काठमाडौं । सरकारले सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने तयारी गरेको छ ।
सरकारी अधिकारीहरुले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फाइल मुभमेन्ट ट्र्याकिङ सिस्टम’ नामक प्रणाली ल्याउने तयारी गरेको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै फाइल ट्रयाक गर्ने प्रणाली कार्यान्वयनका लागि तयार भइसकेको बताएका थिए ।फाइल रोकेर एक ठाउँमा राखिरहने कुरा अब सह्य नहुने भन्दै उनले फाइल कुन ठाउँमा गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने गरी प्रणाली बनाउन लागेको बताएका थिए ।
‘फाइल रोकेर एक ठाउँमा बस्ने , यस्ता कुराहरु अब सुन्न पाईने छैनन्, फाइल फटाफट सर्छ । अहिले हामीले एउटा सिस्टम विकास गरेका छौं, कि एक ठाउँबाट सुरु भएको फाइल कहाँ पुगेर बसेको भन्ने प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ’, प्रधानमन्त्री ओलीले शनिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने ।
स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट यसको कार्यान्वयन थालिनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले फाइल ट्रयाकिङ सिस्टम परीक्षणको अन्तिम तयारी भइरहेको छ ।
त्यहाँको अभ्यास र सिकाइलाई आधार बनाएर क्रमशः सिंदरबारभित्रका मन्त्रालय र निकाय हुँदै सबै सरकारी कार्यालयमा यस्तो प्रणाली लागु गर्ने योजना सरकारको छ ।