काठमाडौं।नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक स्थगित गर्दै पदाधिकारी, पूर्वपदाधिकारी र ‘वान टू वान’ गरी नेताहरूसँग अनौपचारिक छलफल अघि बढाएका छन्।
नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका खड्काले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई दिन पर धकेलेर समझदारी खोजिरहेका छन्।
ललितपुरको धोविघाटमा आइतबार बिहानदेखि नै कार्यवाहक सभापतिले नेताहरूसँग छलफल गरिरहेका हुन्।
यही बेला नेता शेखर कोइरालानिकट युवा विद्यार्थीहरूले सानेपास्थित केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी गरे। नियमित महाधिवेशन कार्यतालिका तत्काल ल्याउनुपर्ने र ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित नगरेसम्म ताला नखोल्ने अडान युवा विद्यार्थीहरूको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको आवाज उठेको छ। त्यसका लागि चुनावअघि महाधिवेशन गरिहाल्नुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालालगायत नेता छन् भने सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्नुपर्नेमा छन्।
महाधिवेशन कार्यतालिका ल्याउन संस्थापन पक्ष (सभापति देउवा पक्ष) तयार नदेखिँदा पछिल्ला केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित रहे।