
काठमाडौँ । जल तथा मौसम विज्ञान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भाग, साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भु-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।


