
काठमाडौं।हाल देशभरि मनसुनको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।
कास्की, म्याग्दी, मुस्ताङ, लमजुङ, सिन्धुपाल्चोक, दोलखा, झापा, पाँचथर, धनकुटा, सिरहा, उदयपुर, सर्लाहीका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
सोमबार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो नै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा पछिल्लो एक घन्टायता १०.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिन्धुपाल्चोकको तार्के घ्याङमा ९ मिलिमिटर वर्षा भएको छ। मोरङको लेटाङमा ६.६ मिलिमिटर, ताप्लेजुङमा ६.४ मिलिमिटर, धनकुटाको मुलघाटमा ४.२ मिलिमिटर वर्षा भएको छ।


