भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका- २ टाकुराका उनीहरू घटनामा परेका हुन्।
मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।
हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ।
विस्फोटका कारण मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको आफन्तले बताएका छन्।
दुई परिवारका ९ जनाको मृत्यु भएपछि स्थानीय वडा शोकमा डुबेको छ। सिद्धकुमाख गाउँपालिका- २ ले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।