
चर्चामा पुस्तक
बदनाम विम्ब
प्रा.कपिल अज्ञातले निबन्धसङ्ग्रहमा आफ्ना विचार,दृष्टिकोण र भावनाहरु बिभिन्न निबन्धहरु मार्फत प्रस्तुत गरेका छन् । आफ्ना विभिन्न विषयका विचारहरु दिएका छन् । ४० थान छोटा आयतनका निबन्धहरु कृतिभित्र समावेश गरिएका छन् । अनुभवले खारिएका छन् । विचारले भरिएका छन् । विभिन्न विषयमा रहस्योद्घाटन गरिएका छन् । विभिन्न सवालहरुमा यथार्थजनित प्रतिक्रिया पनि दिन पछि परेका छैनन् ।
आफ्ना नाम,पारिवारिक पृष्ठभूमि,संस्मरण आदि पनि यहाँ समावेश छन् । हाम्रा समाजका यथार्थहरु उजागर गरिएका छन् । कतिपय निबन्धहरु समीक्षात्मक पनि छन् । निबन्धमार्फत आत्मप्रस्तुति आएका छन् । कतिपय निबन्धहरु व्यङ्ग्यचेतले भरिएका छन् । यसरी केलाउँदा विषयवस्तुको हिसावले अलगथलग,प्रकृतिको हिसावले फरक फरक लाग्छन् निबन्धहरु ।
सरल र सहज भाषाशैली प्रयुक्त भएको छ । विम्बहरु छन् । यसैले कतिपय निबन्धहरु काव्योत्तर लाग्छन् ।
बदनाम विम्बलाई भैरव वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको हो । यसको मूल्य रु.२५५। रहेको छ ।
साधना
विष्णुदेव पौडेलको उपन्यास यथार्थवादी दृष्ट्रिचेतबाट लेखिएको छ । आधुनिक मध्यम वर्गीय नेपाली पारीवारिक परिवेशको कथा छ । सामाजिक यथार्थबादी कथा छ । यसमा पारिवारिक द्धन्द्ध छ ।आर्थिक असमझदारी छ ।उपन्यासका पात्रहरु हाम्रै समाजका जीवन्त पात्र लाग्छन् ।
कथानक मानवीय संवेदनासंग जोडिएको छ । कर्तव्य र जिम्मेवारीका कुरा छन् । सम्बन्धका कुरा छन् । संस्कार जोडिएका छन् । आधुनिकता र परम्पराबीचको सन्तुलन पनि देखिएको छ । लाग्छ संस्कारमूलक छ कृति । जीवनका यावत संघर्षहरु यहाँ छन् । उपन्यासले पाठकसंग संवाद गरेजस्तो लाग्छ ।
उपन्यासको भाषाशैली सरल,प्रवाहमयी र सम्वादात्मक छ ।
साधना उपन्यासलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.७५०। रहेको छ ।
सिमल भुवा
डा.श्यामप्रसाद न्यौपानेको कविता कृति । शिर्षकगत र विषयगत विविधताका ३६ वटा कविताहरु छन् । जीवन,जगत,प्रकृति,मिथक,अतितका स्मृति,देशप्रेम,समसामयिक राजनीति र त्यसका विकृतिपक्षप्रतिको व्यङ्ग्यचेत,सम्बन्धका अनेक आयाम,पर्याचेत,कृषिसँस्कृति,सामाजिक जीवनका भोगाइहरु लगायतका विषयवस्तुमाथि कविताहरु कोरिएका छन् । कविताहरु भावना,अनुभव र अनुभूतिको त्रिवेणी लाग्छन् ।
सरल,सहज र बोधगम्य भाषा,विम्ब र प्रतिकहरुको सन्तुलित मिश्रणले कविता सुन्दर बनेका छन् ।
सिमल भुवालाई साहित्य परिषद,नवलपरासीले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५०। रहेको छ ।




