
जयराम बिडारी,काठमाडौँ । वरिष्ठ समालोचक, निबन्धकार तथा कथाकार एवं पूर्व प्रशासक गोपी मैनालीद्वारा लिखित नवीन कृति ‘विचार र विचरण’ एक विशेष समारोहका बीच राजधानीमा लोकार्पण गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा.डा.अभि सुवेदी ,प्रा.डा.खगेन्द्र लुईंटेल लोकसेवाका पूर्व अध्यक्ष उमेश मैनाली, प्राज्ञ दिनेशराज पन्त,युवराज मैनाली,वसन्त बस्नेत र बासुदेव ढकालले कृति एकसाथ लोकार्पण गरे ।
प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा वटुकहरुद्वारा स्वस्ति वाचन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले समालोचनात्मक चेतना नै वास्तविक सिर्जनशीलता भएको धारणा राखे । उनले गोपी मैनालीको लेखनमा समालोचनात्मक र सिर्जनशील सोचको सही र सन्तुलित प्रयोग रहेको औंल्याउँदै कुनै पनि विधा, विषय वा गद्य ढाँचामा लेखिएको भए तापनि उत्कृष्ट पुस्तकमा काल्पनिक र प्रतीकात्मक लेखनको संयोजन रहेको बताए । डा. सुवेदीले मानव जीवन र घटनाका अनेकौँ प्रवाहहरूलाई सिर्जनशीलताको कसीमा राखेर प्रस्तुत गर्न सक्नु नै मैनालीको असली विशिष्टता र पहिचान भएको प्रस्ट पार्दै यस महत्वपूर्ण कृतिको सफलताको कामना गर्दै लेखकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रमका वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइँटेलले ‘सर्जक मात्र महान् हुन् र समालोचकको कुनै भूमिका हुँदैन’ भन्ने सङ्कुचित भ्रमबाट मुक्त हुनुपर्ने बताउँदै ३७ वटा लेखहरु समेटिएको मैनालीका विचार र विचरण कृतिमा अक्षर भन्दा बढी जीवन दर्शनलाई प्राथमिकतामा रखेको औंल्याए । समकालीन साहित्यमा देखा परेका ‘खेताला लेखन’ को विकृतिप्रति तिखो व्यङ्ग्य गर्दै मैनालीको सशक्त लेखनकलाका हिसाबले कृति सफलताको शुभकामना व्यक्त गरे ।
सोही क्रममा अर्का विश्लेषक वसन्त बस्नेतले आफ्नो अमेरिका भ्रमणका क्रममा त्यहाँका सेवा-निवृत्त नागरिकहरूले जुवाघर हरूमा समय व्यतीत गरिरहेको देखेको संस्मरण सुनाए । त्यसको तुलनामा पूर्व प्रशासक मैनालीको यो सिर्जनशील, सक्रिय र काव्यिक सफर उदाहरणीय रहेको उल्लेख गरे । उनले विचार र विचारण कृतिले समाजलाई सकारात्मक गति प्रदान गर्ने विचार व्यक्त गर्दै गोपी मैनाली नेपाली साहित्य क्षेत्रका एक निरन्तर क्रियाशील र विशिष्ट प्रतिभा भएको चर्चा गरे ।
कार्यक्रममा बोल्दै प्राज्ञ दिनेशराज पन्तले पत्रपत्रिकामा निरन्तर आइरहने गोपी मैनालीका लेखहरू प्रामाणिक र गहन हुने गरेको उल्लेख गरे ।
प्राज्ञ पन्तले गोपी मैनालीका यसअघि प्रकाशित पुस्तकहरूको गहन अध्ययनका आधारमा यो नयाँ कृति पनि अत्यन्त अब्बल र विशिष्ट ठहरिने विश्वास व्यक्त गर्दै प्रत्येक व्यक्ति समाजमा आफ्नै स्वाभिमान र सिर्जनशील पहिचानका साथ स्थापित हुनुपर्नेमा जोड दिए ।
पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष रामबाबु नेपालले सुयोग्य प्रशासक, लेखक र प्रशिक्षकका रुपमा सुपरिचित मैनालीको कृति सफलताका लागि शुभकामना व्यक्त गरे ।
मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले लेखक मैनालीको लेखनशैलीलाई ‘जादुमयी’ संज्ञा दिँदै एक रोचक एवं ठट्यौलो विचार प्रस्तुत गरे । उनले ठट्टाको शैलीमा भने ,’द्रव्याभिलाषी नभएका लेखक मैनालीले कृति लोकार्पणको यस विशेष अवसरमा पाठकहरुलाई पुस्तक निःशुल्क वितरण गरिदिएको भए, पठन संस्कृति कमजोर भएका पाठकहरू समेत अध्ययनतर्फ आकर्षित भई लाभान्वित हुने थिए ।’
भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थी र महिला अधिकारकर्मी सरु जोशीले पनि गोपी मैनालीको प्रशासनिक दक्षताको प्रशंसा गर्दै समालोचनात्मक अन्वेषण कृति ‘विचार र विचरण’को सफलताको शुभकामना व्यक्त गरे ।
लोकसेवाका पूर्व अध्यक्ष उमेश मैनालीले सामान्यतया रुखो मानिने प्रशासनिक क्षेत्रमा कृयाशिल रहँदा रहँदै पनि साहित्यिक उन्नयनका निम्ति कलम चलाउन सक्ने गोपी मैनालीको कुशल प्रशासनिक निष्ठा र उनको उच्चकोटीको साहित्यिक तथा समालोचकीय सामर्थ्य अनुकरणीय रहेको भन्दै कृति सफलताको शुभकामना व्यक्त गरे ।
लेखकीय मन्तव्य राख्दै सर्जक गोपी मैनालीले आख्यान र समालोचनाको प्राविधिक भिन्नता कस्तो हुनुपर्छ भन्ने भन्दा पनि, समाजले साहित्यलाई र साहित्यले समाजलाई कस्तो योगदान दिनुपर्छ भन्ने वैचारिक प्रयोग नै आफ्नो मुख्य अभिष्ट रहेको बताए । वि.स.२०३८ सालदेखि सुरु भएको आफ्नो लेखन यात्रा हालसम्म पनि निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यस सफरलाई शिक्षा,प्रयोग र जीवनबोधको एक अविरल प्रक्रियाका रूपमा चित्रण गरे ।
कार्यक्रमका सभापति तथा लोकार्पण समारोहका आयोजक एवं प्रकाशक बासुदेव ढकालले कार्यक्रमलाइ सम्बोधन गर्दै कोरोनाकाल पछि सुस्ताएका अन्य व्यवसायिक क्षेत्र जस्तै प्रकाशन संस्थाले पनि गति लिन नसकिरहेको बताए । उनले गोपी मैनाली जस्ता स्थापित स्रष्टाको पुस्तक प्रकाशनका लागि योग्य सम्झिएकामा आभार व्यक्त गरे ।
सुष्मा पण्डित मैनालीद्वारा स्वागत गरिएको सो कार्यक्रमको सहजीकरण कवि तथा पत्रकार ठाकुर बेलबासेले गरेका थिए ।



