
काठमाडौं।बैंकहरूले सोमबार एकै दिन करिब ८ खर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका छन्।
स्थायी निक्षेप सुविधाअन्तर्गत ३९ वटा बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि ७ खर्ब ३ अर्ब रूपैयाँ जम्मा गरेका हुन्। यसको ब्याजदर ३ प्रतिशत छ।
त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत् १८ वटा बैंक तथा वित्तीय संस्थाले ९० अर्ब जम्मा गरेका छन्। यसमा ४२ दिनका लागि पैसा जम्मा गरिन्छ। बैंकहरूले पाउने ब्याज औसत २.७२ प्रतिशत हुन्छ।
बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकमा जम्मा हुने रकमले अर्थतन्त्रको उतारचढाव संकेत गर्छ।
बारम्बार ठूलो रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने अवस्थाले बजारमा कर्जाको माग अत्यन्तै घटेको संकेत गर्छ।
केही समय अघिदेखि बैंकिङ प्रणालीबाट अपेक्षित कर्जा जान सकेको छैन। बैंकहरूले ब्याजदर घटाउँदा पनि कर्जा माग बढ्ने नसकेको बैंकरहरू बताउँछन्। त्यसमाथि पछिल्लो समय मुलुकको राजनीतिक अस्थिरता र लगानीको असुरक्षाका कारण कर्जा माग ह्वात्तै घटेको उनीहरूको भनाइ छ।