काठमाडौँ। नेकपा एमालेका नव निर्वाचित संसदीय दलका नेता रामबहादुर थापा बादलले बिहिवार संसदमा सम्बोधन गर्दा दिएको अभिव्यक्तिलाई लिएर एमालेमा तरङ्ग पैदा भएको छ ।
थापाले संसद्मा दिएको अभिव्यक्तिलाई पार्टीको नीति र विचारसँग नमिल्दो भनी पार्टी भित्रैबाट आलोचना भएको हो ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन्।
पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ।
सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले बादलको नाम नलिई लेखेका छन्– ‘हिजो संसदमा षड्यन्त्र’का लामा कथाहरु सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो सबै दोष हरुलाई रु हामी पनि दोषी छौं, यो वातावरण सिजृना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र रु’
उनले ‘घेराबन्दी’मा प¥यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’
उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्नसमेत आग्रह गरेका छन्।
भदौ २३ र २४ गतेको घटना छानबिन हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’
एमालेको कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए। साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए।
बादलको विवादित अभिव्यक्तिले एमाले वृत्तमा तरंग ल्याइदिएको छ। उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे आजको सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय गर्ने बताएका छन्।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले विहीबारको प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनबारे छलफल हुने नेताहरुले बताएका छन्।