
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंको बालुवाटारमा कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको भेटमा उनले समितिले नै विशेष महाधिवेशन आह्वान गर्दा पार्टीभित्र एकताको सन्देश जाने बताए ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिक उमेदवार टुंग्याइएपछि विशेष महाधिवेशनमा जाँदा पार्टीका निम्ति हित हुनेमा उनले जोड दिए ।
“पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ,” डा. शेखरले भने, “त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।”
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने पनि उनले बताए । उनले पार्टीमा सुदृढ एकता आवश्यक रहेको औँल्याए ।
