
काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले शिक्षाविद् तथा अभियन्ता सोनम वाङ्चुकको अनिश्चितकालीन आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन् । साथै उनले चलचित्र ‘थ्री इडियट्स’ मा रहेको चर्चित पात्र ‘राञ्चो’ सोनम वाङ्चुकबाट प्रेरित भएको भन्ने चर्चा गलत भएको पनि स्पष्ट पारेका छन् ।
लन्डन भारतीय चलचित्र महोत्सवमा चलचित्र ‘लगान’ प्रदर्शनका क्रममा दर्शकसँगको अन्तरक्रियामा आमिरलाई सोनम वाङ्चुक र उनको आमरण अनशनबारे प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले ‘थ्री इडियट्स’ निर्माण भइरहेको समयमा आफू, निर्देशक राजकुमार हिरानी वा लेखक अभिजात जोशीमध्ये कसैले पनि सोनम वाङ्चुकलाई नचिनेको बताए । हालै एउटा भिडियोमा यस्तो दाबी गरिएको देखेको उल्लेख गर्दै उनले त्यो सत्य नभएको स्पष्ट गरे । यद्यपि आमिरले सोनम वाङ्चुकले शिक्षा सुधारका क्षेत्रमा गरिरहेको कामको खुलेर प्रशंसा गरे । कुनै चलचित्रको पात्रसँग उनको सम्बन्ध जोड्नैपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै उनले वाङ्चुक आफ्नै योगदानका कारण सम्मानका पात्र भएको बताए ।
सोनम वाङ्चुकको स्वास्थ्य अवस्थाबारे बढ्दो चिन्ताका विषयमा आमिरले आफूहरू सबै चिन्तित रहेको बताए । उनले वाङ्चुकको स्वास्थ्य राम्रो रहोस् भन्ने कामना गर्दै सकेसम्म उनले आमरण अनशन अन्त्य गर्ने आशा व्यक्त गरे ।
लद्दाखका प्रख्यात इन्जिनियर, नवप्रवर्तनकर्ता तथा शिक्षा सुधार अभियन्ता सोनम वाङ्चुक गत जुन २८ देखि नयाँ दिल्लीको जन्तर–मन्तरमा अनिश्चितकालीन आमरण अनशनमा बसेका छन् । ‘आइस स्तूप’ प्रविधिका लागि चर्चित तथा रेमन म्यागसेसे पुरस्कार विजेता वाङ्चुकले शिक्षा प्रणालीमा स्पष्ट जवाफदेहिता सुनिश्चित नभएसम्म आफ्नो अनशन जारी रहने बताएका छन् ।



