
काठमाडौं । मुलुकमा अहिले रहेका वाणिज्य बैङ्कहरुको भीडमा एउटा अर्को वाणिज्य बैङ्क थपिने भएको छ । अहिले सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरुमा एउटा थपिएर २१ हुने भएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट ख वर्गको इजाजत प्राप्त विकास बैङ्क मुक्तिनाथ विकास बैङ्कले वाणिज्य बैङ्कमा स्तरोन्नति हुने प्रक्रिया शुरु गरेसँगै वाणिज्य बैङ्कको संख्या बढ्ने भएको छ भने विकास बैङ्कको संख्या घट्ने भएको छ ।
राष्ट्र बैङ्कका अनुसार अहिले २० वटा वाणिज्य बैङ्क र १७ वटा विकास बैङ्क सञ्चालनमा रहेका छन् ।
मुक्तिनाथ विकास बैङ्कले आफ्नो १९ औं वार्षिक साधारणसभामार्फत वाणिज्य बैङ्कमा स्तरोन्नतिको लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको हो ।
यस्तै साधारणसभाले आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
बैङ्कको लाभांश मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांशको कर सहित) रहेको छ ।
साधारणसभामा विशेष प्रस्तावहरुको रुपमा बैङ्ककोे चुक्ता पूँजी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपियाँ पु–याउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी बृद्धि पश्चात नेपाल राष्ट्र बैङ्कले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति लगायत रहेको बैङ्कले जनाएको छ ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैङ्कको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनुभएको थियो ।
बैङ्क तथा वित्तीय संस्था १०७
समिक्षा अवधिमा राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको छ ।
जसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ असार मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८२ भदौ मसान्तमा ११ हजार ५१२ पुगेको छ ।
निक्षेप खाताको संख्या छ करोड बढी
देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या छ करोड चार लाखभन्दा बढी पुगेको छ भने कर्जा खाता करिब २० लाख नजिक पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनासम्म समिक्षा अवधिमा छ करोड चार लाख ५३ हजार ५९३ रहेको छ । सोही अवधिमा कर्जा खाता संख्या १९ लाख ९३ हजार २३४ रहेको छ ।
यस्तो निक्षेप खाता वाणिज्य बैङ्कहरुमा पाँच करोड १८ लाख ५६ हजार २५२ रहेको छ भने विकास बैङ्कहरुमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीहरुमा १० लाख १९ हजार २८१ रहेको छ ।
यस्तै कर्जा खाता संख्या पनि वाणिज्य बैङ्कहरुमा १६ लाख ६२ हजार ३४२ रहेको छ भने विकास बैङ्कहरुमा दुई लाख ६७ हजार ३०३ तथा वित्त कम्पनीहरुमा ६३ हजार ५८९ रहेको छ ।
वाणिज्य बैङ्कहरुमा पाँच करोड १८ लाख ५६ हजार २५२ रहेको छ भने विकास बैङ्कहरुमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीहरुमा १० लाख १९ हजार २८१ रहेको छ ।
वित्तीय सबलता सूचक मध्यम
समीक्षा अवधिमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.९५ प्रतिशत र १३.०९ प्रतिशत रहेको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३३.९८ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.०९ प्रतिशत रहेको छ ।
विद्युतीय कारोबार बढ्दै
समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले एक करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्पmत ८७ अर्ब ३२ करोड बराबरको भुक्तानी कारोबार गरेका छन् ।
त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत छ करोड २५ लाख कारोबारबाट रु ४६८ अर्ब १५ करोड बराबरको कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड १० लाखवटा कारोबारमार्पmत रु १०१ अर्ब २३ करोड कारोबार भएका छन्



