विशेष सम्पादकीय
दशैंको हार्दिक शुभकामना
दशैंको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहिआएको छ ।बडा दशैं, दशहरा, विजया दशमी,आयुध पुजाका नामले समेत जानिने पर्व हो दशैं।हिन्दुधर्मको शक्तिस्वरुपा नवदुर्गाको विशेष पुजाआराधनाको पर्व दशै ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गर्ने र दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गर्दै कोजाग्रत पुर्णिमासम्म मनाउने पर्व हो दशैं ।बच्चाहरुले मिठो खाने खुवाउने, राम्रो लगाउने, पिङ खेल्ने,मान्यजनहरुबाट टीका जमरा र आशिक थाप्ने सुन्दर पर्व हो दशैं। यस्तो दशैं हाम्रो घरसंघारमा आइसकेको छ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।
देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता,अराजकता,अब के होलाको अन्यौलले सबैतिर सन्त्रस्त वातावरण छ । अन्तरिम सरकार बनेको छ । निर्वाचनको मिति तोकिएको छ ।तर,राष्ट्रसेवक कर्मचारीहरु र सुरक्षा निकायको मनोवल उच्च बन्न सकेको छैन् । जेनजीको आन्दोलनमा भएको घुसपैठका कारण जनधनको व्यापक क्षति भएको छ । भौतिक संरचना र सवारी साधनहरुको आगजनीले देश नै खण्डहर भएको प्रतित भएको छ । पर्यटन व्यावसायीहरु उठ्नै नसक्ने गरी थलिएका छन् । उद्योग व्यावसायीहरु असुरक्षाको कारण लगानीबाट भाग्ने हो कि भन्ने उस्तै डर छ । यो सबैको समस्याको जड भनेको वर्तमान राजनीतिक प्रणालीमा नेतृत्वमा रहनेहरुको अकर्मण्यता,सुशासनको प्रत्याभूति नहुनु, भ्रष्टाचारमा बढोत्तरी हुनु जस्ता कारणले भएको हो ।आशा गरौं,अब विस्तारै सुधार हुनेछ ।
जे होस दशैं आएको छ, मान्नैपर्छ ।
त्रेता युगमा विजयादशमीकै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा समेत मान्ने प्रचन रहेको ग्रन्थहरुको उल्लेख छ । त्यसैले दशैं शक्ति–पूजाको पर्व, शस्त्र पूजनको तिथि समेत मानिन्छ । दशैंको धार्मिक एवंम साँस्कृतिक महत्व ज्यादै रहिआएको छ ।असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा बनाइने दशैं पर्वले देशमा राजनीतिक स्थिरता र सुशासनको प्रत्याभूतिको लागि राजनीतिज्ञहरुलाई प्रेरणा देओस कामना गर्दछौं ।
आशाबादी हुनुको विकल्प छैन् । फेरी मुलुकले छिट्टै समुन्नतिको बाटो पक्डनेछ आशा गरौं । फजुल खर्च नगरौं,आवश्यकता र औचित्यताको आधारमा खर्चगरी पर्व मनाऔं ।
हामी हाम्रा सम्पूर्ण पाठक,सहयोगी,विज्ञापनदाता,सुभेच्छुक सबैमा विजया दशमीको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । दशैं उल्लासको पर्व बनोस,दशा नबनोस ।हामीले दशैंलाई साहित्यमय बनाउन विभिन्न कवि,साहित्यकारहरुका सृजनाहरुलाई स्थान दिएका छौं । आशा छ,पाठकहरुले दृष्टि दिनुहुनेछ । सुझाव,सल्लाहको सदा झैं अपेक्षा राखेका छौं।
