक छिन चाहीं बसुम दाइहरु ।’ विजयले स्वाँ स्वाँ गर्दै भने ।
हामी एकछिन त्यहिं सिंढीमा थचक्क बसेउँ । सत्यनारायणले फोटो खिच्यो ।
‘अलिक पर गएर बसौं न साथीहरु । त्यहाँ बस्ने ठाउँ रे’छ ।’ सानु दाइ (लिलाप्रसाद)ले एउटा टिनको पाताले छाएको पाटी जस्तोतिर औंल्याए । हामी उठेर उनले औल्याएको ठाउँतिर लाग्यौ । बस्ने पेटी बनाइएको नयाँ पाटीमा बसेउँ एकछिन हामी । घना जङ्गल भएकोले घाम छिर्ने कुरै भएन । ठूला ठूला र बुढा खस्रुका रुख । मैले हाम्रा आमाहरुले म स्कूले केटो हुँदा खस्रुका सेउला काट्न आएको सम्झें । हाम्रा गाउँका आमा,दिदि र भाउजुहरु यहाँसम्म आएर गाईभैसीको लागि सेउला लिन आउँथे । हामी सघाउन घरदेखि केहीमाथिसम्म आउँथ्यौं र केही मुठा बोकेर घर लैजान उहाँहरुलाई सघाउँथ्यौ । तर म चाहिं विरलै आउँथे । मैले दौतरीहरुलाई पुराना कुरा सम्झाएँ । सबैजना नोस्टाल्जिक भए ।
‘हामीले यत्रो बाटो काटिसक्यौं तर कोही भेटिएन है ।’
रामचन्द्र दाइ अचम्भित भएर बोल्दै थिए ।
‘पहिले पहिले पो तलतिरका सबैजना बन बोक्न आउँथे । अहिले भक्तपूर फाँटको परालले यता आउन छोडे नि । हेर्नुस त कति बाक्लो खस्रुका सेउला । जरबुट्टो घारी उस्तै छ ।’ उपेन्द्र तिमल्सिनाले प्रतिउत्तर लाए ।
‘अब कति बर्ष हो र भक्तपूरको पराल खेप्ने?बस्तीले गरेर भक्तपूरमा धान खेत त विस्थापित हुन थालिसक्यो ।’ प्रकाश भाइले चिन्ता गरे ।
‘साथी हो ! यसरी एकै ठाउँमा बसिरहे त गन्तब्यमा कहिले पुग्ने ?अनि कहिले घर फर्कने ?लागौं अब उकालो ।’ उपेन्द्र तिमल्सिनाले सबैलाई समय वितेको सचेत गराए । हामी उनको पछि लाग्यौं ठाडो उकालो । साँच्चै कठिन भो हामीलाई उकालो चढ्न । उकालोको विचतिर मोटो धोत्रेसल्लाको रुखको फेदमा पुरै ओडार परेको देखेर केटाहरु फोटो खिच्न तम्सिए । आहा ! यहाँको बनमा त विभिन्न रंगका गुराँसहरु ! मैले त रातो बाहेक देखेको थिइन । यहाँ सेतो पनि देखियो । प्रकृतिको हाँसो र सौन्दर्य लुकेको छ फुलचोकीमा हरियालीमा सिंगारिएर ।
हामी गन्तब्य नजिक छौं । गोदावरीबाट आउने मूलबाटो भेटियो । चिसोको स्पर्श गर्यो मेरो ज्यानले । शैन्य पोशाकमा केही जवान देखिए । नत्र प्रायः शुनसान छ । अबको केही मिनेटमा हामी पुग्दैछौं काठमाडौंदेखि दक्षिणपूर्वमा पर्ने उपत्यका वरिपरिका डाँडा मध्येको अग्लो डाँडा फूलचोकी । यसको उचाई २७६२ मिटर रहेको छ ।यहाँ नेपालमा पाइने सबैथरीका पुतलीका प्रजातिहरु,धेरै प्रजातिका चराहरु,चितुवा,मृग,बँदेल,आदि जंगली जनावर समेत पाइन्छन् । यहाँबाट तराईको समथर फाँटदेखि हिमाली श्रृँखला समेत देख्न सकिन्छ । मलाई फुलचोकीको उचाई बाँच्न मन छ । उपत्यका वरपरका सबै ठाउँ नियाल्छ यो । तर म त्यो उचाईमा कहाँ बाँच्न सक्नु ! आह्रिस लाग्छ बाबै मलाई उसँग ।
हाम्रो यात्राको लगाम आर्मीको क्यान्टिनबाट अघि बढ्छ । सोधपूछ भयो सुरक्षा निकायबाट । हामी मन्दिर जान माथि चढ्यौ । नेपाल टेलिभिजन र दुरसञ्चार संस्थान प्राधिकरणको गगनचुम्बी टावर पनि रहेछ त्यहाँ । फलामखानीको लागि प्रख्यात ठाउँ हो । पहिले नेपालकै सबैभन्दा ठूलो फलाम खानी थियो यहाँ । तर अहिले त खानी बन्द छ । हामीले फूलचोकी माईको दर्शन र पूजाआजा आआफ्नै ढंगले गरेउँ । हरेक वर्षको चैत्रको पूर्णिमामा यहाँ मेला लाग्छ । जाडोमा यहाँ हिउँ पनि पर्छ । हिउँसँग खेल्न शहरदेखि मानिसहरु आउँछन् । हामीले सामूहिक केही स्न्याप फोटोहरु लियौं । मध्यान्ह प्रहर छ, प्रखर घाम लाग्ने बेला पनि चिसो सिरेटो चलेको छ । मैले वरपरको दृष्यापान गरें । आहा ! माथितिर फर्केर हेर्दा निलो गगन नजिकै देखिन्छ । उत्तरतिर काठमाडौ उपत्यकाको अब्यवस्थित घरहरु । दक्षिणतिर घना बन । पूर्वतिर हाम्रो गाउँ । मैले मेरो घर ठम्याउने कोशिस गरें तर सकिन । मेरो घरपारीको घटेरागाउँ र पोखरीचौर चाहि पहिल्याँए । धेरै बेर बसेउँ । चिसो मुटु नै हल्लिने । तर ति प्राकृतिक दृष्य जो पायो उसले कहाँ अबलोकन गर्न पाउँछ र ! यहाँ विभिन्न जातका गुराँसहरु पाइने राता मात्र हैन् सेता पनि । अनि प्याजी रङका पनि । सल्लाका विभिन्न प्रजातीहरु पनि देखिएका छन् । हाइकिङ्ग रुट पनि रहेछ यहाँ । पर पारीतिर हेर्दा कुहिरोले घुम्टो ओढाएको छ नव विवाहिता दुलहीलाई जस्तै । आफ्नै वरिपरिको प्राकृतिक सौन्दर्यहरुको सम्झना भुल्न नसकिने छ । यहाँ थुप्रै किसिमका जडिवुटीको बास छ । स्वच्छ मन र पवित्र तन लिएर उभिएकी छे फूलचोकी । यसका पाखामा सुनखरी फुल्छन् । शान्त सौम्य र सुन्दर छे । चिन्ता गर्छे उपत्यकाको प्रदुषण देखेर ऊ । बर्षौंदेखि एकनास छ उसको मौन हेराई सिवाय केही गर्न सक्दिन् । कोही कोही उसको दर्शन गर्ने नाउँमा यहाँ आउँछन् मनुवा । अनि उसैमाथि फोहोरको डंगुर थोपरिदिन्छन् । वदला लिन्न ऊ ति स्वार्थी मनुवाहरुसँग वरु निःशुल्क आर्शिवाद दिन्छे ‘भलो होस’ ।
समय चिप्लिँदै गएकोले हामी फूलचोकीमाईबाट विदा भएर तल झर्छाै। फेरी अलिक घना जङ्गलको भित्र समथर परेको अनि अलिक खुला ठाउँ रहेछ । खाना बनाएर खान सजिलो होला भन्ने ठानेर त्यहिं छिर्छाैं । थकान र भोक दुवैले सताएको छ हामीलाई । चुलो बनाउन थालेउँ कोही । कोही दाउराको जोहो गर्न,म पनि त्यही मिसिएँ । यामानका पाइलाहरुको डाम देखिन्छ जताततै हामीले पक्कैपनि यो बँदेलको हुनपर्छ भन्ने अनुमान लगायौं । बँदेलले हाम्रातिर नि किसानहरुलाई दिनसम्म दुःख दिएको छ । बालीनाली खत्तम बनाएको छ । दाई लिला र भाईहरु भान्साको जोहो गर्दैछन् । हामी गीत गाउने तथा ख्याल ठ्ठटा गर्दैछौ । हामी उन्मुक्त छौं । कोभिडको मतलव छैन् ।आफ्नै संसारमा रमाउँदैछौ,चरीहरुको चिरविर सुन्दै । अघि भोक र थकानले ओइलाए पनि हाम्रो शरीर छिट्टै हराभरा भयो । स्फुर्तिको संचार जागृत भयो । सवै आ–आफनै धुनमा छौं । थकाई मेटाउन ल्याएको शराव रुच्नेले लिनुभयो । नरुच्नेले साथ दिनुभो । जङ्गलमा चरीहरुको चिरविराहट संगै विभिन्न किराहरुले पनि संगीत भरेको सुन्न सकिन्छ । विशाल रुखहरु पनि रमाइरहेका छन् हामीसँगै ।
खाना तयार भयो । दाहइरु उपेन्द्र र लिला तथा भाइहरु विजय र उद्धबले खाना पस्किए । हामीले बनभोज खायौं । भोक मीठो कि भोजन ! त्यस्तै मीठो भो आजको खाना । रमाइलो भयो आजको दिनको यात्रा । प्रकृतिपूजक मान्छे म जङ्गललाई माया गर्छु । पहाडलाई माया गर्छु । अनि यो विषम भूगोललाई उत्तिकै माया गर्छु । त्यहि भएर होला ति रुखहरुले क्वारक्वार्ती हेरिरहेका छन् मलाई । तिनका सजल नेत्रहरुले नियालिरहेका छन् हाम्रा गतिविधिहरु । खाना खाइसकेपछि भाँडाहरु बटुलेर राख्छौं बोरामा । कागजका गिलास र प्लेटहरुलाई त्यही आगोमा सुरक्षित ढंगले समाधिस्थ गर्छौं। अनि त्यहाँबाट विस्तारै झर्छौ ।
अरुलाई के गर्याे कुन्नी थाहा भएन,चिसो बतासको एक झोक्काले हान्यो मलाई । आत्मरामले खरबुट्टाका झाँङहरु फैलिएको देखेर एक भारी काटेर लाने त प्रदीप भनेर मलाई सोधे । मैले आफ्नो घरमा बस्तुभाउ नभएको बताएँ । हामी ठट्टा गर्दै बाटोको दुरी घटाउँदै छौं ।
यात्राको मज्जै यहि हो । प्रकृतिको सुन्दर रंगरुप र सौन्दर्यको रस्वादान आहा ! नयाँ दृष्यमा कौतुहलता र त्यसले मनमा दिएको आनन्द यात्रा नगर्नेलाई के थाहा ! अझ यसमा प्राकृतिक सौन्दर्यको वर्णनलाई जीवनसँग तारतम्य मिलाएर यात्रा तय गरियो भने त्यो यात्रा शब्दमा वर्णन गर्न सकिने होला त ! पारिलो डाँडामाथि सर्दै सर्दै गयो सूर्यको लालिमा पनि । हामी भने ओरालो झर्दैंछौ विस्तारै विस्तारै । घर पुग्दा साँझ निक्कै गहिरिसकेको थियो ।।