डा.श्यामसुन्दर राजवंशी
रातो मछिन्द्रनाथको अपत्यारिलो कथामा पत्यारिलो बनाउन कलिगत ३६७६ मा कामारु कामाक्षाबाट कलशमा थुनेर ल्याएको आख्यान बनाइ नेपालमा व्यापक प्रचार भइआएको छ । साल मिति समेत त्यहाँ अंकित भएको देखेर यो कथा होइन इतिहास नै हो भन्ने एकथरिको दावा छ । कथामा ३६७६ कलिगत भनेर पुच्छर जोड्ने बित्तिकै यो इतिहास ठहरियो भन्ने विश्वास गर्नु भनेको भ्रम मात्र हो । मान्छेलाई पुच्छर जोड्दैमा हनुमान बन्दैन भनेझैं कथामा संवत् जोड्दैैमा ऐतिहासिक कहलिने होइन । त्यसैले सर्बप्रथम मान्छेको पुच्छर हुँदैन थाहा पाए पुग्छ भने झैं कथामा तिथिमितिको कुनै प्रयोजन छैन भन्ने बुझे पुग्छ । त्यसकारण यहाँ पनि कलिगत ३६७६ भनेको कुन समय पर्न आउँछ त्यो मात्र बुझे पुग्ने हो । त्यता तिर कुनै ध्यान नदिइकन एकोहोरा पाराले रातो मछिन्द्रनाथ कामारुकामाक्षाबाट ल्याएको हो र रातो मछिन्द्रनाथ लिन राजा नरेन्द्रदेव, तान्त्रिक आचार्य बन्धुदत्त र ललित ज्यापु रथचक्र साथमा कर्कोटक नाग समेत गएको कपोल कल्पित कथालाई बडो महत्व दिइ आएको हुनाले ती कुरा भ्रामक हुन् भनेर बुझ्न सकियोस् भनी यो लेख तयार गरिएको हो ।
कलिगत ३६७६
अहिलेको पंचांग पात्रो पल्टाएर हेरियो भने त्यसमा कलिगत ५१२६ दिइएको हुन्छ । त्यसैले ५१२६बाट ३६७६ घटायौं भने १४५० वर्ष प्रष्ट रुपले देखिन्छ । यो १४५० वर्ष अघि भगवान विष्णुले मत्स्य अवतार लिएको समय पनि होइन, करुणामयले मत्स्य अवतार लिएको समय पनि होइन । १४५० वर्ष अघि नेपालमा को शासक थियो भनेर घघरानघघरान मानिएका इतिहासकारलाई गएर सोध्यो भने पनि त्यो बेला नरेन्द्रदेव नाम गरेको राजा थियो भनेर कसैले भन्न सक्दैन । कथंकदाचित भनियो भने पनि मुखले बोलेर हुँदैन प्रमाणहरु अगाडि राखेर भन्नु पर्ने हुन्छ किनभने कथालाई पो प्रमाण चाहिंदैन इतिहासलाई त प्रमाण चाहिन्छ प्रमाण बिना मनमा जे आयो त्यो भन्न पाइने विषय इतिहास होइन ।
अहिले इस्वीसंवत् २०२५ छ । यही २०२५ बाट १४५० वर्ष घटाए पछि इस्वीसंवत् ५७५ आउँछ । इस्वी ५७५ भनेको छैठौं शताव्दीको उत्तरार्ध पर्न आउँछ । इतिहास पल्टायौं भने छैठौं शताव्दीमा नरेन्द्रदेव नाम गरेको राजा भेट्टाउन सकिन्न । राजा नरेन्द्रदेव प्रथमले ३६ वर्ष अविछिन्न शासन गरेको देखिन्छ यो कुरा संवत् ६७ को पाटन भन्सारचोकको अभिलेखदेखि संवत् १०३ को पशुपति वज्रघरको अभिलेख दृष्ट साक्षी छ ।
इतिहासको पाना पल्टाउँदै जाने हो भने प्रथम नरेन्द्रदेवको समय भन्दा धेरै पछि दोस्रो नरेन्द्रदेव र तेस्रो नरेन्द्रदेव नाम गरेको राजाहरु देखिन पनि आउँछन् । तिनीहरुको समय कलिगतबाट खोज्नु जरुरी छैन दोस्रो नरेन्द्रदेवको समय नेसं ११९ तिर देखिन्छ र एक वर्ष भन्दा बढी उनको शासनावधि देखिंदैन । त्यस्तै तेस्रो नरेन्द्रदेवको समय नेसं २६१ देखि २६५ सम्म मात्र देखिने भएको हुनाले उनको समय पनि केवल चारवर्ष भन्दा बढी देखिंदैन । अझ चतुर्थ नरेन्द्रदेवको कुरा गर्ने हो भने नेसं ६४९ देखि ६८२ सम्म देखिन्छ ।तर यिनको नाम नरेन्द्रदेव भन्दा पनि नरेन्द्रमल्ल को नामले र अमर मल्लको नामले बढी प्रशिद्ध छ । राजा नरेन्द्रदेवको पालामा १२ वर्ष अनावृष्टि भएको घटना कथामा जुनपाइने हो । त्यो घटना प्रथम नरेन्द्रदेव चतुर्थ नरेन्द्रदेव(नरेन्द्रमल्ल)को कार्यकालमा मात्र खोज्न सकिएला दोस्रो र तेस्रो नरेन्द्रदेवको समयमा खोज्न पाइने होइन ।
गोपालराज वंशावलीका अनुसार
“श्री नरेन्द्रदेव वर्ष ३५ तस्य आचार्य बन्दुदत्त द्वयेन, श्री बुग्मलोकेश्वर भट्टारकस्य जात्राकृता भवति ।।”
यो उद्धरणले हामीमा भएको ७ वटा जिज्ञासाहरुलाई पुष्टि गर्दछ । १ नरेन्द्रदेव नामक राजा प्रथम नरेन्द्रदेव बाहेक अरु होइन । २ उनको शासनकाल अभिलेखबाट गोपालराज वंशावलीले ३५ वर्ष भने पनि अभिलेखले ३६ वर्ष पूरा देखिएको प्रामाणिक ठहर्छ । ३ यिनको पालामा बुंगमलोकेश्वरको जात्रा चलाएको कुरा प्रष्ट बोलेको छ । ४ बुंगमलोकेश्वर नामक देवता रातो मछिन्द्रनाथ पनि हो भनिएको पनि छैन र बुंगमलोकेश्वर भने कै रातो मछिन्द्रनाथ पनि हो भनेको पनि छैन । ५ बन्दुदत्तलाई केवल आचार्य भनिएको छ उनी बौद्ध आचार्य पनि भनिएकोे छैन र हिन्दु आचार्य पनि भनिएको छैन । ६ नरेन्द्रदेव र बन्धुदत्त समकालीन देखाइएको छ । ७ गोपालराज वंशावली लेख्दाको समयसम्म बुंगमलोकेश्वरलाई रातोमछिन्द्रनाथ पनि कहलिन्छ भन्ने थाहाथिएन भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
गोपालराज वंशावली लेखिनु भन्दा अगाडि पद्मपाणीलोकेश्वर भगवान बुंगमलोकेश्वर, आर्यावलोतिेश्वर, अवलोकितेश्वर, लोकेश्वर, लोकनाथ, करुणामयको नामले प्रशिद्ध रहेको कुरा प्राचीन अभिलेखहरुमा देखिन्छ । यति मात्र होइन सातौं शताव्दीमा राजा नरेन्द्रदेव र बन्धुदत्त आचार्यले केवल जात्रा चलाएको हो । यदि देवता नै त्योबेला ल्याएको भए त्यो समय भन्दा अघिको अभिलेखमा यसरी आर्यावलोकितेश्वर को उल्लेख आउनु नपर्ने हो तर आइरहेको देखिनु भनेको प्रमाण दृष्ट साक्षी भएर रहेको भन्न सकिन्छ । जस्तै:
१) राजा रामदेवको पालाको काठमाडौं धरहराबाट लगनजाने बाटोमा आर्यावलोकितेश्वर मूर्तिको पादपीठमा …..सव्र्वसत्वहितसुखात्र्थाय भगवत आर्यावलोकितेश्वरनाथ प्रतिष्ठापितः...अंकित छ ।
यसमा सारा प्राणीको हित र सुखकोलागि भगवान आर्यावलोकितेश्वरनाथको स्थापना गरेको व्यहोरा छ । यसमा दाता मणिगुप्तले आफना पत्नी महेन्द्रमतीसंगै भएर दानधर्म गरेको कुरा छ ।
२) काठमाडौं ब्रम्हटोलको अवलोकितेश्वरको पादपीठमा संवत् ४७९ द्वितीय आषाढ………यजीव…..भगवदार्या………….अंकित छ ।
यसमा राजा गणदेवको पालामा संवत् ४७९ द्वितीय आषाढ …प्रियजीवले भगवान आर्यावलोकितेश्वर …स्थापना गरे भन्ने व्यहोरा परेको छ । यसमा व्यहोराले आर्यावलोकितेश्वरको पादपीठ अभिलेख भनेर बुझाउँछ ।
३) संवत् ३१ वैशाखको पाटन चक्रवहिलको आर्यावलोकितेश्वरको पादपीठ अभिलेखमा
…………भगवतार्यावलोकितेश्वर मुद्दिश्य दशमानिका पूजां कर्तव्या.…………अंकित छ ।
यसमा भगवान आर्यावलोकितेश्वर पूजा आदि कार्य गर्ने उद्देश्यले दश मानिका छुट्याएको व्यहोरा परेको छ । यसमा व्यहोराले आर्यावलोकितेश्वरको पादपीठ अभिलेख भनेर बुझाउँछ भने हाल लोकेश्वरको मूर्ति हराइसकेको हुनाले हःखा गल्लीमा स्थापना भएको गणेशको मूर्तिको पादपीठको रुपमा प्रयोग भइरहेको छ ।
४) काठमाडौं ढोकाटोल चसाँदोको वण्डाहिटीको अभिलेखमा पनि आर्यावलोकितेश्वरको नाम
…………..सव्र्वसत्वो बुद्धो भवेत् क्षेत्रञ्च भूमि १० भगवतोस्यावलोकितेश्वरस्य……….अंकित छ ।
यस अभिलेखमा संवत् र राजाको नाम अस्पष्ट भइसकेका छन् तापनि यसमा अंकितलिपि अंशुवर्माको पालाको छ । यसमा सारा प्राणीले बुद्धत्व प्राप्त गरोस् भनी १० भूमि खेत यी भगवान अवलोकितेश्वरको लागि धूप बाल्न भनी गुठी राखेको व्यहोरा उल्लेख छ ।
५) पशुपतिको जयदेव द्वितीयको संवत् १५७ को अभिलेखमा पनि लोकेश्वर करुणाकरको नाम
……..पदमं किं करणाकरस्य करतो लोकेश्वरस्यागतं.…………अंकित छ ।
करुणामय लोकेश्वरको हातबाट आएको कमल पो यो हो कि ? भन्ने व्यहोरा परेको छ । यसबाट पनि लिच्छविकालमा लोकेश्वर करुणामयको महिमा व्यापक रुपले चर्चा परिचर्चा हुने गर्दथ्यो भन्ने प्रष्ट हुन्छ ।
६) पाटन यंगवहालमा संवत् १८० को अवलोकितेश्वरको मूर्ति र त्यसको पादपीठमा
एतङ्ग्रामे लहुग्वले प्रतिवसं हूं धर्मजीवः स्वयम् प्राकार्षीदवलोकितेशममलम्पाषाणमत्यद्भूतम्.…..अंकित छ ।
एतङ् ग्राम लहुग्वलमा बस्ने धर्मजीवले कुबाटोमा हिंडेका…….चित्त भएका प्राणीहरुलाई……गम्भीर संसारको दुःखबाट सँधै छुटकारा दिलाउन सफा अति अद्भूत ढुंगाको अवलोकितेश्वर आफै बनाए ।
यसरी प्राप्त भएका लिच्छविकालका अभिलेखहरुमा बुंगमलोकेश्वरको जात्राको प्रचलन शुरु हुनु भन्दा अघि र पछि करुणामय लोकेश्वरको स्थापना एवं पूजा अर्चना गुठी आदिको उल्लेख छ तरयसलाई रातो मछिन्द्रनाथ भनिएको छैन । यसको मतलव करुणामय आर्यावलोकितेश्वरले कहिले मत्स्य अवतार लियो भन्ने कुरा ज्ञात थिएन । वास्तवमा बुंगम लोकेश्वरलाई नाथ सम्प्रदायले आफनो आराध्यदेव मानेर पूजागर्न थालेपछि संभवतः मछिन्द्रनाथ कहलिएको हुनसक्छ र चौधौं शताव्दीमा गोपालराज वंशावली लेखिए पश्चात् मात्र मछिन्द्रनाथ र रातो वर्ण भएको रातो मछिन्द्रनाथ , सेतो वर्ण भएको सेतो मछिन्द्रनाथ कहलिएको हुनसक्छ । कहिले देखि यसरी रातो मछिन्द्रनाथ र सेतो मछिन्द्रनाथ भनियो भन्ने कुरा प्रमाण देखिंदैन । अझ भन्नु पर्दा शाहकालमा आएर मात्र यो नाम रहनगएको हो कि अनुमान गर्न सकिन्छ ।
संस्कृतिविद्हरुको मत अनुसार
संस्कृतिविद्हरुको कुरा गर्दा कोही इतिहासलाई थोरै हेक्का राख्ने र कोही इतिहासलाई पटक्कै हेक्का नराख्ने दुइ थरीका देखिने गरेका छन् । बुंगमलोकेश्वर अर्थात् श्री मछिन्द्रनाथ महात्मे रचनालाई विश्वास गर्नेहरुले मछिन्द्रनाथ भारतको कामारुकामाक्षा पीठबाट ल्याएको कथालाई पूर्ण विश्वास जनाउँदै आएका छन् । तर कामारुकामाक्षाबाट नेपालमण्डलसम्म ल्याइ पु¥याउँदाको घटनालाई ऐतिहासिक प्रमाणले पुष्टि गर्न आवश्यक छ भन्ने कुरा बिर्सेको छ ।
गोरखनाथले नवनाग आसन गरेकोले अनावृष्टि भएको, बन्धुदत्त आचार्यको सल्लाहा अनुसार योगी भेष गरी राजा नरेन्द्रदेव वन्धुदत्त सहित कामारुकामाक्ष गइ मत्सेन्द्रनाथ लिन गएको घटना कलिगत ३६७६ मा घटेको घटना हो भन्ने देवमाला वंशावलीको मत हो ।
गोरखनाथ र मत्सेन्द्रनाथको कथालाई अलिकति फरक पारेर बन्धुदत्तलाई शिवमार्ग वौद्धमार्ग दुवै मार्गका ज्ञाता एक बौद्धाचार्य थिए भनिएको छ । यसमा पनि कलिगत ३६७६ मा घटेको घटना भनी दिइएको छ । बन्धुदत्त आचार्यले रचना गरेको मत्सेन्द्रनाथको स्तुतिलाई करुणास्तव र राजा नरेन्द्रदेवले रचना गरेको स्तुतिलाई रुपस्तम्व भन्छ भन्ने भाषा वंशावलीको मत छ ।
हाम्रा चाडपर्वहरुका विवेचनामा आर्यावलोकितेश्वर र मत्स्येन्द्रनाथ एकै व्यक्ति या इश्वर होइनन् । लोकेश्वरको मूर्ति पूजागर्ने परम्परा प्राचीन लिच्छविकालदेखि नै चलेको तथ्य पाइन्छ । ललितपुरको रातो मत्स्येन्द्रनाथको नाउले प्रसिद्ध भएको लोकेश्वर पनि लिच्छविकालीक मूर्ति नै हुन् भन्ने मनवज्र वज्राचार्यले आफनो मत राखेको छ ।
श्री मत्स्येन्द्रनाथ नामक पुस्तकमा मत्स्येन्द्रनाथ नेपाल ल्याएको कथालाई केही परिवर्तन गरेको पाइन्छ हुनत यसमा श्री मत्स्येन्द्रनाथलाई कामरुपबाट आह्वान गरी ल्याउने राजा नरेन्द्रदेव र तान्त्रिक बन्धुदत्त आचार्य नै हुन् भन्ने कुरामा कुनै विवाद छैन पनि भनिएको छ । मत्स्येन्द्रनाथ शंकराचार्य भन्दा पछिको भएको हुनाले नरेन्द्रदेव भन्ने राजा लिच्छविकालका होइनन भन्ने कूलचन्द्र कोइरालाको मत रहेको छ ।
नेपालका जात्रापर्व नामक पुस्तकमा राजा नरेन्द्रदेवको पालामा अनावृष्टि भएको थियो । त्यसवेला राजा नरेन्द्रदेव, तन्त्रविद् बन्धुदत्त आचार्य र रथचक्र भरिया सहित कामाक्षपीठमा गई मछिन्द्रनाथ ल्याएको र मछिन्द्रनाथको रथजात्रा पनि नरेन्द्रदेवले चलाएको थियो । भोटोजात्रा चाही राजा गुणकामदेवको पालामा कलिगत३८२५देखि चलेको भन्ने सत्यमोहन जोशीको मत रहेको छ ।
नेपालका चाडपर्व नामक पुस्तकमा यसमा राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मत्स्येन्द्रयात्रा चलाए । राजा नरेन्द्रदेवको समय १० औ शताव्दीको अन्तिम अथवा ११ औ शताव्दीको प्रारम्भिक समय हो भन्ने हरिराम जोशीको मत जाहेर भएको देखिन्छ ।
प्रसिद्ध वज्राचार्य पिनिगु संक्षिप्त विवरण नामक पुस्तिकामा राजा गुणकामदेवको पालामा अनावृष्टि भएर हाहाकार भएकोले शान्तिकर वज्राचार्यले नवनाग साधनागरी नवनागको रगतले मण्डल बनाइ पूजा गर्दा वृष्टि भयो । राजा नरेन्द्रदेवको पालामा पनि १२ वर्षसम्म अनावृष्टि भएकोले शान्तिकर वज्राचार्यको शिष्य आचार्य बन्धुदत्त वज्राचार्य राजा नरेन्द्रदेव र रथचक्र समेत गइ कामारुकामाक्षबाट मत्स्येन्द्रनाथ ल्याएको वर्णन लेखिएको छ । यसमा बन्धुदत्तका गुरु शान्तिकर वज्राचार्य हुन् पनि भन्ने यिनी राजा गुणकामदेव समकालीन भनेको छ भने शान्तिकर वज्राचार्यका शिष्य बन्धुदत्त आचार्य वज्राचार्य हो भन्ने बद्रीरत्न वज्राचार्यको मत जाहेर रहेको देखिन्छ ।
मच्छेन्द्रनाथ सम्वन्धी कथ्य र तथ्य शीर्षकको लेखमा भमरा रुपी मत्स्येन्द्रनाथलाई कलशमा हाल्दा राजा नरेन्द्रदेवलाई बन्धुदत्त आचार्यले खुट्टाले घचेटेको कुरा उल्लेख गर्दै इतिहासमा नरेन्द्रदेव नामको राजा पाच जना थिए त्यस मध्ये दोस्रो नरेन्द्रदेवको पालामा मच्छेन्द्रनाथ ल्याएको संभावना छ भन्ने भुवनलाल प्रधानको मत छ ।
निष्कर्ष
नेपालको सबभन्दा पुरानो वंशावली गोपालराज वंशावली हो । यो वंशावलीले जति सन्देह निवारण गर्दछ त्यति सस्कृतिविद्हरुको मतले निवारण गर्दैन । गोपालराज वंशावलीमा नरेन्द्रदेवको पालामा बुंगमलोकेश्वरको जात्रा चलाएको भनेर उल्लेख भएको स्पष्ट हुँदा हुँदै पनि यसलाई महत्व नदिई कलिगत ३६७६ लाई महत्व दिनु गलत हो । नरेन्द्रदेवको पालामा चलिरहेको संवत् ६७ देखि १०३ अभिलेखको के अर्थ ? यदि ३६७६ नै आधिकारिक मिति मान्नु भनेको इतिहास भाँडमा जावस् भन्नु हो । यसरी इतिहासलाई अन्धकारमा धकेलेर कामारुकामाक्षाबाट मछिन्द्रनाथ ल्याएको कथामा रुमलिएर बस्नु पनि गलत हो ।
यो वंशावलीमा नरेन्द्रदेवको ३५ वर्ष शासन गरेको भनेर स्पष्ट दिइएको छ र अभिलेखले पनि ३६ वर्ष शासन गरेको देखिएको छ । इतिहासमा नरेन्द्रदेव नाम भएका अरु पनि राजा देखा परे तर दोस्रो र तेस्रो नरेन्द्रदेवले ३५। ३६ वर्ष शासनगरेको पुष्टि नभएपनि हुने भनेको इतिहासलाई अन्धकारमा धकेल्नु हो । किनभने मछिन्द्रनाथको अवधारणा लिच्छविकालमा आइसकेको देखाउने आधार छैन तर अवलोकितेश्वर पहिले देखि विद्यमान छ। त्यसैले नाम मात्र नरेन्द्रदेव भएपुग्ने दोस्रो ,तेस्रो र चौथो नरेन्द्रदेव जो भएपनि हुने जस्तो कथाले मागेको पात्र अपनाउनु पनि गलत हो । यिनीहरु इतिहासले मागेको पात्र होइनन् भनेर बुझ्न नचाहेको अवस्था छ ।
नरेन्द्रदेव प्रथमको पालामा बुंगमलोकेश्वरको जात्रा चलाएको कुरा यो वंशावलीमा प्रष्ट बोलेको छ । जात्रा चलाएको कुरा र देवता नै कामारुकामाक्षबाट ल्याएको कुरा भिन्न विषय हुन् ।जात्रा चलाउनुको अर्थ नेपालमा पहिले दखि विद्यमान रहेको र जात्रा मात्र पछि भएको घटनालाई राम्रोसंग प्रकाश पारेको हुँदा हुँदै पनि यसलाई महत्व नदिइ कलशमा राखेर ल्याएको कपोलकल्पित कथामा मात्रै जोड दिइरहनु गलत हो ।
बुंगमलोकेश्वर रातो वर्णको देवता अवश्य हो । मध्यकाल र लिच्छविकालमा रातोमछिन्द्रनाथ भनिएको उल्लेख कतैछैन । यो रातो मछिन्द्रनाथको भोटो जात्रा भनेर बोलीचालीमा चलन चल्ती शाहकालमा चलेको भाषाबाट कहलिएको हो । अभिलेखहरुमा प्राय अवलोकितेश्वर करुणामय लोकनाथ आदि उल्लेख भएको र वंशावलीहरुमा पनि बुंगमलोकेश्वर कहलिने गरेको मात्र देखिन्छ । प्राचीन स्रोतमा रातोमछिन्द्रनाथ कतै उल्लेख छैन ।
राजा नरेन्द्रदेवको समकालिक आचार्य बन्दुदत्त हुनु जरुरी छ । यस वंशावलीमा नरेन्द्रदेव र बन्दुदत्त समकालिक उल्लेख गरेको छ । इतिहासलाई अन्धकारमा धकेल्नेहरुले बन्धुदत्त शान्तिकर वज्राचार्यको चेला भनेर भन्ने शान्तिकर वज्राचार्य गुणकामदेवको समकालिक बताउने र गुणकामदेव दशौं शताव्दीको बताउने गर्दै आएका छन् । फेरि बन्धुदत्त आचार्यलाई समकालीन स्रोतमा वज्राचार्य कतै भनिएको छैन र बौद्ध आचार्य पनि भनिएको छैन । इतिहासलाई अन्धकारमा धकेल्ने र कथालाई आफनो धारणा अनुकूलको बनाउन तोडमरोड गर्दै आएको छ । यो कृयाकलाप बिल्कूल गलत हो ।
गोपालराज वंशावली जसले लेखे उसलाई बुंगमतीमा विराजमान भएर रहेको वर्ष र सहकालका देवता लाई उनले बुंगमलोकेश्वर भनेर मात्र थाहा छ भन्नेपनि स्पष्ट छ । त्यसैले इतिहासबाट नजिक भएर अध्ययन गर्न चाहनेहरुले यी सबै कुरा महत्व दिएर हेर्नु जरुरी छ । त्यसकारण कोही पनि अनुसन्धान कर्ताहरुले कथाको पक्षधर भएर इतिहास बिगार्ने कार्य गर्नु हुँदेन । इतिहासको लेखाजोखागर्नेहरु बिल्कूल निस्पक्ष हुनुजरुरी छ । कमसेकम रातो मछिन्द्रनाथको बारेमा जे जति जानेको छ र त्यसमा यदि रुची राख्न चाहन्छ भने कथालाई होइन विद्यमान रहेको प्रमाणमा टेक्ने गरौं । अस्वभाविक ढंगले पुच्छरको रुपमा जोडिन ल्याएको कलिगत ३६७६ लाई दिमागबाट सदाकालागि झिकेर फाल्नु जरुरी छ । मुखले बोल्नु र प्रमाणको सतहमा बसेर पुष्टि गरेर देखाउनु धेरै फरक कुरा हो । श्री करुणामयले सबैको दिमागमा ज्ञानको ज्योति भरि देओस् ।