काठमाडौं।श्री करुणामयअवलोकितेश्वर पद्मपाणि बुंग द्यः (रातो मच्छिन्द्रनाथ)लाई आज अक्षय तृतीया बुधबार पुच्वः (पुल्चोक) देखि गाःबहालसम्म रथतान्ने कार्यकम रहेको छ।

हरेक वर्ष बैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली श्री करुणामयलाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो।पद्मपाणि लोकश्वर बुंग द्यः (रातो मच्छिन्द्रनाथ)को मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई विराजमान गराएपछि विधिवत रुपमा श्री करुणामयको जात्रा सुरु भएको मानिन्छ।सो कार्य गत सोमबार सकिएको छ।
नेपाल मण्डलका करुणामय अवलोकितेश्वरका उहाँ चार रूपहरू मध्ये एक रूप हुनुहुन्छ। चार करुणामयका रूपमाअवलोकितेश्वर बोधिसत्त्वको रूप र स्थान १. बुङ्मति – रक्त आर्यावलोकितेश्वर, २. चोभार – आनन्दादी लोकेश्वर, ३. जनबहाः, – अमोघपाश लोकेश्वर र ४. नाला, भक्तपुर – सृष्टिकान्त लोकेश्वर। भोट, र चीन जस्तै नेपाललाई पनि अवलोकितेश्वरले नै रक्षा गरिरहनु भएको जन विश्वास पाईन्छ।
श्री करुणामयलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो। मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ। पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ। मूर्तिलाई रथमा राखेको तीन दिन (अक्षय तृतीया)मा पुल्चोकबाट रथ तानेर गाःबहालसम्म पुर्याईन्छ। रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ। जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने गरेको छ।
भोटोजात्रा सकिएपछि पद्मपाणि लोकश्वर बुंग द्यः (रातो मच्छिन्द्रनाथ)को मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको बहालमा पुर्याई विराजमान गराइन्छ।उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको पद्मपाणि लोकश्वर बुंग द्यः (रातो मच्छिन्द्रनाथ)को रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।