काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका नेताहरूबीच सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका छन्।
आसन्न निर्वाचनको सन्दर्भमा सार्वजनिक बौद्धिक वृत्तबाट पारदर्शी बहसको माग उठिरहेको उल्लेख गर्दै ओलीले यस्तो बहसलाई सकारात्मक पहलका रूपमा लिएको बताएका हुन्।
ओलीले देश बनाउने र देश जलाउने प्रवृत्तिबीचको प्रतिस्पर्धाका रूपमा वर्तमान निर्वाचनलाई चित्रण गर्दै आफ्नो पार्टी नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको दाबी गरेका छन्।
देशको नेतृत्व गर्न चाहने दलहरूको एजेन्डा, विगतमा गरेका काम र आगामी कार्ययोजनाबारे सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
“देश निर्माणमा यसअघि के गरियो र अब के गर्ने भन्ने विषयमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक हो,” ओलीले भनेका छन्, “यस्तो पब्लिक डिबेटमा उभिएर हामीले के गर्यौँ र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।”
उनले निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई सिधा प्रश्न सोध्न सकिने मञ्चमा उभिएर आफ्नो धारणा राख्ने प्रतिबद्धता समेत जनाएका छन्।