
काठमाडौं । हेलिकोप्टर खसालेको आरोपपछि अमेरिकाले इरानमाथि आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमाथि इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै अमेरिकी सेनाले उक्त घटनाको जवाफस्वरूप इरानमाथि आक्रमण सुरु गरेको बताएका छन् ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप मंगलबार आक्रमण सुरु गरिएको हो ।
सेन्टकमले विज्ञप्तिमा भनेको छ, “यो मिसन इरानको अनुचित आक्रामकताविरुद्ध गरिएको एक प्रतिक्रिया हो ।”
पर्सियन गल्फको तटीय क्षेत्र तथा स्ट्रेट अफ होर्मुज आसपासका क्षेत्रमा विस्फोट भएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।
यस घटनापछि इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै आफ्नो देशले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई नछाड्ने बताएका छन् ।




