काठमाडौँ।साझा प्रकाशनले ‘साझा प्रकाशनको आगामी गन्तव्य : चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. रमेशप्रसाद भट्टराईले साझा प्रकाशनका चुनौती र अवसरमाथि अवधारणापत्र प्रस्तुत गरे । साझा प्रकाशनका सम्पूर्ण सेयर सदस्यले यसको विकास र विस्तारका निम्ति प्रतिबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
डा.भट्टराईले आफूले साझा प्रकाशनमा काम गर्दाको समय स्मरण गर्दै सही इच्छाशक्ति र रणनीतिक सुधारका विषयमा धारणा राखे । उनले भने, “ऋणभारमा साझा परेको छ, तर तिर्ने अवस्थामा छैन । राज्यले साझाको उत्थानका लागि आवश्यक कदम चालिदिएको खण्डमा साझा निर्बाध रूपमा अगाडि बढ्न सक्नेछ ।”
अग्रणी प्रकाशन संस्था साझामा करिब एक हजार ६०० साहित्यकार तथा साहित्यसेवी सेयर सदस्य रहेका उनले उल्लेख गरे । उनले सबैले यसको उत्थान र विकासमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
उनले साझा बचाऔँ अभियान नागरिक समाजसम्म पुर्याउन सुझाव दिए । दरिलो मार्गचित्र र भिजन २०३० को अवधारणसहित साझा अगाडि बढ्नुपर्ने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले ‘नवप्रवद्र्धनात्मक व्यावसायिक योजना’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरे । साझामा अस्तित्वको संकट उनले बताए ।
उनले साझासँग सम्पत्ति भएर पनि गरिबीको अवस्थामा रहेको भन्दै विभिन्न सुझाव प्रस्तुत गरे । साझाले अब सूचना प्रविधिको विकास र त्यसको प्रयोगमा समेत ध्यान पुर्याउँदै दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रस्तुत अवधारणापत्रमाथि डा.विष्णुविभु घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’ र दिनेश थपलियाले टिप्पणी गरे ।
डा. भट्टराईको अवधारणापत्रमाथि टिप्पणी गर्दै डा. घिमिरेले साझाले पुराना कृतिलाई पनि नयाँ पुस्तासम्म पुर्याउने वातावरण तयार पार्नुपर्ने बताए । अर्का टिप्पणीकर्ता श्रेष्ठले साझा आजसम्म कार्यपत्रको कागजमै अलमलिएको उल्लेख गरे ।
रिजालको अवधारणापत्रमाथि टिप्पणी गर्दै निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त दिनेश थपलियाले साझा प्रकाशनमा विद्वान् व्यक्तिहरू सेयर सदस्य हुँदा पनि संस्था किन नउकासिएको भन्ने प्रश्न गरे ।
आफू केही वर्षअघि मात्र साझासँग जोडिएको उनले उल्लेख गरे । संस्थाको उत्थानका निम्ति साझा इच्छाशक्ति, व्यावसायिक व्यवस्थापन र सूचना प्रविधिको विकासमाथि जोड दिनुपर्ने उनले धारणा राखे । साझाको पुनर्जीवनका निम्ति यी तीन तत्त्व आवश्यक रहेको उनको भनाइ थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले यो ऐतिहासिक धरोहर बचाउन आफूहरू लागिपरेको बताए ।
उनले ‘प्रभावशाली रूपमा काम गर्नुस्’ भन्दै मन्त्रालयको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ,साझाका अध्यक्ष शेखर गिरी, सञ्चालक सदस्यहरू धु्रव घिमिरे र जयन्ता पोखरेलले पनि आफ्ना धारणा राखेका थिए ।