
काठमाडौं। यस बर्षको ‘शुभद्रा -विश्वराज स्रष्टा सम्मान’द्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ द्धारा युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरेको छ ।
नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्याए बापत रु.२१हजार १ सय ११ रुपैयाँ नगद राशीको ‘शुभद्रा -विश्वराज स्रष्टा सम्मान पोखरेललाई तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख योगदान पुर्याए वापत युवा साहित्यकार पन्थीलाई नगद राशी १५ हजार १ रुपैयाँको ‘प्रसिद्ध कँडेल राष्ट्रिय युवा सम्मान’ प्रदान गरिएको हो ।
नगदराशी तथा प्रमाणपत्र प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी, लगायतले समर्पण गरे ।
नेपाल स्रष्टा समाजले आफ्नो १९ औं स्थापना दिवसको अबसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह ‘फेसबुकको करामत ‘ र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह ‘अतृप्त रहरहरु’ को लोकार्पण समेत गरेको छ ।

राजधानीमा आज आयोजित भव्य समारोहमा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा. सुवेदी,श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,भागिरथी श्रेष्ठ,हिरण्यकुमारी पाठक,विधान आचार्य, चेतनाथ कँडेल हरित,रविन्द्रआशिष शैली तथा स्रष्टाद्धय लगायतले लोकार्पण गरे ।
प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.सुवेदीले आफ्नो मन्तव्य राख्दै भने राज्यको निकायले भन्दा नीजिस्तरबाट साहित्य धानिएको अबस्था छ । यसमा नेपाल स्रष्टा समाज धन्यवादको पात्र छ । उनले सम्मानित स्रष्टा र नयाँ कृतिका स्रष्टाहरुलाई बधाई दिए ।
लोकार्पित कृतिमाथि समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले चर्चा गरे । उनले कथा कृति ‘फेसबुकको करामत ‘ माथि चर्चा गर्दै भने प्राय प्रेमकथा समेटिएको सङ्ग्रहमा सामाजिक विसङ्गतिका कथा छन् । सबैजसो कथाहरु प्रथम पुरुषदृष्टिविन्दु र तृतिय पूरुषदृष्टिविन्दुमा लेखिएका छन् । कुनै कुनै कथाहरु डायस्पोरा साहित्यका पनि देखिन्छन् ।
यस्तै मुक्तकसङ्ग्रहमाथि चर्चा गर्दै प्रा.डा.कार्कीले ‘प्रेम,विछोड,समाजका विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य र ति प्रतिको आक्रोश मिसिएका मुक्तकहरु भएको बताए ।कलात्मक र बिम्बात्मक पक्ष बलियो भएर मुक्तकहरु आएका छन् ।’ भने ।
कार्यक्रममा समाजका संरक्षक वरिष्ठ साहित्यकार पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्दै १९ औं स्थापना दिवसको अबसरमा समाजमा विगतमा योगदान गर्नेहरुलाई स्मरण गरे ।
सम्मान यस्तो होस जुन सम्मान अर्पण गरेपछि संस्थापनि सम्मानित होस भन्ने कुरामा हामी सचेत छौं ।
कार्यक्रममा सभाध्यक्ष समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने ।

सम्मान र पुरस्कारका विभिन्न विकृतिबाट नेपाल स्रष्टा समाज मुक्त रहेको भन्दै उनले सबैलाई धन्यवाद दिए ।
पुरस्कृत स्रष्टा पोखरेलले छन्द कविता सुनाउँदै पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गरे । अर्का सम्मानित स्रष्टा पन्थीले आफु सम्मान हुन पाउँदा खुशी हुँदै साहित्यमा अझै केही गर्ने जिम्मेवारी थपिएको बताइन ।
कार्यक्रममा पुरस्कारका संस्थापक मध्येबाट विधान आचार्य तथा चेतनाथ कँडेल हरितले मन्तव्य व्यक्त गरे ।
‘शुभद्रा -विश्वराज स्रष्टा सम्मान’ वि.सं.२०७४ मा विधान आचार्यले स्थापना गरेका हुन् । भने ‘प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान’ चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले वि.सं.२०७४ सालमा स्थापना गरेका हुन् ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरियो ।
समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधु पाठकको सञ्चालन तथा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आएको छ ।