काठमाडौं। मध्य अफ्रिकी देश क्यामरुनमा ९२ वर्षीय पल बिया राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि विरोधमा प्रदर्शनहरू तीव्र भएका छन् ।
विरोध प्रदर्शनहरू नियन्त्रण गर्न सुरक्षा बलहरूले गरेको कारबाहीमा ४८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ ९यूएन० स्रोतहरूले जानकारी दिएका छन् ।
स्रोतहरूका अनुसार धेरैजसो मानिसको मृत्यु गोली लागेर भएको थियो भने केहीको मृत्यु लाठी र कुटपिट गर्दा लागेको चोटका कारण भएको बताइएको छ ।
यद्यपि, ९२ वर्षीय पल बियाको सरकारले हालसम्म मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छैन र यस विषयमा कुनै आधिकारिक जानकारी पनि दिएको छैन । गत हप्ता निर्वाचन आयोगले पल बियालाई ५३।६६ प्रतिशत मतका साथ विजेता घोषणा गरेको थियो । उनका प्रतिद्वन्द्वी तथा पूर्वमन्त्री इस्सा त्चिरोमा बकारीले ३५।१९ प्रतिशत मत प्राप्त गरेका थिए ।
यद्यपि, अक्टोबर १२ मा भएको चुनावपछि त्चिरोमाले आफूलाई विजेता घोषणा गरेका थिए । त्यसपछि देशका धेरै भागमा विरोध प्रदर्शनहरू सुरु भएका थिए ।
‘स्ट्यान्ड अप फर क्यामरुन’ नामक एक नागरिक संगठनले गत हप्ता प्रहरी कारबाहीमा कम्तीमा २३ जनाको मृत्यु भएको दाबी गरेको थियो ।