
काठमाडौँ। नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।
पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू जस्तै, बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको,डिजेलको मूल्य समेत बढेको पनि महासंघले जनाएको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ।
‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो,’ विज्ञप्तिमा छ, ‘हाल कायम मूल्यमा पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षमा हामी पुगेका छौं ।’
महासंघले सबै सदस्य उद्योगीहरूलाई कच्चा पदार्थ र सञ्चालन लागतमा भएको वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरेको छ ।
