
काठमाडौं । काठमाडौंको ठमेलस्थित बहुचर्चित व्यापारिक कम्प्लेक्स छायाँ सेन्टरको मुद्दा अब सर्वोच्चको पूर्ण इजलासले हेर्ने भएको छ।
बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त मुद्दा अब सर्वोच्चको पूर्ण इजलासले हेर्ने आदेश गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।
सर्वोच्च अदालतमा ९ वर्षदेखि विचाराधीन मुद्दाको २०८० माघ २२ देखि निरन्तर सुनुवाइ हुँदै आएको थियो। यस मुद्दाको अन्तिम सुनुवाइ सकेर मंसिर २८ मा निर्णय सुनाउनेमा राखिएको भए पनि सो दिन हेर्न नभ्याउनेमा राखिएको थियो।
बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान बहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायाँदेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग राखी २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेका थिए।
सो पोखरी रहेको जग्गा १२ रोपनी १३ आना रहेको बताइएको छ।





