
काठमाडौँ । आज जुन ३० अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने सम्भावित जोखिमबारे जनचेतना फैलाउने, वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सम्भावित विपद्का लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन ३० लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसका रूपमा मनाउन थालिएको हो । यो मिति सन् १९०८ मा रुसको साइबेरियास्थित तुङ्गुस्का क्षेत्रमा भएको इतिहासकै सबैभन्दा ठूलो क्षुद्रग्रह विस्फोटको सम्झनामा तय गरिएको हो । उक्त घटनाले करिब दुई हजार वर्ग किलोमिटर वन क्षेत्र ध्वस्त बनाएको थियो ।
वैज्ञानिकहरूका अनुसार पृथ्वी नजिक परिक्रमा गर्ने ३६ हजारभन्दा बढी क्षुद्रग्रह पत्ता लागिसकेका छन् । तीमध्ये केही क्षुद्रग्रह भविष्यमा पृथ्वीको नजिक आउन सक्ने भएकाले तिनको निरन्तर निगरानी गरिँदै आएको छ । पृथ्वीको कक्षाको धेरै नजिक आउने र ठूलो आकारका क्षुद्रग्रहलाई सम्भावित जोखिमयुक्त मानिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२९ लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह सचेतना तथा ग्रह सुरक्षा वर्ष घोषणा गरेको छ । सोही वर्ष ‘अपोफिस’ नामक विशाल क्षुद्रग्रह पृथ्वीबाट करिब ३२ हजार किलोमिटरको दूरीबाट सुरक्षित रूपमा गुज्रिनेछ । यसले पृथ्वीलाई कुनै खतरा नपुग्ने भए पनि यो घटना दुर्लभ मानिएको छ र संसारका धेरै स्थानबाट खुला आकाशमा नाङ्गो आँखाले समेत देख्न सकिने अपेक्षा गरिएको छ ।
क्षुद्रग्रहसम्बन्धी सम्भावित जोखिमको पहिचान, निगरानी र आवश्यक परे त्यसको प्रभाव कम गर्ने उपायबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य भइरहेको छ । यसका लागि संयुक्त राष्ट्रसंघको पहलमा विभिन्न अन्तरिक्ष निकाय र वैज्ञानिक संस्थाहरूले सम्भावित जोखिमको मूल्याङ्कन तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

