
नेपालको पर्यटनको मुटु मानिने ठमेल केवल व्यापारिक केन्द्र मात्र होइन, विश्वभरका पर्यटकको रोजाइमा पर्ने सांस्कृतिक र आतिथ्यको परिचय बोकेको गन्तव्य पनि हो । ठमेलको विकाससँग काठमाडौँको पर्यटन र समग्र नेपालको पर्यटन उद्योग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । ठमेल केवल काठमाडौंको पर्यटकीय केन्द्र मात्र नभई नेपालको पर्यटन उद्योगको धड्कन पनि हो । दिनभर विदेशी पर्यटकको चहलपहल र रातभर झिलिमिली बत्तीले चम्किने ठमेल यतिबेला चुनावी माहोलले तातेको छ ।
विदेशी पर्यटकको पहिलो रोजाइ मानिने ठमेलमा अहिले व्यवसायिक प्रतिस्पर्धाभन्दा पनि पर्यटनको भविष्य, गन्तव्यको ब्रान्डिङ र व्यवसायीको साझा नेतृत्वको बहसलाई केन्द्रमा राख्दै ठमेलका पर्यटन व्यवसायीहरु ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा होमिएका छन् । यसपटकको चुनावलाई केवल नेतृत्व परिवर्तन नभई ठमेलको आगामी दुई वर्षे दिशा तय गर्ने लक्ष्यसहित प्रश्रय राजभण्डारीको समुह निर्वाचनमा होमिएको छ । ठमेल क्षेत्रमा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न राजभण्डारी नेतृत्वमा चुनावी मैदानमा उत्रिएको संयुक्त प्यानलले आफ्नो बलियो उपस्थिति देखाएको छ ।
इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातक गरेर बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका राजभण्डारी यस ठमेल पर्यटन विकास परिषद्का पूर्व उपाध्यक्ष हुन् । ठमेलको सुरक्षा, सरसफाइ, ट्राफिक व्यवस्थापन, रात्रिकालीन पर्यटन, डिजिटल प्रवद्र्धन, पूर्वाधार सुधार र सरकारी निकायसँग प्रभावकारी समन्वयलाई आफ्नो मुख्य चुनावी प्रतिबद्धता बनाउँदै विगतका उपलब्धि र आगामी योजनालाई लिएर मतदातामाझ पुगेको उनले जनाएका छन् ।
यही महत्वपूर्ण क्षेत्रको नेतृत्व चयन गर्ने निर्वाचनको सन्दर्भमा आज इखवरनेटले अध्यक्षका बलिया उम्मेदवार राजभण्डारीसँग उनको आगामी योजना, प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धतालाई केन्द्रमा राखेर अन्तरवार्ता र संवाद गरेको छ । प्रस्तुत छ प्रश्रय राजभण्डारीसँग गरिएको कुराकानी
तपाईं किन ठमेल पर्यटन विकास परिषद्को नेतृत्व गर्न चाहनुहुन्छ?
ठमेल नेपालको पर्यटनको प्रमुख केन्द्र हो । मैले परिषद्मा काम गर्दा प्राप्त अनुभवलाई अब ठमेलको दीर्घकालीन विकासमा प्रयोग गर्न चाहन्छु । मैला यहाँका व्यवसायीका समस्या, चुनौती र सम्भावना मैले वर्षौंदेखि नजिकबाट देख्दै आएको छु । परिषद्को नेतृत्वमार्फत व्यवसायीको साझा आवाजलाई बलियो बनाउने, सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने र ठमेललाई अझ व्यवस्थित, सुरक्षित तथा अन्तर्राष्ट्रिय स्तरको पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै ठमेलको दीर्घकालीन विकासका लागि पर्यटन व्यवसायीलाई एकताबद्ध गर्दै ठमेलको ब्रान्डिङ, पूर्वाधार सुधार, डिजिटल प्रवद्र्धन र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट योजनासहित मैले उम्मेदवारी दिएको छु ।
निर्वाचित भए पहिलो प्राथमिकतामा गर्ने प्रमुख तीन काम के–के गर्नुहुन्छ ?
म ठमेलको विकासका लागि दृष्टिकोण, योजना, नेतृत्व क्षमता र जवाफदेहितालाई प्रामिक्तामा राखेर निर्वाचनमा होमिएको छु । मलाई पर्यटन व्यवसायीहरुले परिषद्को नेतृत्वमा पठाउनुभयो भने पहिले ठमेलको सुरक्षा, सरसफाइ, सडक व्यवस्थापन र सडकबत्ती जस्ता आधारभूत पक्ष सुधार गर्न काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्नेछु । दोस्रोमा ठमेलको अन्तर्राष्ट्रिय ब्रान्डिङलाई नयाँ ढंगले अघि बढाउनेछु । डिजिटल प्रवद्र्धन, अन्तर्राष्ट्रिय ट्राभल फेयरमा सहभागिता र विदेशी पर्यटन बजारसँग साझेदारी बढाएर बढी पर्यटक भित्र्याउने प्रयास गर्ने छु । त्यस्तै, पर्यटन व्यवसायी र ठमेलका घरबेटीका साझा समस्या समाधान गर्न परिषद्लाई अझ सक्रिय बनाउने छु । होटल, रेस्टुरेन्ट, ट्रेकिङ, ट्राभल, हस्तकला लगायत सबै क्षेत्रका व्यवसायीलाई समेटेर नियमित संवाद, तालिम र नीतिगत पहलमार्फत व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिक्ता दिनेछु ।
ठमेलमा विदेशी पर्यटकको संख्या र बसाइ अवधि बढाउन तपाईंको ठोस योजना के छ?
ठमेलमा पर्यटकको संख्या बढाउन मात्र होइन । पर्यटकको बसाइ अवधि पनि लम्ब्याउनुपर्ने आवश्यकता छ । त्यसका लागि पहिलो, ठमेलको अन्तर्राष्ट्रिय ब्रान्डिङलाई नयाँ ढंगले अघि बढाउँन्छु । डिजिटल प्लेटफर्म, अन्तर्राष्ट्रिय ट्राभल फेयर र विदेशी ट्राभल अपरेटरसँग सहकार्य गरेर ठमेलको प्रचारलाई प्रभावकारी बनाउने छु । त्यस्तै, पर्यटकलाई ठमेलमै थप समय बिताउन आकर्षित गर्ने गतिविधि बढाइनेछ । सांस्कृतिक कार्यक्रम, लाइभ म्युजिक, स्थानीय खानाको प्रवद्र्धन, कला प्रदर्शनी, हेरिटेज वाक, नाइट टुरिज्म र विभिन्न उत्सवलाई नियमित बनाइने छ । होटल, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, एयरलाइन्स र अन्य पर्यटन व्यवसायीसँग मिलेर पर्यटकको बसाई लम्बाई बढाउने योजना सार्वजनिक गर्नेछु ।
ठमेलका पर्यटन व्यवसायीले अहिले भोगिरहेका सबैभन्दा ठूलो समस्या के हो? त्यसको समाधान कसरी गर्नुहुन्छ?
अहिले ठमेलका पर्यटन व्यवसायीले भोगिरहेका मुख्य समस्या भनेको व्यवसाय सञ्चालन लागत बढ्दै जानु, पर्यटकको खर्च गर्ने क्षमता घट्नु, अव्यवस्थित सडक तथा पूर्वाधार, पार्किङको अभाव, सुरक्षा प्रमुख चुनौतीका रुपमा देखिएका छन् ।म परिषद्को अध्यक्षमा निर्वाचित भएपछि सबैभन्दा पहिले व्यवसायीका समस्या सुन्न र समाधानका लागि नियमित संवाद संयन्त्र बनाउँछु । काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरेर पूर्वाधार सुधार, सुरक्षा व्यवस्थापन र व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिनेछु । साथै, परिषद्लाई केवल औपचारिक संस्था नभई व्यवसायीको अधिकार र हितका लागि प्रभावकारी रूपमा आवाज उठाउने साझा मञ्चका रूपमा विकास गर्ने मेरो लक्ष्य रहेको छ ।
परिषद्को आम्दानी–खर्च र निर्णय प्रक्रियालाई पारदर्शी बनाउन तपाईं के गर्नुहुन्छ?
सुशासन, पारदर्शिता र जवाफदेहितासहित मेरो प्यानल निर्वाचनमा होमिएको छ । त्यसकारण परिषद्मा पारदर्शिता र सुशासन मेरो पहिलो प्रतिबद्धता हुनेछ। आम्दानी–खर्चको विवरण नियमित रूपमा सदस्यलाई सार्वजनिक गर्ने व्यवस्था मिलाइने छु । महत्वपूर्व निर्णयहरू अध्यक्षले मात्र नभई कार्यसमिति र सदस्यहरूको सहभागितामा गरिने छ । परिषद्का निर्णय, कार्यक्रम, बजेट र प्रगति विवरण डिजिटल माध्यम तथा नियमित बैठकमार्फत सदस्यलाई जानकारी गराइने छु ।
ठमेलको सुरक्षा, सरसफाइ र ट्राफिक व्यवस्थापन सुधारका लागि तपाईंको कार्ययोजना के छ?
काठमाडौँमा अवतरण भएका हरेक पर्यटक ठमेल पर्यटन पुगेकै हुन्छन् । ठमेल हाम्रो प्रमुख पर्यटकिय गन्तव्य भएकाले यहाँको पहिलो छाप नै सुरक्षा, सरसफाइ र व्यवस्थापनबाट पर्छ । त्यसले सुरक्षाको हकमा नेपाल प्रहरी, पर्यटन प्रहरी र काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर पर्यटकमैत्री सुरक्षा व्यवस्था, थप सीसीटीभी, सडकबत्ती र सूचना प्रणाली विस्तार गर्ने पहल गर्नेछु ।
सरसफाइका लागि स्थानीय समुदाय, व्यवसायी, महानगरसँग मिलेर नियमित सरसफाइ अभियान, फोहोर व्यवस्थापन र सार्वजनिक शौचालयको प्रभावकारी सञ्चालनमा जोड दिनेछु । त्यस्तै, ट्राफिक व्यवस्थापनतर्फ सवारी व्यवस्थापनलाई व्यवस्थित गर्दै पार्किङ समस्याको समाधान खोज्ने र सम्बन्धित निकायसँग समन्वय गरी पर्यटकलाई सहज आवागमनको वातावरण बनाउने काम गर्नेछु ।
अघिल्ला नेतृत्वबाट के सिक्नुभयो, र तपाईंले के फरक गर्नुहुन्छ?
हरेक नेतृत्वबाट सिक्ने कुरा हुन्छ । अघिल्लो कार्यसमितिमा हुँदा ठमेलको पर्यटन प्रवद्र्धन, विभिन्न कार्यक्रम आयोजना र सरकारी निकायसँग समन्वय गर्ने प्रयास गरेको छु । त्यसका लागि उहाँहरूको योगदानको सम्मान गर्छु । तर अहिलेको आवश्यकता अझ परिणाममुखी नेतृत्वको आवश्यकता रहेकाले मेरो नेतृत्व सीमित व्यक्तिमा मात्रै सिमित नराखेर सबै व्यवसायीको साझा संस्था बनाइनेमा जोड दिनेछु । निर्णय प्रक्रिया थप खुला र पारदर्शी बनाइने छु । सदस्यसँग नियमित संवाद हुने छ र गरेका प्रतिबद्धताको प्रगति सार्वजनिक गर्नेछु । नतिजामा जोड दिनेछु ।
अन्त्यमा, मतदाताले किन तपाईंलाई नै मतदान गर्नुपर्छ?
मतदाताले मलाई व्यक्तिलाई होइन, हाम्रो समावेशी प्यानल, प्यानलमा रहेका उम्मेदवारको योग्यता, दृष्टिकोण, अनुभव र कार्ययोजनालाई हेरेर मतदान गर्नुहुन्छ । हामी परिषद्लाई सबै व्यवसायीको साझा संस्था बनाउने, पारदर्शी ढंगले सञ्चालन गर्ने र परिणाममुखी नेतृत्व दिने प्रतिबद्धतासहित निर्वाचनमा होमिएका छौ । म र मेरो प्यानलको प्राथमिकता चुनाव जित्नु मात्र होइन, ठमेलको समग्र विकास हो । व्यवसायीका समस्या समाधान, पर्यटन प्रवद्र्धन, सरकारी निकायसँग प्रभावकारी समन्वय र ठमेलको अन्तर्राष्ट्रिय पहिचानलाई अझ सशक्त बनाउने स्पष्ट योजना हामी सँग छ । त्यसैले म र मेरो प्यानललाई विश्वास गर्ने मतदाताको विश्वासलाई कामबाट प्रमाणित गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
प्यानलको बलियो उपस्थिति
आगामी २७ गते शनिबार हुने ठमेल पर्यटन विकास परिषद्को २०२६ को चुनावका लागि अध्यक्षका बलिया उम्मेदवार प्रश्रय राजभण्डारीको नेतृत्वको संयुक्त प्यानलले आफ्नो बलियो उपस्थिति देखाएको छ ।
आम व्यवसायी र मतदाताहरू माझ लोकप्रिय, कर्मठ र समावेशी अनुहारहरू समेटिएका कारण यस पटक प्रश्रय राजभण्डारी समूहको जित्ने सम्भावना निकै प्रवल देखिएको विश्लेषकहरूको ठहर छ ।
ठमेलको समग्र विकास, व्यवसायीहरूको हकहित र पर्यटन प्रवद्र्धनका एजेन्डाहरू स्पष्ट रूपमा अघि सारेकाले पनि यो समूह अन्यभन्दा बलियो प्रतिस्पर्धीका रूपमा देखिएको छ । यस समावेशी प्यानलबाट विभिन्न महत्वपूर्ण पदहरूमा कुशल र अनुभवी व्यवसायीहरूले उम्मेदवारी दिएका छन् ।

चुनावी मैदानमा उत्रिएका पदाधिकारीहरूमा अध्यक्षमा प्रश्रय राजभण्डारी, प्रथम उपाध्यक्षमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रयास श्रेष्ठ, तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवः पून्य राम लागेजु ,सचिवमा प्रकाश थपलिया, कोषाध्यक्षमा रोशन अधिकारी रहेका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यका उम्मेदवारहरूमा कमल अर्याल, सोजेश मालाकार, नविन तामाङ, पुर्णिमा मालाकार, लाल बाबु चौधरी, गोबिन्द कुमार श्रेष्ठ, मीरा अधिकारी र सोमै कुमार बानिया (आलोक) रहेका छन् ।



