काठमाडौं । नेपाल स्रष्टा समाजको व्यवस्थापनमा प्रदान गरिँदै आइएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ यस वर्ष उदयपुरकी सर्जक मालावती काफ्लेलाई प्रदान गरिएको छ ।
समाजले ओझेलमा परेका महिला सर्जकहरूको खोजी गर्दै यो सम्मान प्रदान गर्दै आएको छ । सम्मानका साथ नगद राशि २० हजार १११ रुपैयाँ प्रदान गरियो ।
हिजो बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठले सम्मान प्रदान गर्दै अँध्यारोबाट उज्यालोतर्फको यात्रामा लागेकी मालावतीको कर्मशीलताको प्रसंशा गरिन् ।
श्रेष्ठले भनिन्, “मालावतीजीले गरेको कामले हामीलाई समेत प्रेरणा दिएको छ । कुरीतिविरुद्ध लाग्दै महिला सशक्तीकरणमा उहाँले गरेको काम हरेकका लागि प्रेरणाको स्रोत भएको छ ।”
समाजका पूर्वअध्यक्ष साहित्यकार विधान आचार्यले सम्मानित सर्जकको परिचय दिँदै उनले गरेका कामको चर्चा गरे । आचार्यले कवि गीतकार पुष्पा खनालले आफ्नी दिवंगत आमाको नाममा यो सम्मान स्थापना गरेको बताए ।
सम्मानित सर्जक मालावतीले आफूले नपढे पनि छोराछोरीको पढाइमा ध्यान दिएको बताउँदै महिलाहरूको हक हितमा लागेको बताइन् ।
कार्यक्रममा कवि प्रकाश घायलले २०७५ सालमा सम्मानको स्थापनाका बारेमा बोल्नु भएको थियो।
उक्त अवसरमा पुष्पा खनालले अमेरिका बाटै भिडियोमार्फत आफ्ना विचार राखिन् भने साहित्यकारहरू राधेश्याम लेकाली, शंकर भारती लगायतले बोले ।
कार्यक्रममा सम्मान संस्थापक पुष्पा खनालको शब्दरचना र नरेन्द्र प्यासीले संगीत भरेको गीत गंगा सोनामद्वारा गाइएको गीत पहिलो पटक सार्वजनिक गरिइएको थियो।