पनौती।काभ्रे।भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको भिडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पनौती नगर सभापति विवेक भट्टराईले राजीनामा दिएका छन्।
उनले भदौ २५ गते नै राजीनामा दिएको फेसबुकमार्फत् बताएका छन्।
नगर सभापति भट्टराईले कांग्रेस नेता शिव हुमागाईंको सवारी साधनमा आगो झोसिरहेको भिडिओ सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ।
भदौ २४ गते प्रदर्शनका क्रममा पनौती नगरपालिकाका पूर्वमेयर भीम न्यौपाने, वर्तमान मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जारा, पूर्व सांसद शिव हुमागाईं, क्याप्टेन एवम् सञ्चार उद्यमी रामेश्वर थापा लगायतको घर तोडफोड र आगजनी भएको थियो। पूर्वमेयर न्यौपाने,वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी लगायतको घरमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
‘हिजो भएको जेन जीको आन्दोलनमा पार्टीको झन्डा त्यागेर जनताको रूपमा उत्रन आह्वान गरेको थिएँ। नगरपालिका लगायतमा भौतिक क्षति हुन नदिनका लागि सकेको प्रयत्न गरेकै पनि हो। जसका क्रममा मलाई केही चोट लागेपश्चात् घर फर्किसकेपछि उग्र रूप लिएको भिडले सार्वजनिक तथा व्यक्तिगत भौतिक सम्पत्तिमा क्षति पुर्याएको खबर पाउँदा दुःख लागेको छ। परिवर्तन हाम्रो चाहना हो, जुन भविष्य ले देखाउला। हाललाई नैतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापतिको रूपमा रहिरहन मेरो आत्माले दिँदैन। त्यसैले आजकै मितिबाट सक्रिय राजनीतिलाई यहीँ विसर्जन गर्दै मेरो पदबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले लेखेका छन्।
भट्टराईले पूर्व मेयर न्यौपानेलाई सोही दिन साँझ आगजनी गर्न युवाहरु आएका तर आफुले रोक्न नसकेको,जोगिनु भनि फोन समेत गरेका थिए ।
आगजनी र तोडफोड भएपछि स्थानीयले पूर्व नगरप्रमुख न्यौपानेको घर स्वस्फूर्त बनाइदिने भन्दै अभियान चलाएका छन्।

