मुक्तकहरु
शिला कुमारी खरेल
१.
छैन केही अस्तित्त्व रीतिथिति परम्परा सबै मासे
आफ्नासँग होइन विदेशीसँग मिठो पिरती गाँसे
त्यसैले आज देश सङ्कटमा फस्दै गइरहेको छ
फुटेको देख्दा भाइ भाइ वरिपरिका मुख छोपी हाँसे।
२.
आफूले गरेका कुरा सम्झी सम्झी बन्न बाँकी छ लास
अझै केही बिग्रेको त थिएन थोरै थोरै बाँकी छ आस
सुधार आफूलाई स्वाभिमानी बन्न दास बन्न होइन
नत्र आफूले खनेको खाल्डोमा परी आफैं हुन्छौ नाश।
३.
सम्झना मात्र आउँछ कलकल नदीको पानी पिएको
पौरखले कुटो कोदालो खनी स्वाभिमानी भै जिएको
स्वाभिमानीको त कुरै छोडौँ दास बन्दै छौँ दिनानुदिन
उद्योगधन्दा बन्द गरी लाउँछौँ लुगा अरूले सिएको।
४.
सुखी नेपाली समृद्ध नेपालको नार लहर बनी आयो
मिठो खाने राम्रो लाउने जीवनको रहर बनी आयो
तर खै १ पौरख बिनाको जीवन रहर रहरै बन्छ की
देखिन्छ कहिले सुन्दर सपनाको शहर बनी आयो।
५.
दशनङ्ग्रा खियाई सधैँ किसान दलिन्छ
मिहेनतको फल नपाई किसानै छलिन्छ
मिहेनतको फल खान्छन् बिचौल्याले बाडी
किसान सधैँ गरिबको गरिबै कहलिन्छ।
बनेपा ६,बुडोल