एक वर्षमा १२ वटा संक्रान्ति हुन्छन् । ती १२ वटा संक्रान्ति भित्र ३६५ दिन हुन्छन् । यसलाई अर्को भाषामा भन्नु पर्दा एक वर्षमा १२ वटा महिना हुन्छन् भने ती १२ वटा महिना भित्र ३६५ दिन हुन्छन् । यो कुरा अति सामान्य हुन्, यति सामान्य कुरा थाहा नहुनु राम्रो होइन र यो कुरा थाहा नहुनेले नेपालसंवत्को क्यालेण्डर बनाउनु पनि उचित होइन ।
एक वर्ष भित्र १२ वटा संक्रान्तिको बार गणना गरी सकेपछि एक संक्रान्तिको बारदेखि अर्को संक्रान्तिको बारसम्म दिन भर्दै गइन्छ । त्यसरी दिन भर्दै जाँदा एक संक्रान्तिदेखि अर्को संक्रान्तिसम्म ३०,३१, मात्र होइन कुनैमा २९ र ३२ दिनसम्म पनि हुन सक्दो रहेछ भन्ने कुरा क्यालेण्डर पल्टाएर नै थाहा हुन्छ ।
त्यस्तैगरि अर्को सामान्य कुरा भनेको चान्द्रवर्षमा एक चान्द्रमासमा २९.५ दिनको मात्र महिना हुन्छ तिथि भने ३० हुन्छ । १२ महिनामा २९.५ दिनको महिनाको हिसावले १२ महिनाको दिन १२ गुणा २९.५ गर्दा ३५४ दिन हुन्छ । चान्द्रमासमा संक्रान्तिको कुनै गुञ्जायस हुँदैन । त्यतिमात्र होइन २९,३०,३१ र ३२ दिनको महिनाको पनि कुनै गुञ्जायस हुँदैन । त्यसकारण यदि विशुद्ध चान्द्रमासको क्यालेण्डर कल्पना गरी बनाइयो भने हरेक महिनामा २९.५ दिनको महिना गरेर १२ महिनामा ३५४ दिनको दिन गन्ति अवश्य बन्छ । चान्द्रमासमा संक्रान्तिको गुञ्जायस नहुने भएकोले हरेक ३ वर्षमा एउटा अधिकमास आउने संभावना त्यहाँ हुँदैन तर हामीलाई अधिकमास चाहिन्छ । त्यो अधिकमास कहाँ निर पर्दछ भन्ने कुरा थाहा पाउन बिना संक्रान्तिको सहारा भन्न संभव हुँदैन । फेरि हरेक चान्द्रमासमा २९.५ दिन भन्दा बढी कुनै पनि हुँदैन । त्यसकारण मंसिर,पौष,माघ र फागुन यी चार महिना मध्ये दुइवटा महिनामा २९ दिन हुने र जेष्ठ,आषाढ,श्रावण र भाद्र यी चार महिनाहरु मध्ये दुई वटा महिनामा ३२ दिनसम्म पनि हुनसक्छ । चान्द्रमासको क्यालेण्डरमा यो कुराको कुनै संभावना हुँदैन । नेपालसंवत्को क्यालेण्डर पल्टाएर हेरियो भने २९ दिनको महिना हुनेको २९ , ३० को महिनाको ३० ,३१ को महिनाको ३१ र ३२ दिनको महिनाको ३२ दिन नै देखाएर कार्तिक महिना एउटा मात्र १८ या १९ दिनको बनाइ आएको छ । यसको कारण नेपालसंवत्लाई चान्द्र वर्ष हो भनेर मानेर ३५४ दिनको बनाएर कार्तिक महिना हरेकवर्ष ३० दिनको हुने बदला ११।१२ दिन घटाएर १८।१९ दिनको महिना बनाइ आएको छ । यसरी केटाकेटी भुलाउने पाराको क्यालेण्डर बालक केटाकेटीको लागि बनाएको मात्र भयो वयस्क कसैलाई काम लाग्दैन । वास्तवमा हरेक कार्तिक संक्रान्तिदेखि मंसिर सक्रान्तिसम्म ३० दिन नै हुनु पर्छ । त्यसरी १८।१९ दिन मात्र देखिने कार्तिक कुनै ज्योतिष शास्त्रमा छैन । त्यसकारण यस्तो महाभूल नेवार समुदायले आजसम्म किन गर्दै आएको हो बुझ्न सकिएको छैन ।
ज्योतिष शास्त्रका अनुसार हरेक चान्द्रमासमा २९.५ दिन हुने भएकोले चान्द्रमासको क्यालेण्डरमा महिनामा २९,३०,३१ र ३२ दिनको हुनसक्छ भनी कल्पना नै गर्न सकिंदैन । नेपालसंवत् यदि साँच्चै चान्द्रमासको वर्ष हुँदो हो भने यस क्यालेण्डरमा हरेक महिना २९.५ दिनको बनाएर त्यहाँ संक्रान्तिको उपस्थिति नगराइएको देखिनु प¥यो । जब संक्रान्तिको उपस्थिति गराइन्छ त्यहाँ ३६५ दिन अनिवार्य हुन आउँछ । अन्यथा संक्रान्ति देखाएर चान्द्रमास किमार्थ बन्न सक्ने होइन । केवल ३५४ दिनको वर्ष भनेर मान्नको लागि मात्र कार्तिक एउटा १८ या १९ दिन देखाउँदैमा हुने होइन । त्यस प्रकारको क्यालेण्डर बनाएर त्यो शुद्ध र सही ठहरिने वाला पनि होइन भन्ने कुरा माथि केन्द्रित गर्दै यो लेख तयार गरिएको हो ।
संक्रान्ति
सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेकोलाई संक्रान्ति भन्ने गरेको कुरा जुनसुकै शास्त्र पल्टाए पनि त्यहाँ पाउन सक्ने कुरा हो । हुनत हरेक ग्रहहरुको पनि संक्रान्ति हुन्छन् तर ज्योतिष शास्त्रमा केवल रवि संक्रान्तिलाई संक्रान्तिको द्योतक मानेको कुरा स्मृति कौस्तुभ ग्रन्थमा पाइन्छ भन्ने कुरा धर्म शास्त्रका इतिहासमा स्पष्ट उल्लेख छ । धार्मिक तथा साँस्कृतिक महत्वको दृष्टिले भन्नु पर्दा ग्रहण ,औंशी र पूर्णिमाको जति महत्व हुने हो संक्रान्तिको पनि उत्तिकै महत्व मानेको छ । नेपालमा पनि हरेक संक्रान्तिमा तीर्थमा गइ स्नान गर्नु चोखो पानीले स्नान गर्नुलाई नित्यकर्म मान्नेहरु छन् । त्यतिमात्र होइन सँल्हु सेवा भनेर हरेक संक्रान्तिको दिनमा विशेष पूजा गर्न गुठी समेत राखिएका हुन्छन् । सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथमा हरेक संक्रान्तिमा दर्शन पूजा गर्ने हामी मध्ये धेरैको संस्कार नै रही आएको छ । अझ धर्ममा विश्वास गर्नेहरुले त हरेक संक्रान्तिमा स्नान गर्नाले सात जन्मसम्म पनि निरोगी र धनले सम्पन्न हुन पाउँछ भनी विश्वास गर्दछन् । जेहोस् विश्वासमा भर पर्ने कुरा छोडेर शास्त्रीय प्रमाणलाई आधार मानेर भन्नु पर्दा १२ संक्रान्तिलाई चार श्रेणिमा विभाजन गरी हेर्ने गरेको पाइन्छ । जस्तै ः – १ अयन संक्रान्ति २ विषुव संक्रान्ति ३ षडशीतिमुख संक्रान्ति र ४ विष्णुपदी संक्रान्ति छन् ।
१. अयन संक्रान्ति : माघे संक्रान्ति र श्रावणे संक्रान्तिलाई राशिबाट भन्नु पर्दा मकर र कर्कट संक्रान्ति पनि भन्न सकिन्छ । माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुने र कर्कट संक्रान्तिदेखि सूर्य दक्षिणायन हुने हुनाले यी दुई संक्रान्तिलाई अयन संक्रान्ति भनेका हुन् । एक वर्षमा केवल दुई अयन हुन्छन् जसमा छ महिना उत्तरायण र छ महिना दक्षिणायन हुन्छ । अहिले कतिपय मान्छेले भ्रम सृजना गरी यस मान्यतालाई ठाडो चुनौति दिन थालेको पाइन्छ । त्यो भनेको आषाढको ७ गतेदेखि सूर्य दक्षिणायन हुने र पौषको ७ गतेदेखि सूर्य उत्तरायण हुने भन्न थालेका छन् । यसको निमित्त मुख्य सहारा लिएको भनेको नयराज पन्तको लिच्छविसंवत्को निर्णयको पृष्ठ १३६ मा दिइएको छ । यस प्रकारका भ्रममा विश्वास गर्दै उल्का गर्दै आएका हुन् ।
२. विषुव संक्रान्ति : वैशाख संक्रान्ति र कार्तिक संक्रान्तिलाई विषुव संक्रान्ति भनिन्छ । यसलाई राशिबाट भन्नु पर्दा मेष र तुला संक्रान्ति पनि भन्न सकिन्छ । यी संक्रान्तिलाई दिन र रात बराबर हुने दिन मानिन्छ । धर्ममा आस्था राख्नेहरुले माघे संक्रान्ति र श्रावणे संक्रान्तिमा गरेको दान धर्म जप ध्यान गरेको जति पनि पुण्य हो त्यो विषुव संक्रान्तिको दिनमा अक्षय हुन्छ भन्ने विश्वास लिइ आएको छ । पुण्य आर्जनको कुरा जे जस्तो भए पनि अयन संक्रान्ति र विषुव संक्रान्ति ज्योतिष शास्त्रमा अत्यन्त महत्वपूर्ण मानिन्छ । विक्रमसंवत्ले मेषसंक्रान्ति समातेको हुनाले वैशाख १ गते वर्षको पहिलो दिन मान्दै आएको छ । नेपालसंवत् कार्तिकादि भएकोले यसले तुला विषुव समातेको छ । तर नेवार समुदायमा गते भनेको विक्रमसंवत्को हो भने तिथि नेपालसंवत्को हो भन्ने भ्रम पाल्दै आएको कारण तुला विषुवसंक्रान्ति हो र यो कार्तिक १ गतेबाट वर्ष फेरिने कुरालाई ठाडै उलङ्घन गर्दै आएको छ । तुला विषुव संक्रान्तिलाई आत्मसात गर्ने बित्तिकै तिथिको मान्यतामा खलबलिने होला भन्ने डराएको पो हो कि अनुमान हुन्छ । जब विक्रमसंवत्ले तिथिलाई आधार मानेर अभिलेख राखेका कैयन उदाहरण पाइन्छ उता संक्रान्तिको मान्यतामा कुनै खलल आएन भने नेपालसंवत्मा संक्रान्तिको आधारमा गते मान्दापनि तिथिमा कुनै खलल आइ पर्ने होइन । नेपालसंवत्मा पनि संक्रान्ति त उल्लेख गरियो तर कार्तिक एउटा १९ दिन गर्दा २० औ दिनमा संक्रान्ति ल्याउन असंभव भएकोले हरेक वर्ष चुकेको भनेको यही हो ।
३. षडशीतिमुख संक्रान्ति : आषाढ,आश्विन,पौष र चैत्रको संक्रान्तिलाई षडशीतिमुख भनिन्छ यसलाई राशिबाट भन्नु पर्दा मिथुन,कन्या,धनु र मीन संक्रान्ति पनि भन्न सकिन्छ । यी महिनामा शिव लगायत अन्य विविध देवीदेवताको पर्व पर्ने गर्दछ । अतः यी महिना विशेष नभइ सामान्य महिना कहलिन्छ ।
४. विष्णुपदी अर्थात् विष्णुपद संक्रान्ति : जेठ,भाद्र,मंसिर र फागुनको संक्रान्तिलाई विष्णुपदी संक्रान्ति भनिन्छ । यसलाई पनि राशिबाट भन्नु पर्दा वृष,सिंह,वृश्चिक र कुम्भ संक्रान्ति पनि भन्न सकिन्छ । यी महिनामा विशेष गरी भगवान विष्णु सित सम्बन्धित पर्वहरु बढी पर्न आउने भएकोले विशिष्ट महिना हुन् तापनि ज्योतिषीय दृष्टिले यी पनि सामान्य महिना नै कहलिन्छ ।
अधिकमास
गत दुई वर्ष अघि २०८० सालको साउन १ गते र भाद्र १ गतेको बीचमा सिंगो चान्द्रमास पर्न आएको कुरा सायद कसैले बिर्सेको छैन होला । त्यस्तै गरी गत पाँच वर्ष अघि २०७७ सालमा पनि भाद्र १ गते र असोज १ गते बीच एउटा ंिसंगो चान्द्रमास पर्न आएको थियो । यदि यो कुरा साँच्चै बिर्सेको भए पञ्चाङ्ग पात्रो त धेरैको घरमा संकलनमा रहेकै होला । घरमा झट्ट भेटिएन भने पनि पुस्तकालय र अभिलेखालयहरुमा गएर हेर्न त अवश्य सकिन्छ ।
वि.सं २०८० सालको साउनमा ३२ दिनको महिना र २०७७ सालको भाद्रमा ३१ दिनको महिना छ । त्यहाँ दुइटा संक्रान्तिको बीचमा सिंगो २९.५को चान्द्रमास पर्न आउँदा पनि त्यो चान्द्रमासले संक्रान्तिलाई छोएन । यसको मतलव ३१ र ३२ दिनको महिनाहरुमा मात्र अधिकमास पर्दो रहेछ भन्ने ज्ञान लिन सक्छौं । पुस माघ र फागुन महिना स्वयं २९ दिनको महिना हुने हुँदा सिंगो २९.५ दिनको चान्द्रमास त्यतिबेला कुनै हालतमा पर्न आउँदैन । फेरि दुइटा संक्रान्तिलाई नछोएको महिना हुनको लागि ३१ र ३२ दिनको महिना हुने बेला मात्रै संभव हुँदो रहेछ भन्ने पनि ज्ञान लिन सक्छौं । यस अतिरिक्त कुनै वर्ष अधिकमास पर्न आयो भने पनि १३ महिना हुने पनि होइन र १३ गुणा ३० गरेर ३९० दिनको वर्ष हुने पनि होइन भन्ने कुरा सहजै बुझ्न सकिने कुरो हो । यता तिर ख्यालै नगरी दुनियाँ अधिकमास भएको वर्ष १३ महिना हुने र १३ महिना बराबर ३९० दिन हुने भन्दै गलत धारमा दौडाइ रहेको छ । यस कुरालाई बढी प्रश्रय पं नयराज पन्तको लिच्छविसंवत्को निर्णयको पृष्ठ १२ मा देखिन्छ । यही पुस्तकको पृष्ठ १०६ पल्टायौं भने वेदाङ्गज्योतिषमा ३६६ दिन हुन्छ वास्तवमा ३६५ दिन १५ घडी जतिको मात्र वर्ष हुन्छ भनेर स्वीकारेको पनि छ । यसरी एकातिर वर्ष दिन हुन ३६५ चाहिन्छ भन्ने चैत्रादि वर्षको माघ शुक्ल त्रयोदशीलाई ३४३ तिथिगण मानेर बाँकी ४७ दिनसम्ममा ३९० दिन हुने कल्पना गरेर दुनियाँलाई बेवकूफ बनाइ दिएको छ । यसलाई विद्वताको चरम दुरुपयोग भन्न सकिन्छ ।
अहिलेसम्म नेपालमा यस्ता अधिकमासहरु कतिआए कतिगए तर कुनै पनि वर्षमा ३९० दिनको पञ्चाङ्ग पात्रो बनेन । यसको अर्थ ३६५ दिनको वर्ष हुन्छ त्यो भन्दा १ दिन मात्र बढी भयो भने त्यो अर्को सालमा पर्न जान्छ । यसरी संक्रान्तिले नछोएको चान्द्रमासलाई अधिकमास भन्छ र यो अधिकमास भरि भगवान नारायणको दर्शन पूजा हुन्छ तर अरु अनुष्ठानको धार्मिक कृयाकलाप कुनैपनि हुँदैन । नेपालमा असार र पुस महिनामा कुनै चाड पर्व जात्राहरु पर्न आउँदैन । त्यही भएर लिच्छविकालका अभिलेखहरुमा असार र पुसमा अधिकमास मनाएको कारण यही हुनसक्छ । भनाइको तात्पर्य अहिले पुसमा अधिकमास पर्दैन भने त्यो बेला पनि अधिकमास परेको होइन । कार्तिकदेखि चैत्रभित्र कुनै महिनामा अधिमास पर्न आए त्यो अधिकमास असारमा लगेर मनाउने र वैशाखदेखि असोज भित्र कुनै महिनामा परेको अधिकमास पुसमा मनाउने गरेको यथार्थ तात्कालिक अभिलेखको अध्ययनले बताइ रहेको छ । यहाँ पनि ऐना हुँदा हुँदै दुनियाँ कुवा खोज्नमा ब्यस्त देखिंदै आएको छ ।
२९.५ दिन भएको कुनै चान्द्रमास कुनबेला अधिकमास ठहरिन गयो भन्ने कुरा चान्द्र वर्षमा कुनै अत्तोपत्तो हुँदैन । जब दुइटा संक्रान्तिका बीचमा एउटा सिगो चान्द्रमास बस्न आएको देखिने हुन्छ र त्यो चान्द्रमासले संक्रान्तिलाई छोएन भने मात्र त्यो चान्द्रमास अधिकमास भनेर परिभाषित हुन आउने गर्दछ । त्यसकारण संक्रान्तिको महत्व कलिगतसंवत्, विक्रमसंवत् र शकसंवत्लाई मात्र हुने होइन , नेपालसंवत्लाई पनि हुने भएकोले नेपालसंवत्मा संक्रान्तिको उपस्थिति छैन भनी कल्पना गर्नु महाभूल हो ।
उदाहरणको रुपमा क्यालेण्डर
यसपालीको क्यालेण्डरमा पनि कार्तिक महिना ३० दिनको छ र कार्तिक ५ गते बुधबारको दिन म्हपूजा भनेर दिइएको छ । किनभने यो दिन कार्तिक शुक्ल प्रतिपदा हो । हरेक कार्तिक शुक्ल प्रतिपदाको दिन म्हपूजा पनि गरिन्छ र त्यही दिन देखि नेपालसंवत् आरम्भ हुने भएकोले यही दिन नेपालसंवत् ११४६ आरम्भ हुन्छ ।
यसको मतलव ५ गतेको अघिल्लो दिन औंशीको दिनसम्म नेपालसंवत् ११४५कायमै रहे । ११४५को शुरु गत कार्तिक १७ गतेदेखि भएकोले ३० गतेसम्म १४ दिन कार्तिक रहे । यही नेपालसंवत् ११४५ को अन्तिममा कार्तिक ४ गतेसम्म रहने भएपछि शुरुको १४ दिन र अन्तको ४ दिन जोड गर्दा त नेपालसंवत् ११४५को कार्तिक त जम्मा १८ दिनमात्र सीमित भए । यसरी नेपालसंवत् ३५४ दिनको वर्ष बनाउनको लागि कार्तिक महिना एउटा १८ या १९ दिनको बनाइ आएको भयो । यो कुरा सर्वात्मना अवैज्ञानिक ठहर भएको छ ।
निष्कर्ष
क्यालेण्डर पञ्चाङ्ग भनेको कसैको रहर परिपूर्ति गर्न बनाइने विषयवस्तु होइन । विक्रमसंवत् उल्लेख भएका अनगिन्ती अभिलेखहरुमा गते नलेखी तिथि लेखियो भन्दैमा त्यो संवत् पनि चान्द्रमानको संवत् ठहराउन सकिंदैन भने जस्तै नेपालसंवत्मा तिथि मात्र उल्लेख गरियो भन्दैमा त्यो सौरमानको होइन भनी ठहराउन सक्दैन । किनभने दुवैमा संक्रान्ति पनि छ तिथि पनि छ । ती मध्ये विक्रमसंवत् मेष विषुवबाट शुरु हुन्छ भने नेपालसंवत् तुला विषुवबाट शुरु हुने परेको छ । नेवार समुदायले तुला विषुव कार्तिक १ गतेको सट्टा कार्तिक शुक्ल प्रतिपदालाई वर्षको पहिलो दिन मान्दै आएको मात्र हो । नेपालसंवत्मा संक्रान्तिको उपस्थिति भइभइकन पनि गतेलाई उपेक्षा गर्दैमा ,३५४ दिनको चान्द्रवर्ष ठहरिने किमार्थ होइन । कसैले यथार्थलाई बदल्छु भन्दैमा बदल्न सकिने होइन र ध्रुवसत्य कुरा परिवर्तन गर्छु भन्दैमा परिवर्तन गर्न सकिने कुरा होइन । त्यसैले हामी भन्न सक्दछौं कि हरेक क्षेत्रमा विचार गरी हेर्ने हो भने त्यहाँ “अल्पज्ञानं भयावह” कै स्थिति भइरहेको पाइन्छ । नेपालसंवत् ३५४ दिनको वर्ष हो भन्नु पनि त्यसैको नतिजा मात्रै हो ।