काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार बुटवलमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने बताए ।
उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजीओ आईएनजीओका मान्छे सरकारमा राखेर चूनाव गराउन खोजिएको आरोप लगाए ।
समयमा नै चूनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चूनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चूनावमा होमिएको उनको टिप्पणी थियो ।
अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा राखे ।