काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
यो जितसँगै नेपालले चार खेलको शृंखलामा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि नेपाल ‘ए’ले अमेरिकालाई तीन विकेटको हराएको थियो । टोली स्कटल्यान्डविरुद्ध पहिलो खेलमा ४५ रन र दोस्रो खेलमा डीएलएसका आधारमा नौ रनले विजयी भएको थियो ।
आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५७ रन बनायो ।
अमेरिकाका सेहान जयासूर्याले ७१ रनको इनिङ खेले । उनले ६७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । शुवम रन्जानेले ४७, सन्जय जहान्गिरले ४१ र स्मित पटेलले ३३ रन जोडे । साइतेजा रेड्डी मुक्कामल्लाले १६ र मिलिन्द कुमारले १३ रन बनाए ।
नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । उनले ७.१ ओभरमा एक मेडनसहित ३० रन खर्चिए । बसिर अहमदले तीन विकेट हात पारे । शाहब आलम र पवन सराफको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर२६४ रनको योगफल खडा गरेको थियो ।
नेपाल ‘ए’का सन्दीप जोराले १११ रनको शतकीय इनिङ खेले । उनले ११५ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० र नारायण जोशीले १६ रन बनाए ।
अमेरिका सौरभ नेत्रावाल्करले सर्वाधिक तीन विकेट लिए । जसदीप सिंहले दुई विकेट हात पार्दा शुवम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगरकरको नाममा समान एक विकेट रह्यो ।