
काठमाडौं ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचन मिति केही दिनभित्रै औपचारिक निर्णय गरिने जानकारी दिए ।
‘कात्तिक १७ गते उपनिर्वाचन गर्ने गरी तयारी गरिएको छ,’ उनले भने, ‘अहिले आन्तरिक तयारी भइरहेको छ, दुई–चार दिनभित्रै निर्णय हुन्छ ।’
२०७९ साल मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङ २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे)निर्वाचित भएका थिए । तर, चर्चित चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।
सर्वोच्चको फैसला अनुसार दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्य पदमा बस्न अयोग्य ठहरिएका थिए । त्यससँगै प्रदेशसभा क्षेत्र २ को पद रिक्त भएको हो ।


