आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब, अध्यक्ष सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै सन्तोष परियार, सुदन किराँतीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको बताए ।
लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको जनगुनासो बढिरहेको उल्लेख गर्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’को अवधारणा अघि सारेको जनाएको छ ।
यसको मूल आधार पूर्ण समावेशिता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुनेछ ।
प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेका छन् ।