
भक्तपूर। मंगलबार नेकपा एमालेको ५७ औं सचिवालय बैठक भक्तपूरको गुण्डुमा बसेको छ ।
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गर्ने सरकारको तयारीप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । जेन–जी आन्दोलन जाँचबुझ समितिले आन्दोलनमा दमन गरेको भन्दै छानबिनका लागि निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गर्ने निर्णय सार्वजनिक गर्दा गुण्डुमा एमालेको सचिवालय बैठक चलिरहेको थियो । सोही बैठकले यसप्रति गम्भीर असहमति प्रकट गर्दै आपत्ति जनाउने निर्णय गरेको हो ।
बैठकमा भएको निर्णय जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूलाई बाहिर राखेर अघि बढ्ने सुशीला कार्की नेतृत्वको सरकारले निषेधको बाटोमा हिँड्न खोजेको र त्यसप्रति एमालेले आपत्ति प्रकट गरेको बताए ।
ज्ञवालीले उनले गृह मन्त्रालयले आन्दोलनका नाममा चोरी र आगजनीमा संलग्नलाई कारबाही नगर्नू भन्ने निर्देशन दिनु विधिको शासनविपरीत भएको बताए । ज्ञवालीले नेपाल प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न नदिइनु आपत्तिको विषय भएको बताए ।
एमालेले सचिवालय बैठकले निम्न निर्णय गरेको महासचिव शंकर पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

१. भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गंभीर प्रश्न खडा गरेको छ ।
२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ ।
३.पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।

