मंगलबार मुम्बईमा भएको खेलमा यूएईले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आरिफ र दीपेन्द्र अविजित रहे । आरिफले ३७ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए । दीपेन्द्रले ३१ बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।
यी दुईले ४५–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका हुन् ।
कप्तान रोहित पौडेलले १६ रन थप्दा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेल समान आठ रनमा पभेलियन फर्किए ।
यूएईका मुहम्मद रोहिदले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।
यूएईका सोहैब खानले सर्वाधिक ३८ रन बनाएका थिए । हर्षित कौशिकले ३५, ओपनर आर्यन्स शर्माले २५, मुहम्मद जोहैबले १९ र आलिशान सराफुले १२ रन थपे ।
नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।