
नेवार बुद्धधर्म,( महायान /वज्रयान )दर्शनको प्रमुख उद्देश्य बोधिचित्त हो। सम्पूर्ण प्राणीमात्र होइन मनुष्य जीवन लाई नभन हुने पर्यावरण समेत संरक्षण, सुरक्षा गर्ने गरी उद्धार गर्नको लागि बुद्ध हुन सकूँ भन्ने दृढ आशय र प्रतिज्ञा (प्रार्थना) गर्नु लाई नै महायान दर्शनले “बोधिचित्त” भनिन्छ। संस्कृत भाषामा – “बुद्धो भवेयम् जगतो हिताय’
चारसय कल्प पहिले सिद्धार्थ गौतमबुद्धले सुमेध ऋषि नामको , ऋषि जन्म लिई चर्या गरिरहेको वेला दीपंकर भन्ने बुद्ध ललितपुरको दीपावति नगरमा गुँला (श्रावण) महिनाको दुर्वाष्टमी एकदिन अगाडि रातमा (वत्ती) को रुपमा झल्ल बली स्वर्गबाट तल झर्नु भइ दुर्वाष्टमीको पावन दिन ललितपुरमा भिक्षाटनमा जानु भएको थियो । वहाँ सुमेध ऋषि भई रहनु भएको सिद्धार्थ गौतमले दीपंकर बुद्धलाई देख्ना साथ म पनि पुनर्जन्ममा दीपकर बुद्ध जस्तै बुद्ध हुन सकू भनी मन मनै प्रार्थना गरे । यसरी सुमेध ऋषि (सिद्धार्थ गौतम ) को प्रार्थना दीपंकर बुद्धले बुझनु भई सुमेध ऋषि रूपी सिद्धार्थ गौतमलाई, चार सय कल्प पछि सबै बोधिसत्वचर्या पूर्ण भएपछि तिमि पनि बुद्ध हुनेछ भनी भविष्य व्याकरण गर्नु भयो।
यस प्रकार महायान / वज्रयान बुद्ध धर्ममा बुद्ध बन्न सकूँ भन्ने बोधिचित्तलाई सफल गर्ने चर्या अत्यन्त लामो र गाह्रो लक्ष्य मानिन्छ अतः बेधिचित्त उत्पन्न गरे पनि एक दुई ,दिन वा एक दुई बर्षको चर्या र पुण्यले बुद्ध बनिदैन भन्ने हामीले सम्झनु पर्छ|उपर्युक्त तथ्यले के संकेत गर्छ भने बुद्ध बनी, जगत संसारको उद्धार गर्न, पुण्यसम्भार र ज्ञानसंभार युक्त हुन षटपारमिता अर्थात् दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञापारमिताको अनवरत अभ्यासको आवश्यकता हुन आउँछ।
वस्तुत: दान पारमिता नै बुद्धपथमा अग्रसर हुने पहिलो खुडकिला हो भन्ने कुरा हामीहरूले विर्सनु हुँदैन । दान पारमिता पूर्ण गराउने उद्देश्यले नै दानपारमितामा यो यो दानले यो यो पुण्य लाभ हुन्छ भनी दानको महिमा दानगाथामा स्पष्ट संग व्याख्या गरिराखेको पाइन्छ ।
त्यहि कारणले नेवार समुदायले गुँला पर्वलाई आफ्नो पुण्यसंभार र ज्ञानसंभार पूर्ण गर्ने महान पर्वका रूपमा मानीदै आइरहेको हामी पाउछौ ।नेवार बुद्धधर्ममा दीपंकर बुद्ध बाट नै सिद्धार्थ राजकुमार शाक्य सिंह लाई गौतम बुद्ध बन्ने प्रेरणा प्राप्त भयो । यसको साथ साथै बोधिचित्त रूपी उज्ज्वल प्रदीप, हामी समस्त नेवारको हृदयमा प्रज्वलित हुने प्रेरणा पाए। यही महत्त्वपूर्ण दिनको संस्मरणमा आजसम्म श्रावण महिनामा दुर्गाष्टमीको दिन “यल पञ्चदान”चलि आइरहेको पाइन्छ | नेवार बुद्धधर्ममा दीपंकरबुद्ध बोधिचित्त र दानपारमिताको उद्गम विन्दुका रूपमा मान्न सकिन्छ |
यति मात्र होइन, गुँलापर्वमा दीपंकर पृथ्वी मण्डलमा झर्नुका अलावा परापूर्वकालमा यहि चैत्र महिनामा वन्धुमति नगरबाट नेपालमण्डलको नागहृद दर्शन गर्न बिपश्वी बुद्ध पाल्नु भएको थियो । नागहृदको सौन्दर्यले मन्त्र मुग्ध भई विपश्वी बुद्धले चैत्र पूर्णिमा (ल्हुति पुण्ही) को दिन एउटा कमलको बीज नागहृदमा रोपेर गएका थिए। सोहि कमलको बीउ क्रमश सहस्रदल कमलको रूपमा फूले। त्यही सहस्रदल कमलको केशरको मध्य भागमा एक हात अग्लो स्फटिक, हीरा उत्पत्ति भयो।
यसको चारैतिर उज्यालो पञ्चरश्मीको ज्योति निस्की रहेको दृश्य अत्यन्त मनमोहक थियो। यो विचित्र लक्षणलेयुक्त स्फटीक, हीरा रक्षा गर्ने उद्देश्यले मञ्जुश्री भगवान् मञ्जुदेवको रूप लिई यहाँ नागहृदको पानी सुकाई उक्त ह्रदलाई वस्ती बस्न योग्य शहर बनाए । साथै ठूलो ढुङ्गाले छोपी त्यसमाथि स्वयम्भू चैत्य निर्माण गर्न काम श्रावन महिना (गुला पर्व) मा नै भएको थियो । यहि महत्वपूर्ण संस्मरणको रूपमा सकल श्रदालुहरूले गुँलापर्व र कार्तिक महिनामा कालो माटोको चैत्य बनाई पूजा गर्ने परम्परा चलि आइरहेको पाइन्छ । यसरी गुँलापर्वमा निर्माण भएको स्वयम्भू चैत्यको कार्तिक महिनाको पूर्णिमा,( कतिँपुन्ही) को दिन प्रतिष्ठा कर्म भएकोले कार्तिक महिनामा स्वयम्भु महाचैत्य देखि लिएर हरेक विहार ,वहिमा चैत्यको अगाडि महादीप बाल्ने प्रचलन चलि आइरहेको छ ।
अत : नेवाहरूका गुँलापर्वलाई स्वयम्भू महाचैत्य र विपश्वी बुद्ध संग पनि गाँसिएको पर्वका रूपमा मान्नु अति उत्तम नै मान्नु पर्छ । किन कि विविध बोधिसत्वावदानमा चैत्य / स्तूपलाई प्रदक्षिणा गरी “बुद्धाय तस्मै नम” भनी नमस्कार मात्र गर्ने व्यक्तिलाई आयु आरोग्य लाभ हुन्छ, सुख शान्तिले जीवन विताउन पाउँछ भन्ने कुरो उल्लेख गरि राखेको छ ।
त्यति मात्र होइन, गुँलापर्वको वेला दिवङगत परिवारहरुको सुगति कामना गरी श्रृङभेरी (न्यकु पूया) फुकेर चैत्य परिक्रमा गरे पुण्य लाभ तथा मनोरथ: कामना पूर्ण हुन्छ भन्ने उल्लेख छ | यसरी नेपाल मण्डलमा गुँलापर्व सँग गाँसिएका धेरै महत्त्वपूर्ण संस्कृतिहरु अद्यापि प्रचलनमा छन् ।
महायानी शान्तिदेव आचार्यले शिक्षा समुच्चय भन्ने आफ्नो अति उत्कृष्ट ग्रन्थमा वन्दनानुसंशा भन्ने परिच्छेदमा विविध बाजाहरु बजाई स्तूप एवं चैत्यहरुको परिक्रमा गरेमा आँखा तेजिलो हुने, स्मरण शक्ति बढ्ने, ध्राण र जिब्हाको शक्ति बलियो भएर आउँने , स्वर स्पष्ट भई बौल्दा सबैलाई आकर्षित गर्न सक्छ भनि उल्लेख गरेको पाइन्छ । त्यस्तै स्तूप/ चैत्यको सेवा गर्ने व्यक्ति कुप्रो र लङदो हुंदैन भनेर पनि स्तूपा/चैत्यको सेवा गर्ने प्रेरणा दिएको पाइन्छ|
सातौ शताब्दीमा शिक्षा समुच्चय भन्ने ग्रन्थद्वारा आचार्य शान्तिदेवले दिनु भएको प्रेरणाले उदाय समाजका विविध समुदायले गुँलापर्व भर धा:बाजा, खीं बाजा आदि बजाई विहान सवेरै स्वयम्भू महाचैत्य परिक्रमा गरी आफ्नो मौलिक संस्कृति परम्परालाई जीवित राखेका छन् । हुंदा हुंदा, यो बाजाको नाम गुँलाबाजा रहन गयो ।किन भने यही बाजा बजाई सम्पूर्ण महत्वपूर्ण विहारका देवता, चैत्यहरु परिक्रमा गर्नै र वही द्यो भनी दीपंकर बुद्धको दर्शन गर्न जाने प्रचलन पनि यही गुँलाबाँजाले प्रेरणा दिइरहेको छ ।
वहि द्यो भनी व्दादशी देखि विहार, वहीहरूमा ठूलो ठूलो दीपंकर बुद्धको प्रतिमाहरू प्रदर्शन गर्ने परम्परा छ । जुन अद्यापि हरेक विहार, बहीको शोभा मानिन्छ | यति मात्र होइन, वही घः दीपंकर प्रदर्शन गरी पञ्चदान भनी श्रावण चर्तुदशीको दिन काठमाडौं, भक्तपुर, ललितपुर, ठिमीका वज्राचार्यहरुलाई पाँच प्रकारको वस्तुदान दिने प्रचलन छ । ती हुन्- १).धान, २)चामल ३)कालो भटमास ४)मास ५)औषधिको रुपमा हर्रो बर्रो, ६) दक्षिणा यति पाँच वटा कुरा दान दिने प्रचलन रहि आएको छ।
मेरो विचारमा यी पाँच कुराको दान खास गरेर पञ्चबुद्धको कुल अनुसार चलिआएको हुनु पर्छ। किन भने धानलाई रत्नसम्भव बुद्धको प्रतीक र चामल वा भुस निकालिएको तर पालिस नगरिएको सरुवा चामल(आखँे) लाई अमिताभ तथागतको प्रतीक, कालो भटमास लाई अक्षोभ्यको प्रतीक, मासलाई अमोघसिद्धिको प्रतीक, भैषज्य तथागतको प्रतीक हर्रो बर्रो आदि को दान दिई आफ्ना ल्केशहरु नाश गरी स्वस्थ सुसमृद्ध जीवनको चाहना गृहस्थहरूको लक्ष्य रहिआएको छ। यिनै पाँच तत्वहरू मध्येको चार वस्तुमा लावा लाई पनि समावेश गरी म्हपूजाको मण्डल गृहस्थ बौद्ध महायानी / वज्रयानीहरुले निर्माण गरी आइरहेको कुरा पनि सर्वविदीत नै छन्। प्राय यो दिन खीर (क्षीर) पनि दान गर्ने वा दान लिन आउने वज्राचार्य, शाक्यहरू,बुद्धपुत्र बोधिसत्वको रूपमा पूजा गरी खीर भोजन गराउने परम्परा पनि अद्यापी रहीआएको पाईन्छ |
वस्तुतः पञ्चदान भनेको लोभ, मोह, द्वेष, मात्सर्य (किरणटोकी) आदि मनुष्यमा हुने स्वभाव त्याग्न लगाई त्याग चित्त सम्वर्धन गर्ने, गराउने उद्देश्यले मानिंदै आएको महत्त्वपूर्ण पर्व हो। यो गुँलापर्व , ‘जातकर्म अर्थात् जन्मेदेखि गरिने दशक्रिया चर्या अपनाउने समस्त नेवार जातिले यथा श्रद्धा मानि आएका हुन्छन्।
केवल शाक्य, वज्राचार्यले भने आ आफ्नो विहारमा गुँलापर्व भर नित्यपूजा बाहेक गुँलापर्वका छुटटै विशेष पूजा गरी हरेक घरका, सर्व संघहरू विहानै विहार, वहीमा उपस्थित भइ विविध बौध्दस्तोत्र र मञ्जुश्री नामसंगीति लयवद्ध तरिकाले एकस्वरमा पाठ गर्नु पर्ने नेवार बुद्धधर्मको मौलिक विशेषतालाई अत्याज्य आचरणको रूपमा अंगालि आएको देखिन्छ। । साँचै भनुं भने नामसंगीति भनेकै सबै मिलीजुली एक साथ स्तोत्रपाठ गर्नुलाई नै नामसंगीति भनिन्छ।
हुनत ताम्राकार ,तुलाधर, कसांकार आदि उदाय समाजका परिवारहरुले आफ- आफ्नै घरमा वसेर पनि नामसंगीति पढेको सुनिन्छ। यसरी नेवार बुद्धधर्ममा गुँलापर्व भर नामसंगीति पढी आफ्नो कला, सम्पदा र बुद्धको सद् ज्ञान प्रचार प्रसार गर्नमा सक्दो योगदान गरेको छ ।
पञ्चदानको दिन विविध नेवावर्ग अर्थात् उदायहरु मात्र होइन नकर्मी, मर्हजन, डंगोल, सुवाल ,तण्डुकार, खड़गी आदि बौद्धसमुदायले आआफ्ना गुरुजुहरूको घर घरमा “क्यपुतवने “भनेर धान, चामल ,गेडागुडी, फलफूल ,दक्षिणा आदि छुट्टा छुट्टै थालमा राखी गरुजुलाई दानदिने जाने प्रचलन छ। यसकारण पञ्चदान एउटा गुरुजु र, जजमान बीचको आत्मीय सद्भाव सम्बर्धन गर्ने सेतुको रूपमा हजारौं बर्ष देखि परम्परा चलि आएको छ। गुरुजुले पनि जजमानलाई क्यपु राख्न आउने जजमानलाई भरपेट खुवाइ पठाउने परम्परा छ।
यस्तो सौहार्दता र सद्भाव बृद्धि हुने आधार रहेको पञ्चदान महायानी परम्परा अरु बौध्ददेशहरुमा देखिदैन। दीपंकर बुद्धप्रतिको सद्भाव र जातक एवं बोधिसत्व अवदान आदिमा दिलचस्पीको कमिको कारणले पनि अरु देशमा गुँलापर्वको महत्त्व त्यति नफैलिएको हुनुपर्छ ।
अथवा हामी कहाँ महायान/ वज्रयान सिद्धान्तले जरा गाडेकोले पनि होला गुँलापर्वमा मनाइने पञ्चदान , गुंपुन्ही, सापारू, लुँचीचैत्य निर्माण विविध बाजागाजा तुत: पाठआदि पुण्यसभारका लागि गरिने कामहरु हुँदा पनि स्थेरवाद मात्रै होइन विशुद्ध महायान/ वज्रयान परम्परामा हुर्कैका देशहरुमा पनि गुँलापर्व र यसपर्वमा गरिने ज्ञानसम्भार र पुण्यसम्भार लागि गर्ने गरिने कामहरुले ठाउँ पाएको देखिदैन । भवतु सर्वमङ्गलम् |



