
काठमाडौँ । विशेष अदालतले घुस लिएको अभियोगमा दोषी ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले गत जेठ ४ गते सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूरमा दोषी ठहर गरेको थियो ।
आज अदालतले उनलाई ४ वर्ष कैदसँगै ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवानाको सजाय निर्धारण गरेको हो ।
अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत कुल ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ प्राप्त गरेको पुष्टि भएको छ । उक्त रकमलाई नै भ्रष्टाचारको विगो मानी सजाय निर्धारण गरिएको हो ।
उनले आफ्नो सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय समेत गरिएको छ ।
विशेष अदालतले सिंहबाट घुसस्वरूप प्राप्त ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गरी असुलउपर गर्न आदेश दिएको छ । साथै जरिवानाका आधारमा अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।




