डा. श्यामसुन्दर राजवंशी
हाम्रो ऐतिहासिक बौद्धिक जगतमा यो शीर्षकीय विषय एउटा धङ्धङी बनेर रही आएको छ । यो धङ्धङी हतपती हटेर जाने लक्षण देखापरेको छैन । यो एक प्रकारको पुरानो रोग नै हो भन्न सकिन्छ किनभने इतिहासकार भनाउँदाहरु स्वयं प्रमाण तिर भन्दा व्यक्ति पूजक बनेर व्यक्तिको विश्वास गर्दै आएको देखियो । यसको मतलव प्रमाणको होइन व्यक्तिको महत्व दर्शाइ आएको देखिएको छ ।
नेपालसंवत्मा ८०२ जोडे लिच्छविकालमा चलेको लिच्छविसंवत् आउँछ भने नेपालसंवत्मा ८०० र ८०१ जोडे चैत्रादि शकसंवत् आउँछ । नेपालसंवत् र लिच्छविसंवत् दुइटै कार्तिक शुक्ल प्रतिपदाबाट फेरिने संवत् भएकोले नेपालसंवत्को अंकमा जहिले पनि ८०२ मात्रै जोडिन्छ भने शकसंवत् चैत्रादि भएकोले कार्तिक देखि चैत्रशुक्ल प्रतिपदा लाग्नु अघिसम्म नेपालसंवत्मा ८०० जोड्ने चैत्रशुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल प्रतिपदा लाग्नु अघिसम्म ८०१ जोड्ने यो कुरा प्रत्यक्ष रुपमा प्रमाण सिद्ध भइरहकै कुरा हो । यो कुनै तर्क होइन र यसलाई कसैले परीक्षण नै गर्न नसकिने कुरो पनि होइन ।
प्रायः इतिहासकारहरुको मान्यता भने शून्यबाट शुरुहुने शकसंवत् र एक बाट शुरुहुने शकसंवत् छ भन्दै हौवा फैलाई आएको छ । वास्तवमा यो वाहियात कुरा हो । किनकि संवत् भनेको कुनै पनि शून्यबाट शुरु हुँदैन । यस्तो हौवाको पछि लागी रहने र प्रमाणित कुरा जनसमक्ष राखी दिंदा प्रमाणलाई केवल उसको तर्क मात्र हो भन्दै आएका छन् । त्यही भएर कुन कुरा हौवा हो ,कुन कुरा प्रमाण हो भन्ने विषयमा दृष्टान्त गरी हालौं किनकि यसको लेखाजोखा ती इतिहासकार कहलिएकाहरुबाट संभव छैन र गर्न खोजेका पनि छैनन् । त्यही भएर त्यो कुरा जनसमक्ष राखीदिनु उचित ठानिएको छ । यसलाई स्वतन्त्र पाठकहरुले कुन हौवा हो र कुन प्रमाण हो भनेर दूधकोदूध पानीकोपानी गरी छुट्याएर मूल्याँकन गरी हेर्न सकोस् भनेर नै यो लेख तयार गरिएको हो ।
गत वर्षको कार्तिक २० गते,२०८१ मा हिमाल खबरमा प्रकाशित एक विद्वान महोदयको सम्वाद पढ्न पाऐँ । त्यस संवादमा भनिएको एक अंशको अक्षरशः उद्धरण यसप्रकार छ ।
अर्कातिर संशोधन मण्डल र श्यामसुन्दरका मतमा खासै फरक पनि छैन । जम्मा १७ महीनाले कुरा नमिलेको हो । यसको कारण के हुन सक्छ भने संवत्हरु दुई किसिमले चलेका हुन्छन् — गत प्रणाली र वर्तमान प्रणाली । गत प्रणालीमा संवत्को गणना शून्यबाट शुरु हुन्छ । अर्थात् १२ महीनाको चक्र पूरा भएपछि त्यसलाई बल्ल एकवर्ष मानिन्छ । वर्तमान प्रणालीमा चाहिं संवत्को आरम्भमै एक भनी गणना गरिन्छ । शकसंवत् चैत्रबाट शुरु हुन्छ भने लिच्छविसंवत् कार्तिकबाट । यस विषयमा दुबै पक्ष बसेर छलफल गर्न आवश्यक छ ।
विद्वान महोदयको पहिलो कुरा संशोधन मण्डल र श्यामसुन्दरका मतमा खासै फरक पनि छैन केवल १७ महीनाले कुरा नमिलेको हो भनिएको छ । यो कुरालाई लिएर विद्वानको सोचलाई तारिफ गरौं कि खेद जनाऔं बडो द्विविधामा परेको छ । संशोधन मण्डलले १७ महिना श्यामसुन्दरलाई दिन नचाहेको र श्यामसुन्दरले १७ महिना माग्दा नदिएर झगडा भैरहेको पो देख्छन् । लिच्छविसंवत्को निर्णयमा के त्रुटि भएको थियो सबै त्रुटी र दूर्वल पक्ष औंल्याइ सकेको कुरा घाम जस्तै छर्लंग पारी दिएको कुरा उन विद्वानलाई अझसम्म पनि कुनै अत्तोपत्तो नै रहेन छ र उहाँ कुन दुनियाँमा बसेर गहीरो निंदमा निदाइरहेको हो अचम्म छ ।
दोस्रो कुरा संवत्हरु दुई किसिमले चलेका हुन्छन् भन्नु भन्दा अघि कसैले नेपालसंवत्को उठान वि.सं ९३६ कार्तिक भनी रहेका छन् भने कोही वि.सं ९३७ कार्तिक भनी रहेका छन् । यहाँ नेपालसंवत् शून्यबाट शुरु भएको हो कि विक्रमसंवत् शून्यबाट शुरु भएको हो त्यो चाहिं निश्चय गर्न किन नसकेको हो ?थाहा छैन ।
शून्यबाट शुरु हुने र एकबाट शुरु हुने संवत्मा एउटा प्रवर्तमान र अर्को वर्तमान भनेर सर्ब प्रथम डा. कमलप्रकाश मल्लले आफनो “नेपालका इतिहास — संशोधकहरुको उत्थान र पतन” नामक ३२ पृष्ठकीय पुस्तिकाको पृष्ठ २६ मा दिइएको छ । शून्यबाट शुरु हुँदा वि.सं ९३६ हुने कि ९३७ हुने त्यसको टुंगो उनले पनि दिन सकेको थिएन । त्यत्तिकै गफ हाँक्नु एउटा कुरा उदाहरण सहित यो यो संवत् शून्यबाट शुरु हुने यो यो संवत् एकबाट शुरु हुने भनेर दिन नसकेको किन ? यसरी नचाहिँदो गफ निकालेर अलमल्याउन खोज्नु जायज किमार्थ होइन । यो कुरा बुझ्न जरुरी छ ।
तेस्रो कुरा शकसंवत् चैत्रबाट शुरु हुन्छ भने लिच्छविसंवत् कार्तिकबाट भनेको छ । संशोधन मण्डलले शकसंवत् चैत्रादि मात्रै होइन कार्तिकादि पनि हुने हुनाले लिच्छविकालमा चलेको संवत् शकसंवतै हो भनी रहेको कुरा लिच्छविसंवत्को निर्णयमा ठाउँ ठाउँमा बोलिएका छन् । त्यो कुरा पहिले हेक्का हुनुपथ्र्यो । फेरि संसारमा लिच्छविसंवत् कहीं पनि लेखिएको छैन भनी संशोधन मण्डलले भनी रहेको कुरा बौद्धिक भएर पनि उनले हेक्का नै राखेको छैन । तब संशोधन—मण्डल र श्यामसुन्दरको मतमा खासै फरक पनि छैन भनी रहेको कुरालाई वाहियात कुरा भन्नु परेको छ ।
चौथो कुरा यस विषयमा दुबै पक्ष बसेर छलफल गर्न आवश्यक छ भनिएको छ । संशोधन मण्डल र श्यामसुन्दरको मतमा खासै फरक छैन जम्मा १७ महीनाले मात्र कुरा नमिलेको हो भने पछि १७ महीनामा कति लिने कति दिने भनेर संझौता गर्न छलफल गर्न आवश्यक छ भन्ने उहाँको ठम्याइ गलत छ । श्यामसुन्दरलाई सत्रै महीना दिलाउने भएँ भनेर भनियो भने पनि त्यो छलफलमा श्यामसुन्दर आएर बस्न औचित्य ठान्दैन । लिच्छविसंवत्को निर्णयमा जे जे त्रुटि भएको हो र जे कुरा दूर्वल पक्ष भनेको हो । त्यसको दफावार स्पष्टीकरण चाहिएको हो । त्यो संशोधन मण्डलसंग मागेर दुनियाँ सामु सार्वजनिक गराइयो भने त्यही ठूलो हुने छ । होइन भने १७ महीनामा कति लिने कति दिने जस्तो कुरामा छलफल गराउने कुरा वाहियात हुन् । समग्रमा अरु विषय आफ्नो ठाउँमा छ नेपालसंवत् र श्यामसुन्दरको विद्यावारिधिको बारेमा विद्वान महोदयको तुच्छ टिप्पणी देख्दा अत्यन्त खेद लागेको छ ।
संवत्को मामलामा गोलमटोल पारेका कुराहरु
लिच्छविकालमा चलेको संवत् पनि शकसंवत् भन्दै एउटै भाँडोमा हालिएको छ । शकसंवत् र शाकेसंवत् पनि एउटै हो भनेर एउटै भाँडोमा हालिएको छ । कार्तिकादि संवत् भने पनि शकसंवत् भन्दै एउटै भाँडोमा हालेको छ भने चैत्रादिसंवत् पनि शकसंवत् भन्दै एउटै भाँडोमा हालेको छ । फेरि शून्यबाट शुरु हुने शकसंवत् र एकबाट शुरु हुने संवत् भनेर पनि एउटै भाँडोमा हाल्न ल्याइरहेका छन् । वि.सं २०३५ सालमा १३५ वर्ष घटेको १९०० संवत्लाई पनि शकसंवत् भन्दै एउटै भाँडोमा राख्न ल्याइएको छ । जसरी तीतोे अमिलो पीरो टर्रो गुलियो नुनिलो सबै चिज घोलेर घोल बनाइ सकेपछि त्यस घोलबाट गुलियो गुलियो नुनिलो नुनिलो छुट्याउन खोजेर किमार्थ संभव हुँदैन । त्यस्तै भने झै एउटै भाँडोमा हालेको संमिश्रित शकसंवत्मा वास्तविक शकसंवत् कुन हो ? छुट्याउन इतिहासकारहरुलाई हम्यहम्य परिरहेको कारण नै यही हो ।
संमिश्रण भएको शकसंवत्को गोलमटोलबाट शकसंवत् र लिच्छविसंवत् छुट्याउनु सजिलो छैन । आज भन्दा ३९ वर्ष अघि लिच्छविसंवत्को निर्णय आउँदा निर्णायकले त्यो छुट्याउन नसके पछि अरुले गर्ला भनेर आश गर्नु बेकार भएको हो र अहिलेसम्म कसै कतै बाट छुट्याउने प्रयास पनि गरिएको छैन ।
गोलमटोल हुनुको कारक तत्व
मध्यकालका कतिपय अभिलेखहरुमा नेपालसंवत्को अलावा कलिगत, विक्रम, शक र शाके भनेर समेत उल्लेख भएका अभिलेखहरु थुप्रै देखा परे । यो कुरा कुनै नौलो होइन यो धेरैलाई थाहा भएकै कुरा हो । ती अभिलेखहरु भित्र मात्र नियालेर हेरियो भने नेपालसंवतसंग ८०२ वर्ष फरक भएका संवत्हरु त्यसमा देख्न पाइन्छ । यी संवत् सबै लिच्छविसंवत् हुन् तर त्यहाँ ८०२ फरक भएका संवत्हरुलाई कहीं शक र कहीं शाके भनिएको छ । त्यही देखेर इतिहासकारहरुले लिच्छविकालमा चलेको संवत् शकसंवत् भनेको हुनुपर्दछ र त्यही ८०२ वर्ष फरक भएका संवत्लाई शाके भनिएको पनि पाइन्छ । त्यही भएर शक भने पनि ८०२ फरक र शाके भनेपनि ८०२ नै फरक देखेर शक र शाके एउटै संवत् हुन् भन्न थालेको हुनु पर्दछ ।
अभिलेखमा मात्र होइन सुमतिसिद्धान्त सुमतितन्त्रको ४६ पृष्ठ मा पनि दिइएको यस प्रकार छ
नयनाभ्रनागा ८०२ नेपालसम्वत्सरेन संयोज्यः सकराजम्भवतिः ।
नेपालसंवत्मा ८०२ जोड्न सिकाउने सुमतितन्त्र लिच्छविकालमा रचना भएको पुस्तक हुन सक्दैन । नेपालसंवत्मा ८०२ जोड्न सिकाउन सक्ने सुमतितन्त्रलाई नेपालसंवत्मा कति जोडे कलिगत आउँछ त्यो भने बेखबर नै छ ।
कलिगतसंवत् त अहिलेसम्म पनि चलिरहेकै छ । यसपालीको पञ्चाङ्ग पात्रोमा कलिगत ५१२६ छ भने नेपालसंवत् ११४५—११४६ छ । अतः ५१२६ र ११४५ — ४६ बीचको अन्तर ३९८१ । ३९८० रहेछ भन्ने स्पष्ट हुन्छ । कलिगतसंवत् चैत्रशुक्ल प्रतिपदाबाट शुरुहुने संवत् र नेपालसंवत् कार्तिक शुक्ल प्रतिपदाबाट शुरु हुनेभएकोले चैत्रशुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल प्रतिपदा लाग्नु अघिसम्म कलिगत र नेपालसंवत्बीच ३९८१ फरक र कार्तिकशुक्ल प्रतिपदादेखि नेपालसंवत् फेरिने भएकोले चैत्रशुक्ल प्रतिपदाको अघिल्लो दिनसम्म ३९८० वर्ष फरक हुने भएको हो ।
ललितपुर उवावहीको ने.सं ५११ को अभिलेख धनवज्र वजाचार्यको पूर्वमध्यकालका अभिलेखमा संख्या ६१ पृष्ठ १८२ मा प्रकाशित छ ।
………..अथ कलिराजवर्ष ४४९२ विक्रमराजवर्ष १४४४ शकराजवर्ष १३१३ श्रीमत्नेपाललिकः श्रेयोऽस्तु ।। सम्वत् ५११ प्रथमाषाढशुक्ल दशम्यायां घटि २५ वेला एकादश्यायां तिथौः कपिलदिने……….सोमवासरे
यसमा आषाढ महीनामा नेपालसंवत् र कलिगत बीचको अन्तर ३९८१ नै दिइएको छ । अहिले पनि आषाढमा ३९८१ वर्ष कै अन्तर हुने हो ।
पूर्णिमा ७८ पूर्णाङ्क पृष्ठ ८ मा भक्तपुर सिद्धपोखरी सल्लाघारी संगैको जितामित्र मल्लको शिलालेखमा यस्तो लेखिएको छ ।
…….श्री मन्महाराजाधिराज श्रीश्रीसुमतिजय जितामित्रमल्लदेव प्रभु थाकुरसन ….नेपालसंवत् ७९८ श्रीशाके १६०० कलिगत ४७७९ विक्रम १७३५ माघमासे शुक्ल पक्षे पञ्चम्यां तिथिौ रेवतीनक्षत्रे वृ(सि)द्धियोगे बृहस्पतिवासरे थ्व कुन्हु यज्ञ याङाव प्रतिष्ठा याङा दिन ।। ।।
यसमा माघ महीनामा पनि नेपालसंवत् र कलिगत बीचको अन्तर ३९८१ नै देखाइएको छ । अहिले भने माघमा ३९८० वर्षको अन्तर हुने देखिने रहेको छ ।
ल.पु उवावहीको अभिलेखमा नेपालसंवत् संग ८०२ वर्ष अन्तर देखिने संवत् १३१३ लाई शकराज संवत् भनियो भने भक्तपुरको अभिलेखमा नेपालसंवत् संग ८०२ वर्ष अन्तर देखिने संवत् १६०० लाई श्रीशाके भनिएको छ । यो आधारमा इतिहासकारहरुले शक र शाके एउटै हुन भन्ने गरेको हो । यसो हो भन्दैमा अभिलेखको कुरालाई पनि गहिरिएर विवेचना गरी हेर्नु पर्दथ्यो र सोझै यसै हो भनी निर्णयमा पुग्न जान हुँदैनथ्यो ।
संशोधन मण्डलको अभिलख —संग्रह सातौं भागको पृष्ठ २८ मा भक्तपुर तलेजुचोकको तोरणको जितामित्र मल्लको अभिलेखमा
…….नेपालसम्वत् ८०५ ।। शक १६०६ विक्रम १७४१ कलि ४७८५ मार्गशिरकृष्ण नवम्यां ……शनैश्चरवासरे
संशोधन मण्डलको अभिलख —संग्रह एघारौ भागको पृष्ठ १६ मा भक्तपुर बोडेको महालक्ष्मीको रणजित मल्लको अभिलेखमा
……….सम्वत् ८८९ माग्र्गशिल शुदि ४ ।। श्रीसाके १६९१ विक्रमाव्द १८२६ कलि ४८७० ।। शुभ
यसरी अभिलेख संग्रहमा छापिएको तलेजुचोक र बोडेको अभिलेख दुवै मार्गमहिनाका हुन् तर एउटामा ३९८० अन्तर देखाइएको छ भने अर्कोमा ३९८१ अन्तर देखाइएको छ । त्यसकारण विवेचना नगरी सोझै निर्णयमा पुग्नु हुँदैन भन्नुको कारण यही हो ।
अर्को कुरा एउटामा शक र नेपालसंवत् बीचको अन्तर ८०१ देखाइएको छ अर्को मा नेपालसंवत् र श्रीसाकेमा ८०२ देखाइएको छ ।
यस्तो गोलमटोल समस्या अहिले मात्र होइन मल्लकालदेखि निरन्तर भइआएको रहेछ भन्न सकिन्छ ।
यस्तो कुरा संशोधन मण्डलले गहिरिएर अध्ययन नै नगरी सोझै निर्णयमा पुग्ने भूल गर्दै आइरहेको कुरा पूर्णिमा ७८ पूर्णाङ्कको पृष्ठ १५मा यसरी दिएको छ ।
यस कारण नेपालसंवत्लाई शकसंवत्मा परिणत गर्नुपर्दा कार्तिककृष्ण प्रतिपदादेखि चैत्र (अमान्तमानले फाल्गुन) कृष्ण अमावास्यासम्म नेपालसंवत्मा ८०१ जोड्नु पर्ने र चैत्रशुक्ल प्रतिपदा देखि कार्तिक(अमान्तमानले आश्विन)कृष्ण अमावास्यासम्म नेपालसंवत्मा ८०२ जोड्नु पर्ने कुरा स्पष्ट देखिन्छ ।
यो भनेको कार्तिकदेखि फागुनसम्म ८०१ जोड्ने र चैत्रदेखि आश्विनसम्म ८०२ जोड्ने भनेर संशोधन मण्डलले निर्णय दियो तर यो निर्णय आफै उलङ्घन गरी रहेको यस प्रकार छ
पाटन गचाननिको संवत, १३२ आषाढको मिति छ । तर १३२ + ८०१=९३३ हुन्छ भनेको छ । यसमा माथिको निर्णय बमोजिम ८०२ किन जोड्न सकेन ?
एवं प्रकारले “स्फोटिकावैद्यकोपुष्पिकाकोसंवत् २४०,सर्वप्रकरण सङ्ग्रहकोपुष्पिकाकोसंवत् २६७ पिङ्गलामतको पुष्पिकाकोसंवत् ३१३ शप्तशतीको पुष्पिकाको संवत् ३१६ कारण्डव्यूहको पुष्पिकाकोसंवत् ३१६, शतसहश्रिका प्रज्ञापारमिता कोपुष्पिकाकोसंवत् ४०३ नवग्रह दशाविचार पुष्पिकाको संवत् ४७३ उवावहीको ताम्रपत्रको संवत् ५११ ,गुह्यसिद्धक्रमको पुष्पिकावाक्यको संवत् ५१४ ,गुहयकाली तन्त्रको पुष्पिकावाक्यकोमिति ५२५ दशक्रिया विधिको पुष्पिका वाक्यको मिति ५४४ ,बनेपा स्वधा टोलकोचैत्यको अभिलेखमा संवत् ६५५” छन् ।
यी सवै मिति आषाढ महीनाका हुन् तर कुनैमा पनि ८०२ जोड्ने गरेको छैन । यो कुरा पूर्णिमा अंक ७८को पृष्ठ १५ देखि पृष्ठ २० सम्म पल्टाएर हेर्दा थाहा हुन्छ । यस्ता थुप्रै उदाहरणहरु दिइएकोमा एउटामा पनि ८०२ जोडेको नहुनुलाई सिद्धान्त अनुकूल भनिंदैन र यस्तो खालको गणनालाई दुनियाँको आँखामा छारो हाल्ने गणना मात्र भन्न सकिन्छ । यो पनि गोलमटोलको श्रृंखला चल्दैआएको एउटा किस्सा हो ।
संशोधन —मण्डलको कृतिहरु मध्ये सर्वाधिक तारिफ गरिएको पुस्तकमा इतिहास —संशोधनको प्रमाण— प्रमेय हो । यसमा मध्यकालीन मात्र होइन शाहकालीन अभिलेखका मितिहरुको गणना गरी ऐतिहासिक तिथि — मितिको गणना भनेर पृष्ठ ३१२ देखि ३६२ सम्म दिइएका छन् ।
पृष्ठ ३१२ मा पादटिप्प्णीमा यसरी दिइएका छन्
मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुँदा मल्लकालका तिथि— मिति को गणना अमान्तमान अनुसार यहाँ दिइएका छन् तथा शाहकालमा पूर्णान्तमानको प्रचलन हुँदा त्यस ताकाको गणना चाहिं पूर्णान्तमानअनुसार दिइएका छन् । त्यसको अपवादको रुपमा देखिनआएको ठाउँमा तत्तत् ठाउँमै यो खुलाएर लेखिएको छ ।
नेपालसंवत् मल्लकालमा मात्र होइन अहिलेसम्म पनि अमान्तमान कै प्रचलन कायम भएर आएको छ । विक्रमसंवत् चाहिंं मल्लकालमा अमान्तमान थियो भने शाहकालमा पूर्णान्तमान भएको हुन सक्ला । तर नेपालसंवत्को तिथि मितिको गणना गर्दा अमान्तमानबाट बार मिल्न आएन भने पूर्णान्तमानबाट मिल्यो भनी आँखामा धूलो छ्याप्न पाईने होइन । किनभने नेपालसंवत् शुरुदेखि अहिलेसम्म पनि अमान्तमानमा नै अटल रही आएको छ । यदि नेपालसंवत् पनि बीचबीचमा पूर्णिमान्तमान गरेर प्रचलन गरेको प्रमाणको रुपमा पञ्चाङ्ग पात्रोनै जनसमक्ष राख्न सक्नु पर्यो होइन भने हावादारी गफ दिएर अमान्तमानबाट बार मिल्न नआए पिच्छे पूर्णिमान्तमानबाट मिल्यो भनेर जादु देखाउने कुरा यो बिल्कूल होइन ।
यसको लागि पूर्णिमा अंक १ देखि हालसम्मको अंकहरु पल्टाएर हेर्दा नै थाहा हुन्छ कि पाटन क्वाछें बालकुमारीको अभिलेखमा नेपालसंवत् ४३४ वैशाखकृष्ण अष्टमी प्र नवमी बुधबार दिइएको छ तर यसको गणना गर्दा नेसं ४३४ वि.सं १३७१ वैशाखकृष्ण( पूर्णान्तमान ले ज्येष्ठकृष्ण) तिथि अष्टमी बार बुधबार ज्येष्ठ १३ गते भनेर ( अंक १ को पृष्ठ ८) इत्यादि परिणाम देखाइएको छ । यो दुनियाँलाई बेवकूफ बनाउने कुरा मात्र हो । यस्तो हिसाव एक दुई ठाउँमा पर्यो होला भन्ने होइन श्रृंखलाबद्ध रुपमा हरेक अंकहरुमा दिइएका छन् । यो इतिहास प्रधान त्रैमासिक पत्रिकाको बेइज्जत हो ।
यसरी खुल्लेआम ढाँटेको इतिहास इतिहासै होइन भन्न सकिन्छ । एवं प्रकारले गोलमटोल पृष्ठभूमिमा इतिहास लेखिंदै आएको हुनाले नेपालमा हौवा कुरा मात्र पत्याउनेहरु धेरै रहेछन् भन्ने देखियो । यदि प्रमाणित कुरा ल्यायो भने त्यो त उसको तर्क मात्र हो भन्दै ठाडै इन्कार गर्ने चलन चल्दै आएको हो । यो धङ्धङी हतपती हटेर जाने लक्षण देखापरेको छैन किनभने इतिहासकार भनाउँदाहरुले बेलाबेलामा आफनो धारणा पोख्ने क्रममा त्यस्तै धङधङी मात्र व्यक्त गर्दै आएको देखिनु भनेको धङधङी कै उपज भन्न सकिन्छ ।
निष्कर्ष
गाइ भैंसीले खोलामा गएर धेरै पानी खाएको हुनाले दूध पातलो भएको भन्ने कुरा विश्वास गर्ने कि दूधमा पानी मिसाएको हुनाले दूध पातलो भएको भन्नेमा विश्वास गर्ने ? भनेझैं त्यसरी खुल्लेआम ढाँटेको धङधङी पूर्ण इतिहासलाई इतिहास भन्दै आएको छ । एवं प्रकारले केवल गोलमटोल पृष्ठभूमिमा इतिहास लेखिंदै आएको हुनाले हौवा कुरा पत्याउने भइ आयो प्रमाण जहिले पनि ओझेलको ओझेल मै रही आए । यदि प्रमाणित कुरा ल्यायो भने त्यो त तर्क मात्र हो भन्दै उपेक्षा गर्ने चलन चल्दै आए । यसप्रकारको धङ्धङी हतपती हटेर जाने लक्षण देखापरेको छैन । किनभने इतिहासकार भनाउँदा जति सबै धङधङीलाई इतिहासको मूल धार मान्ने गरेका छन् भन्दा कुनै अत्युक्ति नहोला ।