काठमाडौं।अमेरिकाको टेक्सासमा शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म २४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ। बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने शिविरमा क्याम्प मिस्टिकमा यो साता ७०० छात्राहरू सहभागी थिए।
बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ।
बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।
टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार कार्य जारी रहने बताएका छन्। बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन परिचालन गरिएको जनाइएको छ ।
टेक्सास राज्यभरी आपतकाल घोषणा गरिएको छ ।