
नेपालमा विभिन्न समयमा प्रतिष्ठित इतिहासकारहरू आउनुभयो र आफ्नो समय पूरा गरेर बिदा हुनुभयो। तर, इतिहासका कतिपय क्षेत्रमा अझै पनि केही भ्रमहरू कायम छन्। ती भ्रामक बुझाइहरूलाई हटाउनुको सट्टा कतिपय अवस्थामा तिनैलाई मलजल गर्ने काम भएको देखिन्छ। यस्ता अस्पष्टताहरूलाई चिर्नुपर्छ भन्ने मत राख्नेहरू भन्दा, स्थापित पुराना मान्यताहरूलाई नै निरन्तरता दिन चाहने वर्गले महत्त्वपूर्ण स्थान ओगटिरह्यो। यद्यपि, ‘सत्य डग्दैन र झूठ टिक्दैन’ भन्ने उखान झैँ, अहिले ती पुराना र त्रुटिपूर्ण मान्यताहरूको जग कमजोर हुन थालेको छ।
अब पर्याप्त आधारविना वेदाङ्ग ज्योतिष वा सुमतितन्त्रको मात्र दुहाई दिएर बस्ने परिस्थिति छैन। त्यस्तै, वराहमिहिर, आर्यभट्ट वा भास्कराचार्यका सिद्धान्तलाई हामीले मात्र सही ढङ्गले बुझेका छौँ भनी दाबी गर्ने समय पनि अब रहेन। अहिले यी शास्त्रीय विषयहरूलाई ठोस प्रमाणसहित इतिहासको मैदानमा स्पष्ट रूपमा राख्न सक्ने व्यक्तित्वहरूको अभाव खड्किएको छ। इतिहासका पाना पल्टाउँदा थुप्रै भ्रमहरू गढिएर बसेको पाइन्छ। ती सबैको चर्चा यहाँ सम्भव नभए पनि केही प्रमुख विषयहरूमाथि यहाँ वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ।
१. पृथ्वीनारायण शाह र संवत्को प्रयोगसम्बन्धी अन्योल
सन् १७६९ मा काठमाडौँ उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले नेपालसंवत्को सट्टा शकसंवत् प्रयोग गर्न थाले भन्ने मत राख्नेहरूको सङ्ख्या ठुलो छ। यसैलाई हामी इतिहासमा गढिएर बसेको एक प्रमुख भ्रम मान्न सक्छौँ।
वास्तवमा, पृथ्वीनारायण शाहले कान्तिपुरको सिंहासनमा आरूढ भएपछि आफ्ना पूर्खाहरूले व्यवहार गर्दै आएको संवत् नै प्रयोग गरेका थिए। यसो गर्दा इतिहासको क्रम भङ्ग भएको ठहरिँदैन, किनभने उनले लिच्छविकालदेखि चलिआएको नेपालको परम्परागत प्राचीन संवत्लाई नै निरन्तरता दिएका हुन्। यो विषयलाई गहिरोगरी नबुझ्नेहरूले गणितीय पक्षलाई ख्याल नगर्दा उनले शकसंवत् प्रयोग गरे भनी व्याख्या गरे। गणितीय दृष्टिले हेर्दा, नेपालसंवत् ८८८ मा पृथ्वीनारायण शाह कान्तिपुरको सिंहासनमा बसेका हुन्। त्यसबेला उनले पूर्खादेखि चलनमा रहेको संवत् १६९० प्रयोग गरी तुरुन्तै मोहर (सिक्का) निष्कासन गरे। यहाँ १६९० र ८८८ बीचको वर्ष अन्तर स्पष्ट रूपमा ८०२ देखिन्छ। यो गणितीय यथार्थलाई नबुझी जथाभावी भ्रम फैलाउनु उपयुक्त हुँदैन, किनभने शकसंवत् र नेपालसंवत् बीचको अन्तर कुनै पनि हालतमा ८०२ वर्षको हुन सक्दैन।
यहाँ मुख्य त्रुटि १६९० लाई शकसंवत् मानेर त्यसमा १३५ जोडी वि.सं. १८२५ बनाउनेहरूबाट भएको देखिन्छ। यसरी व्याख्या गर्नेहरूले नेपालसंवत्को सुरुवात वि.सं. ९३६ कार्तिकमा भएको पनि मान्ने गर्छन्। यदि त्यसो हो भने, नेपालसंवत् १ को अवधि वि.सं. ९३६ कार्तिकदेखि वि.सं. ९३७ असोजसम्म रहेको स्वीकार्नुपर्छ। यहाँ विक्रमसंवत् र नेपालसंवत् बीच ९३५ वा ९३६ वर्षको अन्तर देखिने स्पष्ट कुरालाई नजरअन्दाज गरी ९३६ र ९३७ को अन्तर देखाई थप अन्योल सिर्जना गरियो। यही भ्रमलाई सच्याउनेतर्फ नलागी इतिहास संशोधन मण्डलले समेत आफ्नो स्थापनाकालदेखि यसै मतलाई प्रोत्साहन दिँदै आएको देखिन्छ। ‘पूर्णिमा’ पत्रिकाको अङ्क १ देखि अहिलेसम्मका विभिन्न लेख तथा कृतिहरू पहिल्याउँदा यो कुरा प्रत्यक्ष देख्न सकिन्छ।
नेपालसंवत्को सुरुवात अङ्क १ बाटै भएको हो। तर विक्रमसंवत्को दृष्टिकोणबाट मात्र हेर्दा नेपालसंवत् शून्य (०) बाट सुरु भएको जस्तो देखिन गयो र संशोधन मण्डलको निर्णयमा पनि त्यही प्रतिविम्बित भयो। पछि आउनेहरूले संशोधन मण्डलको उक्त निर्णयलाई अकाट्य मान्दै आए। सामान्य गणितीय ज्ञान भएको व्यक्तिले पनि वि.सं. ९३६ कार्तिकमा सुरु भएको नेपालसंवत्मा ९३६ नै जोड्ने गल्ती गर्दैन भन्ने सहजै बुझ्न सकिन्छ। कुनै पनि गणनाको सुरुवात १ बाटै हुने भएकाले नेपालसंवत्को सुरुवात पनि १ बाटै भएको हो। कसैको दृष्टिकोणमा त्यो शून्यबाट सुरु भएको देखिएकै भरमा त्यसलाई सही मान्न सकिँदैन।
गोरखाका राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको संवत् १६९०, नेपालसंवत्सँग ८०२ वर्षको फरक रहेको र लिच्छविकालदेखि निरन्तर चल्दै आएको नेपालको प्राचीन संवत् हो। यसलाई विक्रमसंवत् सिद्ध गर्नका लागि १३५ जोडेर वि.सं. १८२५ बनाउनु न्यायसङ्गत देखिँदैन। त्यसैले, पृथ्वीनारायण शाहले शकसंवत् प्रयोग गरेका थिए भन्ने भ्रमलाई इतिहासबाट हटाउनु आवश्यक छ।
२. नेपालसंवत् र विक्रमसंवत्को स्वरूप तथा तिथिको भ्रम
सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले चान्द्रमासमा आधारित तिथि पात्रोलाई विस्थापित गरी सौर्यमासमा आधारित विक्रमसंवत्को मिति लागू गरे र त्यसै बेलादेखि नेपालीहरू नेपालसंवत्बारे अनभिज्ञ हुन पुगे भन्ने धारणा पनि समाजमा व्यापक छ। यो पनि अर्को ठुलो भ्रम हो।
यस्तो बुझाइ राख्नेहरूको दिमागमा नेपालसंवत् विशुद्ध चान्द्रमासमा र विक्रमसंवत् विशुद्ध सौरमासमा आधारित संवत् हुन् भन्ने मात्र परेको देखिन्छ। तर, नेपालसंवत् कहिलेदेखि विशुद्ध चान्द्र र विक्रमसंवत् कहिलेदेखि विशुद्ध सौर संवत् ठहरिए, यसको ठोस प्रमाण के छ? यो पक्षमा भने ध्यान दिएको पाइँदैन। त्यति मात्र होइन, विक्रमसंवत् र नेपालसंवत् कुन-कुन शास्त्रीय आधार र पद्धति लिएर अघि बढेका छन् भन्ने न्यूनतम जानकारी राख्ने प्रयास पनि गरिएको देखिँदैन।
सर्वप्रथम के बुझ्नु अनिवार्य छ भने, विक्रमसंवत् केवल विशुद्ध सौरमास मात्र नभएर एक ‘चान्द्रसौर’ (Luni-Solar) वर्ष हो। त्यसैगरी, नेपालसंवत् पनि विशुद्ध चान्द्रमास मात्र नभई चान्द्रसौर वर्ष नै हो। यही प्राविधिक कुरा नबुझ्दा मानिसहरू भ्रमको जञ्जालमा फसेका हुन्।
मलमास वा पुरुषोत्तममास भनिने अधिकमासको प्रचलन केही सय वर्षयताको मात्र होइन, सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा नै यसको उल्लेख छ। सूर्यसिद्धान्त अनुसार सूर्य र चन्द्रमाको गतिको अन्तरलाई मिलाउनु नै अधिकमासको मुख्य उद्देश्य हो। यदि यो व्यवस्था नगरिने हो भने हाम्रा ऋतुहरू र महिनाहरूको सम्बन्ध बिग्रन्छ; उदाहरणका लागि, असार-साउनमा हुनुपर्ने वर्षा ऋतु बिस्तारै मङ्सिर-पुसतिर पर्न थाल्छ।
विक्रमसंवत् र नेपालसंवत् दुवै चान्द्रसौर संवत् भएकाले यी दुवैमा वार्षिक ३६५ दिनकै गणना आउँछ। अधिकमास भएको चान्द्र वर्षमा १३ महिना र ३९० दिनको परिकल्पना गरिए पनि व्यावहारिक चान्द्रसौर वर्षमा ३६५ वा ३६६ दिन मात्र हुन्छ; त्यहाँ १३ महिना वा ३९० दिन हुँदैन। विक्रमसंवत्मा तिथिको उल्लेख हुँदैमा त्यसलाई विशुद्ध चान्द्र वर्ष भन्न नमिल्ने जस्तै नेपालसंवत्मा पनि तिथि मात्र उल्लेख गरिएको आधारमा यसलाई विशुद्ध चान्द्र वर्ष भन्न मिल्दैन। किनभने यी दुवै संवत्मा तिथिका साथै संक्रान्तिहरू पनि समावेश गरिएका हुन्छन्। तिथि मात्र भएको विक्रमसंवत् वा नेपालसंवत्को परिकल्पना सम्भव छैन, किनकि दुवैलाई अधिकमासको उत्तिकै आवश्यकता पर्दछ।
• सौर वर्ष: पृथ्वीले सूर्यको एक परिक्रमा गर्न लगाउने समय करिब ३६५ दिन, ५ घडी, ४८ पला (अर्थात् ३६५.२५ दिन) हुन्छ।
• सौरमास: सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने समयलाई संक्रान्ति भनिन्छ। संक्रान्ति कहिले २९ दिन त कहिले ३२ दिन पार गरेपछि मात्र आउँछ। यस्ता संक्रान्तिहरू वर्षमा जम्मा १२ वटा हुन्छन्। यी १२ संक्रान्ति भित्र ३६५ वा ३६६ दिन मात्र समेटिन्छन्, १३ महिना वा ३९० दिन अट्न सक्दैनन्।
• सौर दिन: सौर दिनले सूर्योदय, तिथि र बार गरी तीनवटा विषय समाहित भएको समयलाई जनाउँछ। यदि कुनै तिथि एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म कायम रह्यो भने दुईवटा सूर्योदय देखिने हुनाले उक्त तिथि दुई दिन देखिन आउँछ। त्यस्तै, यदि कुनै तिथि उदय त भयो तर त्यसले अघिल्लो वा पछिल्लो कुनै पनि सूर्योदयलाई भेट्न सकेन भने त्यो तिथि ‘तुट’ (लोप) हुन्छ। यो कुरा पञ्चाङ्गकारहरूलाई राम्ररी थाहा छ।
तर, यति मात्र थाहा पाएर पर्याप्त हुँदैन। बिहान उज्यालो भए पनि यदि सूर्योदय भएको छैन भने बारको उदय भएको मानिँदैन। सूर्योदयसँगै बारको पनि उदय हुन्छ र त्यस बारले सूर्योदयकालीन तिथिलाई ग्रहण गर्दछ। त्यसैले, बारले एक सूर्योदयदेखि अर्को सूर्योदयसम्मको अवधिलाई बुझाउँछ। बारले सूर्योदयको समयमा जुन तिथि समात्यो, त्यसैलाई मात्र आधिकारिक मान्छ; दिउँसो वा बेलुका परिवर्तन हुने तिथिलाई बारले चिन्दैन। त्यसैले हाम्रा चाडपर्वहरूमा बारले समातेको तिथिलाई नै प्रधानता दिइन्छ, घडीपला अनुसार यति बजेदेखि उति बजेसम्म तिथि छ भन्ने कुरा त्यहाँ आकर्षित हुँदैन।
चाडपर्वहरूमा बारको प्रधानता हुन्छ भने साइत वा विशेष धार्मिक अनुष्ठानहरूमा मात्र घडीपला र समयको विचार गरिन्छ। यसरी सूर्योदय, बार र पावन तिथि यी तीनवटै अवयवको सम्मिश्रण भएपछि मात्र पर्व बन्दछ। आजकल यो शास्त्रीय नियममा ध्यान नदिई केवल तिथि परिवर्तन हुने समयलाई मात्र आधार मान्दा, “तिथि नै नभएको दिनमा कसरी चाडपर्व मनाउने?” भन्ने तर्क गर्नेहरूको जमात देखा परेको छ। जसरी एउटा पूर्ण घडी हुनका लागि सेकेन्ड, मिनेट र घण्टाका तीनवटै सुइ चाहिन्छ, त्यसैगरी चाडपर्वका लागि पनि सूर्योदय, बार र तिथि तीनै अवयव आवश्यक पर्छन्। यीमध्ये तिथि परिवर्तनलाई मात्र आधार मान्छु भन्नु त्रुटिपूर्ण छ। विशेष गरी अहिले जनमानसमा सूर्योदयसहित बारले समातेको औँसी तिथिलाई लक्ष्मीपूजा मान्ने कि सूर्योदयकालीन बारविनाको तिथि परिवर्तित औँसीलाई मान्ने भन्नेमा ठुलो विवाद र मतभेद देखिन्छ।
• चान्द्रवर्ष: चन्द्रमाको १२ वटा महिनाको (तिथि गणनाका आधारमा) कुल समय करिब ३५४ दिन, २२ घडी, १ पला (करिब ३५४.३६ दिन) हुन्छ।
• चान्द्रमास: चान्द्रमासमा शुक्लपक्ष र कृष्णपक्ष गरी दुई पक्ष हुन्छन्। प्रत्येक पक्ष १५–१५ तिथिको भए पनि कुल दिन ३० हुँदैन, किनकि एउटा चान्द्रमास २९.५ दिन (शास्त्र अनुसार २९.५३०५८९ दिन) को हुन्छ। यसलाई १२ महिनाले गुणन गर्दा ३५४.३६ दिन आउने हो।
• चान्द्रदिन: चान्द्र दिनको स्पष्ट प्रावधान ज्योतिष शास्त्रमा छैन, किनभने तिथिको उदय यही समयमा हुन्छ भन्ने निश्चित नियम हुँदैन। त्यसैले सूर्योदयसँगै उदय भएको बारले प्रमाणित गरेको तिथिको मात्र आधिकारिकता हुन्छ। जहाँ सूर्योदय र बारले प्रमाणित गरेको तिथि हुँदैन, त्यसलाई ‘लावारिस तिथि’ भन्न सकिन्छ। नेपालमा यस्ता तिथिहरू समातेर चाडपर्वको परम्परा बिगार्ने काम हुनु दुःखद हो।
• अन्तर: सौर र चान्द्रवर्षको बीचमा हरेक वर्ष करिब ११ दिन, १ घडी, ४७ पलाको अन्तर पर्दछ।
• सिद्धान्त: यही ११ दिनको अन्तर बढ्दै जाँदा ३२ महिना, १६ दिन र ४ घडी (करिब २.७ वा ३ वर्ष) पुगेपछि यो अन्तर झन्डै ३० दिन अर्थात् एक महिना बराबर हुन आउँछ। त्यसैले हरेक तीन वर्षमा एक पटक अधिकमास (मलमास) मान्ने गरिन्छ।
यो अधिकमासले मौसम र ऋतुहरूलाई चान्द्र महिनासँग मिलाएर राख्ने काम गर्छ। यो कसैको इच्छाले थपिने नभई दुईवटा संक्रान्तिको बीचमा २९.५ दिनको चान्द्रमास पर्न आउँदा स्वतः बन्ने स्थिति हो।
यसपालिको पञ्चाङ्गमा जेठ ३ गतेदेखि असार १ गतेसम्म अधिकमास देखाइयो, जसमा संक्रान्ति देखिनु हुँदैन भन्ने शास्त्रीय नियमलाई बिर्सिएको पाइन्छ। पछि त्यसलाई सच्याएर जेठ ३ देखि जेठ ३१ सम्म मात्र राखियो, तर त्यसमा पनि हुनुपर्ने जति २९.५ दिन पुगेको देखिएन। यस प्रकार पञ्चाङ्गकारहरूबाट निरन्तर त्रुटिहरू भइरहेका छन्।
शास्त्रीय नियम अनुसार जुन चान्द्रमास भित्र सूर्यको संक्रान्ति (सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने समय) पर्दैन, त्यो महिना अधिकमास हुन्छ। अर्थात्, दुईवटा सौर्य संक्रान्तिको बीचमा एउटा सिङ्गो चान्द्रमास पर्न आयो र त्यसले अघिल्लो वा पछिल्लो संक्रान्तिलाई छोएन भने त्यो असंक्रान्तिमास नै अधिकमास हुनुपर्ने हो। यसपालिको अधिकमासमा पनि यस्तै गडबडी देखियो, जुन सिद्धान्तबाट विमुख हुनुको परिणाम हो।
सिद्धान्तबाट विमुख हुनुको कारण
अधिकमासको सिद्धान्त अनुसार सुरुदेखि नै दुईवटा संक्रान्तिको बीचमा २९.५ दिनको एक चान्द्रमास पर्न आएपछि मात्र त्यसलाई अधिकमास गणना गरिएको हो। केरो लक्ष्मण छत्रेले तयार पारेको अधिकमास र क्षयमास सारणीमा शकसंवत् १ देखि २१०५ सम्मको विवरण दिइएको छ। जसमा शकसंवत् १ को श्रावणमा अधिकमास परेको देखिन्छ भने २१०५ मा आषाढमा पर्ने उल्लेख छ। यहाँ बिर्सन नमिल्ने कुरा के हो भने, दुईवटा संक्रान्ति बीच २९.५ दिनको अवधि आउन ३१ र ३२ दिनको सौरमासमा मात्र सम्भव हुन्छ। पुस, माघ र फागुनतिर सौर्यमास आफैँ २९ दिनको हुने भएकाले ती महिनाहरूमा कहिल्यै अधिकमास पर्दैन। चान्द्रमासमा २९.५ दिनभन्दा बढी अवधिको परिकल्पना नै गरिँदैन, त्यसैले नेपालसंवत् विशुद्ध चान्द्रमासको वर्ष होइन भन्ने कुरा स्पष्ट छ।
जसरी विक्रमसंवत्मा ३१ र ३२ दिनका महिनाहरूको आवश्यकता पर्छ, त्यति नै नेपालसंवत्लाई पनि आवश्यक हुन्छ, किनकि अधिकमासको व्यवस्था दुवै संवत्का लागि अनिवार्य छ। यसमा कुनै विवाद गर्नुपर्ने ठाउँ छैन। यति मात्र नभएर, शकसंवत् सुरुवातदेखि नै ‘अमान्तमान’ (औँसीमा महिना सकिने पद्धति) मा आधारित छ र नेपालसंवत् पनि अमान्तमानमै आधारित छ। शकसंवत्को अमान्तमानमा पहिले चैत्र शुक्लपक्ष र दोस्रो चैत्र कृष्णपक्ष भए जस्तै नेपालसंवत्मा पहिलो कार्तिक शुक्लपक्ष र दोस्रो कार्तिक कृष्णपक्ष हुन्छ। यही सिद्धान्तमा अडिग रहेको भए समस्या आउने थिएन, तर विक्रमसंवत् ‘पूर्णिमान्त’ (पूर्णिमामा महिना सकिने पद्धति) भएकाले वैशाख महिना गणना गर्दा आधा चैत्र कृष्णपक्ष र आधा वैशाख शुक्लपक्ष लिनुपर्ने हुँदा जटिलता थपियो। एउटै वैशाख महिनाभित्र दुई फरक महिनाका पक्षहरू समेट्नुपर्ने भएकाले विक्रमसंवत्को व्यावहारिक प्रयोग भद्रगोल बन्न पुगेको छ। त्यसैले, विक्रमसंवत्को यो त्रुटिपूर्ण पद्धतिलाई नसच्याएसम्म अधिकमासको समस्याबाट पूर्ण रूपमा छुटकारा पाउन सम्भव देखिँदैन।
विक्रमसंवत्को ऐतिहासिकता र वैज्ञानिकतामा प्रश्न
नेपालमा नेपालसंवत्को सुरुवात हुँदा भारत (हिन्दुस्थान) मा विक्रमसंवत्को अस्तित्व वा नामनिसान नै थिएन। त्यस समयमा यो संवत् ‘मालवसंवत्’ का नामले चिनिन्थ्यो। त्यो मालवसंवत् पनि मालवसंवत् ४८१ भन्दा अघिसम्म ‘कृतसंवत्’ का नामले चिनिन्थ्यो। मालवसंवत् ९७३ मा आएर मात्र पहिलो पटक ‘विक्रमकाल’ लेखिन थालियो र यही विक्रमकाल१०९९ देखि मात्र यसलाई ‘विक्रमादित्य संवत्’ भन्न थालियो। यो इतिहास नेपाली इतिहासकारहरूले मात्र नभई स्वयम् भारतका प्रतिष्ठित इतिहासकारहरूले आफ्ना अनुसन्धानहरूमा लेखेका छन्।
नेपालको सन्दर्भमा, पाटन उकुबहालमा राजा जयस्थितिमल्लको पालाको संवत् ५११ आषाढको ताम्रपत्र अभिलेखमा पहिलो पटक विक्रमसंवत्को उल्लेख भेटिएको हो। त्योभन्दा अघिका कुनै पनि अभिलेखमा विक्रमसंवत्को नाम पाइँदैन। उक्त अभिलेखमा अहिलेको पञ्चाङ्ग पात्रोमा जस्तो ९३६ वा ९३७ वर्षको अन्तर देखिने खालको त्रुटि छैन; त्यसमा १४४४ विक्रमसंवत् उल्लेख भएबाट तत्कालीन इतिहासकारहरूको नजरमा विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर ९३३ मात्र हुनुपर्छ भन्ने मान्यता रहेको बुझिन्छ।
यसैगरी, नेपालसंवत् ८०८ को भक्तपुर दरबारको सुन्धाराको दुईवटा अभिलेखमध्ये एउटामा विक्रमसंवत् १७४५ र अर्कोमा विक्रमसंवत् १७८९ लेखिएको छ। यसबाट विक्रमसंवत्को वर्ष अन्तर स्थिर नभएको र यसमा वैज्ञानिक एवं ऐतिहासिक निरन्तरता नरहेको स्पष्ट हुन्छ। यसरी जुनसुकै कोणबाट हेर्दा पनि त्रुटिपूर्ण रहेको संवत्लाई अङ्गीकार गर्ने र उल्टै नेपालसंवत्लाई अव्यावहारिक भनेर उपेक्षा गर्ने परिपाटी न्यायसङ्गत देखिँदैन। यस्ता भ्रमहरूलाई पालेर बस्नुभन्दा समयमै यिनको निवारण गर्नु आवश्यक छ।
________________________________________
निष्कर्ष
१. इतिहासको पुनर्लेखन र भ्रमको अन्त्य: पृथ्वीनारायण शाहले शकसंवत् चलाएका हुन् भनी संशोधन मण्डल लगायत कतिपय इतिहासकारहरूले फैलाएको धारणा केवल गणितीय अस्पष्टताको उपज हो। शाहले आफ्ना पूर्खाकै प्राचीन संवत् (नेपालसंवत्सँग ८०२ वर्षको अन्तर भएको लिच्छविकालीन संवत्) लाई निरन्तरता दिएका थिए। विक्रमसंवत्को चस्माबाट मात्र इतिहास हेर्ने र नेपालसंवत्लाई शून्यबाट सुरु भएको मान्ने एकाङ्गी सोचलाई सच्याउनु आवश्यक छ।
२. विक्रमसंवत्को ऐतिहासिक शून्यता: ऐतिहासिक प्रमाणहरू (जस्तै जयस्थितिमल्लको पालाको संवत् ५११ को ताम्रपत्र) ले नेपालमा विक्रमसंवत् सुरुवाती कालमा नरहेको र यो पछि मात्र भित्रिएको पुष्टि गर्छन्। यसको वर्ष अन्तर पनि इतिहासमा स्थिर नदेखिएकाले यसमा ठोस वैज्ञानिक वा ऐतिहासिक आधार भेटिँदैन।
३. मौलिक संवत् (नेपालसंवत्) को पुनःस्थापना: विक्रमसंवत् नेपाली संस्कृति र विशिष्ट कालक्रमका लागि कतिपय अवस्थामा अव्यावहारिक साबित भइसकेको छ। अर्कोतर्फ, नेपालसंवत् विशुद्ध चान्द्रमास मात्र नभएर सूर्य र चन्द्र दुवैको गतिलाई वैज्ञानिक ढङ्गले समायोजन गर्ने चान्द्रसौर संवत् हो। तसर्थ, पञ्चाङ्गकारहरूको त्रुटिपूर्ण घेरालाई तोड्दै र भ्रमहरूलाई चिर्दै नेपालको मौलिक, ऐतिहासिक एवं वैज्ञानिक ‘नेपालसंवत्’ लाई नै व्यावहारिक र पूर्ण रूपमा लागू गर्नु यस समस्याको न्यायोचित समाधान हो।


